PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राजधानीमा तीन समूहमा दाजुभाइ ग्याङको आतंक : सुन भन्दै फलामदेखि नोटभन्दै कागजसम्मको कारोबार



सविन ढकाल

राजधानीमा तीन समूहमा दाजुभाइ ग्याङको आतंक : सुन भन्दै फलामदेखि नोटभन्दै कागजसम्मको कारोबार

काठमाडौं : गत सोमवार काठमाडौंको सुन्धरामा प्रहरीले बा २ ज १८४१ नम्वरको ट्याक्सी नियन्त्रणमा लियो। ट्याक्सीसँगै केही मानिस पनि पक्राउ परे।

काभ्रे देउराली गाउँपालिका ३ घर भएका २६ वर्षीय चन्द्रबहादुर श्रेष्ठ, २१ वर्षीय प्रविन श्रेष्ठ, १९ वर्षीय सुवास श्रेष्ठ र नुवाकोट दुप्चेश्वर गाउँपालिकाका ३३ वर्षीय पूर्णबहादुर तामाङ समातिनेमा थिए। प्रहरीले उनीहरु सवै जनाको शरीर खानतलासी गर्‍यो। तीन जनाको खल्तीमा जनही ३ लाख रुपैयाँ र एकजनाको खातलासीमा त ९ लाख रुपैयाँ फेला पर्‍यो।

करीब २ महिनादेखि प्रहरीले खोजी गरिरहेका व्यक्ति यिनै हुन् भन्ने ठम्याउन प्रहरीलाई टाइम लागेन। प्रहरीले चारै जनालाई ठगीको अभियोगमा खोजी गरिरहेको थियो।

गत फागुन १२ गते सामाखुसीमा एक सुन व्यापारीले आफू ठगीएको भन्दै प्रहरीमा उजुरी दिएपछि यिनीहरुको प्रहरीले खोजी गरिरहेको थियो। ती सुन व्यापारी सस्तो मूल्यमा सुन किन्दा ठगिएका थिए।

केही समयसम्म फोन सम्पर्कमा रहिरहेपछि ती सुन व्यापारीलाई यही समूहले आफूसँग आधा किलो सुन रहेको र १९ लाखमा बिक्री गर्ने भन्दै बोलाएका थिए। सस्तोमा सुन पाउने लोभमा ती व्यवसायी फसे। बजारमा आधा किलो सुनको मूल्य करीब २४ लाख रुपैयाँभन्दा बढी पर्थ्यो।

गत फागुन १२ गते उनीहरुले व्यापारीलाई भेटे। व्यापारीले १९ लाख रुपैयाँ दिए। उनीहरुले सुनको गहना भएको बाकस दिए। अवैध रुपमा सुनको कारोबार गरेको भन्ने डरले व्यापारीले भने सुनको बट्टा खोलेर हेरेनन्। घर पुगेर बट्टा खोले। बट्टा खोल्दा सुन होइन फलामको चारवटा टुक्रा भेटियो। त्यसपछि उनी प्रहरीकहाँ उजुरी दिन पुगेका थिए।

दुई महिनापछि यो समूह नै समातिएको हो। 'हामीलाई उजुरी आएदेखि नै अनुसन्धान सुरु गरेका थियौं। सम्भवत यो पहिलो घटना हो जहाँ सुन भनेर सादा फलाम नै बेचिएको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहले भने।

प्रहरीले नियन्त्रणमा लिएका श्रेष्ठ थरका तीन जना दाजुभाइ हुन्। उनीहरुले मिलेर ठगी गर्ने गरेको खुलेको छ। 'उनीहरु दाजुभाइ हुन्। आफ्नै योजना बनाएर तिनै जना ठगीमा सलग्न छन्,' एसपी सिंहले भने।

दाजु सामातिए भाइका कारण, भाइ समातिए दाजुका कारण

सिन्धुली दुधौली घर भएका ३३ वर्षीय उमेश घिसिङ र प्रेम घिसिङको ठगीको धन्दा पनि श्रेष्ठ दाजुभाइको भन्दा फरक छैन। नयाँ बसपार्क, बालाजु, गौशाला क्षेत्रमा वैदेशिक रोजगारीमा जाने युवा लगायत ठगी गर्दै आएको थियो यो जोडीले।

कागजको बिटो बनाएर माथिपट्टि डलर वा अन्य देशको मुद्रा राखेर सस्तोमा दिने भन्दै ठगी गर्ने उनीहरुको धन्दा थियो। महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीका अनुसार उनीहरुलाई पनि प्रहरीले ठगी गरेको अभियोगमा केही दिन अगाडि मात्र पक्राउ गरेको हो।

'वैदेशिक रोजगारीमा जाने वा अन्य व्यक्तिलाई सस्तोमा डलर दिने भन्दै झुक्याएर कागजको बिटो दिने गरेको देखियो,' डिएसपी बोगटीले भने।

प्रहरीले उनीहरुसगै सिन्धुली दुधौलीका दानबहादुर तामाङलाई समेत नियन्त्रणमा लिएको छ। घिसिङका चार दाजुभाइ छन्। एक जना अहिले केन्द्रीय कारागार सुन्धारामा छन्। अर्का जना दाजु भर्खरै जेलबाट छुटेर घरमा छन्। '९ वर्षदेखि दाजु भाइ नै मिलेर ठगी धन्दा गरेको खुलेको छ। पालैपालो जेल पर्दै आएका छन्,' डीएसपी बोगटीले सुनाए।

अनौठो कुरा त के छ भने केही गरी दुइ जना दाजुभाइ समातिए भने अर्का दाजुभाइ ठगीमा सक्रिय हुने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। 'दुईजना समातिएपछि अरु दाजुभाइ ठगी गर्ने र धरौटीको रकम जम्मा गर्ने गरेको पाइयो,' डिएसपी बोगटीले भने।

लाइभ चोरी गर्दा गर्दै पक्राउ

गत सोमबार साँझ नागार्जुन नगरपालिका वडा नम्बर ९ दुर्गा नगरमा चोरी भइरहेको खबर प्रहरीमा आयो। महानगरीय प्रहरी वृत्त कालीमाटीको सिभिल टोली घटनास्थल पुग्यो।

प्रहरीले बहादुर कुँबरको तीन तले घरमा ताल्चा फुटाएर चोरी गर्दैगर्दा दुई जनालाई समात्न सफल भयो। दोलाख शैलुङ्ग श्री गाविसका ३५ वर्षीय सुनिल श्रेष्ठ र २६ वर्षीय अर्जुन श्रेष्ठ पक्राउ परे। उनीहरु काठमाडौंमा ज्यामीको काम गर्दै आएका थिए।

उनीहरुको साथबाट २८ हजार ५ सय रुपैयाँ समेत बरामद भयो। यो घटनामा पनि दाजुभाइ नै संलग्न भएको देखियो। तर, उनीहरु भने नाताका मात्र दाजुभाइ हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell