PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित थपलियाको आज सुनुवाइ, यस्ता छन् ६ आरोप



पहिलोपोस्ट

प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित थपलियाको आज सुनुवाइ, यस्ता छन् ६ आरोप

काठमाडौँः प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाको आज संसदीय सुनुवाइ हुँदैछ। चैत ११ गते संवैधानिक परिषदले थपलियालाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव थपलियालाई सरकारले प्रमुख आयुक्तमा सिफारिस गरेको थियो।

संसदीय सुनुवाइ समितिले थपलियालाई बुधबार दिउँसो २ बजे सुनुवाइका लागि बोलाएको छ। थपलियाको सुनुवाइपछि आजै राष्ट्रिय समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाको सुनुवाइ हुनेछ।

थपलियाविरुद्धका उजुरीकर्तालाई भने समितिले बुधवार बिहान ११ बजे छलफलका लागि बोलाएको छ।

 

यस्ता छन् आरोप

थपलियाविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी परेका छन्। ओझाविरुद्ध भने उजुरी परेका छैनन्।

थपलियामाथि सबैभन्दा बढी उजुरी कर्मचारी समायोजनको विषयमा केन्द्रित छन्। चारवटा उजुरी समायोजनमा विभेद गरेका, संवैधानिक व्यवस्था पालना नगरेको लगायतका आरोप छन्। विभेद गर्ने व्यक्तिलाई संवैधानिक निकायको प्रमुख बनाउन नहुने उजुरीकर्ताहरुको जिकिर छ।

यस्तै, एक उजुरी उपेक्षित उत्पीडित तथा दलित वर्ग उत्थान विकास समितिको कार्यक्रम र बजेट कटौती गरेको विषयमा केन्द्रित छ। विकास समिति ऐन अनुसार गठित उक्त संस्थाको कार्यक्रम कटौती गरी बजेट नदिएको आरोप उजुरीकर्ताको छ। समुदायको उत्थानका लागि गठित संस्थाप्रति गलत विचार बोकेको व्यक्तिलाई संवैधानिक आयोगको जिम्मेवारी दिन नहुने उजुरीकर्ताको भनाई छ।

थपलियामाथि एक उजुरी राजनीतिक व्यक्ति भएको आरोप लगाइएको छ। राजनीतिक कनेक्सनकै आधारमा बहालवाला सचिवलाई परिषदले प्रमुख आयुक्तमा सिफारिस गरेको आरोप लगाइएको छ। कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको उक्त उजुरीमा राजनीतिक व्यक्तिले निष्पक्ष रूपमा आयोगमा काम नगर्ने भन्दै सिफारिस रोक्न समितिलाई आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell