PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बेइजिङमा राष्ट्रपति भण्डारीको स्वागतको तयारी, राष्ट्रपतिलाई स्वागत गर्न चाहने नेपालीले पाँच दिन अगाडि नै आवेदन दिनुपर्ने



विधुर ढकाल

बेइजिङमा राष्ट्रपति भण्डारीको स्वागतको तयारी, राष्ट्रपतिलाई स्वागत गर्न चाहने नेपालीले पाँच दिन अगाडि नै आवेदन दिनुपर्ने
फाइल फोटो

काठमाडौं: उत्तरी छिमेकी चीनको भ्रमणको तयारीमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतको तयारी बेइजिङस्थित नेपाली दूतावासले अगाडि बढाएको छ।

नेपालमा गणतन्त्र स्थापनापछि चीनको औपचारिक भ्रमणमा जान लागेकी भण्डारी पहिलो नेपाली राष्ट्रपति हुन्। यसअघि नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले दुई पटक चीनको भ्रमण गरे पनि उनी बेइजिङ पुगेका थिएनन्। उनी चीनमा आयोजना भएको बोआओ फोरम र सांघाइ कोअप्रेसनको सम्मेलनमा सहभागी हुन चीन गए पनि राजधानी बेइजिङ पुगेनन्।

गणतन्त्र स्थापनापछि चीनले नेपाली राष्ट्रपतिलाई बेइजिङमा पहिलो पटक स्वागत गर्न लागेको हो। राष्ट्रपति भण्डारी यही अप्रिल २४ मा बेइजिङ जाने कार्यक्रम रहेको छ

यद्यपि परराष्ट्र मन्त्रालयले उनको भ्रमणको औपचारिक कार्यक्रम भने सार्वजनिक गरेको छैन।

काठमाडौंस्थित परराष्ट्र मन्त्रालयले राष्ट्रपति भण्डारीको भ्रमणको कार्यतालिका सार्वजनिक नगरेपनि बेइजिङस्थित नेपाली दूतावासले राष्ट्रपति भण्डारीको स्वागतको तयारी थालेको छ।

उनको स्वागतमा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपाली दूतावासले चीनमा रहेका नेपाली समुदायलाई आह्वान गरेको छ।

भण्डारीको स्वागतमा सहभागी हुन चाहनेले अग्रीम रुपमा आवेदन दिनुपर्ने छ। त्यसका लागि दूतावासले अनलाइन आवेदनसमेत खुला गरेको छ।

नेपाली दूतावासमा २७ अप्रिल वैशाख १४ गते स्वागत कार्यक्रम आयोजना गरिने छ। कार्यक्रममा सहभागी हुन चाहने नेपालीले पाँच दिन अगाडि नै अनलाइन आवेदन फारम भरिसक्नुपर्ने छ। दूतावासले कार्यक्रममा सहभागी हुन अनिवार्य रुपमा अप्रिल २२ सम्म अनलाइनमा आवदेन भरिसक्नुपर्ने सूचना जारी गरेको छ।

बेइजिङमा अप्रिल २५ र २६ मा आयोजना  हुन लागेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को दोस्रो अन्तर्राष्ट्रिय फोरममा राष्ट्रपति भण्डारी सहभागी हुन बेइजिङ जान लागेकी हुन्।

बेइजिङस्थित नेपाली दूतावासले मंगलबार विज्ञप्ति जारी गरेर कार्यक्रममा सहभागिताका लागि आवेदन माग गरे पनि त्यसमा राष्ट्रपति भण्डारीको नाम भने उल्लेख छैन। सूचनामा ‘नेपालबाट हुन गइरहेको उच्चस्तरीय भ्रमणको सिलसिलामा आयोजना हुने स्वागत समारोह' उल्लेख छ।

त्यहाँ आयोजना हुने कार्यक्रममा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको बेइजिङस्थित नेपाली दूतावास स्रोतले जनायो।

राष्ट्रपति भण्डारीको यो भ्रमणलाई राजकीय भ्रमण हुने स्रोतले जनायो। ‘भ्रमणलाई राजकीय बनाउने विषयमा छलफल भइरहेको छ,’ स्रोतले भन्यो, ‘नेपालमा गणतन्त्र स्थापनापछि बेइजिङमा हुन लागेको नेपाली राष्ट्रपतिको यो पहिलो भ्रमण हो। त्यसैले पनि राजकीय भ्रमणको रुप दिने विषयमा छलफल चलिरहेको छ।’

सम्मेलनमा राष्ट्रपति भण्डारीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बेइजिङ भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीसँग भेट गर्ने कार्यक्रम छ। दुई समकक्षीबीच वान अन वान र द्वीपक्षीय भेटवार्ता हुने बताइएको छ।

दुई राष्ट्रपतिको नेतृत्वमा हुन् द्विपक्षीय वर्तापछि नेपाल-चीन व्यापार तथा पारवहान सम्झौताको प्रोटोकलमा कार्यान्वयनको विषयमा छलफल हुने बताइएको छ। दुई देशका अधिकारीबीच गत भदौमै पारवहान सम्झौताको प्रोटोकलमा सहमति जुटेको थियो।

सहमतिअनुसार नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि चीनका चार सामुद्रिक र तीन सुख्खा बन्दरगाह गरी सात वटा बन्दरगाह प्रयोग गर्न पाउने छ।

त्यस्तै बेइजिङ भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले अन्य देशका राष्ट्रप्रमुखहरुसँग पनि साइड लाइनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

सम्मेलनमा हालसम्म ४० देशका सरकार तथा राष्ट्र प्रमुखहरुसहित १०० देशका प्रतिनिधिहरुले सहभागिता जनाउने प्रतिबद्धता जनाइसकेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा चीनको विदेश मामिला सम्बन्धी केन्द्रीय आयोगका निर्देशक याङ जेइछीले सिन्ह्वासँग दिएको अन्तर्वार्तामा यस्तो जानकारी गराएका हुन्।

सम्मेलन अहिलेसम्मकै उच्चस्तरीय विदेशी राष्ट्रप्रमुखको जमघट हुने छ। सम्मेलनमा  राष्ट्रपति सीले राष्ट्र एवं सरकार प्रमुखका रूपमा छुट्टै सम्बोधन र छलफल गर्ने कार्यक्रम छ। त्यस्तै बेइजिङले केही देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरुलाई राजकीय आथित्यतासमेत दिने तयारी गरिरहेको छ।

सम्मेलनमा सहभागी हुन रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि बेइजिङ जाँदै छन्।

त्यस्तै पाकिस्तानका प्रधानमन्त्री, इटालीका प्रधानमन्त्री, फिलिपिन्सका राष्ट्रपति लगायत सहभागी हुने छन्।

त्यस क्रममा भदौमा भएको सहमति अनुसार नेपाल–चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने कार्यक्रम छ।

यो प्रोटोकल अनुसार नेपालले चीनका ४ सामुद्रीक र ३ सुख्खा बन्दरगाह प्रयोग गरी सामान ल्याउन सक्नेछ।

बेइजिङबाट चीनको स्वशासित क्षेत्र तिब्बत पुगेर राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell