PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भेरी-बबई छिचोल्दाको संयोग : अमेरिकी प्रविधि र चिनियाँ ठेकेदारले जुटाएको दुर्लभ कुटनीतिक भेट



विधुर ढकाल

भेरी-बबई छिचोल्दाको संयोग : अमेरिकी प्रविधि र चिनियाँ ठेकेदारले जुटाएको दुर्लभ कुटनीतिक भेट
फोटो: twitter.com/USAmbNepal

काठमाडौं: राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको सुरुङ मार्गको ब्रेक थ्रु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा बटन थिचेर सुरुङ मार्गबाट करिब १५ मिनेटको समयमा टनेल बोरिङ मेसिन (टिबीएम) भेरी किनारमा निकाले।

उनले बटन थिच्दै गर्दा साक्षी थिए उर्जामन्त्री वर्षमान पुन, प्रदेश ५ र कर्णालीका मुख्यमन्त्रीहरु, चिनियाँ राजदूत होउ यान्छीसँग सँगै थिए अमेरिकी राजदूत र्‍याण्डी बेरी।

अमेरिका र चीनबीचको आर्थिक टकराव चलिरहेको छ। नेपालमा पनि दुई देशका अधिकारीबीच टकराव पछिल्लो समय थियो।

गत वर्ष फागुनमा नेपाल भ्रमणमा आएका अमेरिकी रक्षा उपराज्यमन्त्री जोसेफ फ्लेटरले नेपाल भ्रमणका क्रममा नेपाल-चीनबीचको सम्बन्धको विषयमा गरेको टिप्पणीमाथि चिनियाँ राजदूत होउ यान्छीले सार्वजनिक रुपमै आलोचना गरेकी थिइन्।

उनले दुई छिमेकीबीचको सम्बन्धका विषयमा कोसौँ टाढाको देशले टिप्पणी गर्न आवश्यक नभएको बताएकी थिइन्। तर आज यही भेरी-बबई डाइभर्सनले दुई देशका कुटनीतिज्ञलाई एउटै मञ्चमा उभ्याइदियो।

भेरीगंगा नगरपालिकाको बबईबाट सुरु भएको सुरुङ निर्माण कार्य भेरीगंगाको चिप्लेस्थित भेरी नदीमा गई टुंगिएको हो। पहिलो पटक प्रयोग गरिएको मानवरहित टीबीएम मेसिनले भेरीगंगा नगरपालिकाको बबईबाट भेरीगंगाको चिप्लेस्थित भेरी नदीसम्म १२ किलोमिटर २१० मिटर सुरुङ तयार गरेको थियो।

यस्तो छ संयोग

आयोजनाको ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड हो। टनेल खन्न प्रयोग भएको बीबीएम मेसिन भने अमेरिकी हो। अमेरिकाको रोबिन्सले यो मेसिन बनाएको थियो। ठेकेदार कम्पनीले यो मेसिन चीनबाट ल्याएको थियो। यो आयोजनाको परामर्शदाता जियोडाटा इन्जिनियरिङ एसपिए इटाली तथा सिडेफ नेपाल हुन्।

आयोजनाको सम्झौता अनुसार २०७६ चैत १५ गते निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो। तर, तोकिएको समय सीमा भन्दा करीब एक वर्ष अगावै सुरुङ मार्ग सकिएको हो। निर्माण कार्यको जिम्मा पाएको चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक)ले २०७१ माघमा ठेक्का सम्झौता भई काम थालेको थियो।

उक्त सुरुङमार्गबाट भेरी नदीको पानी प्रति सेकेन्ड ४० घनमिटर बबईमा खसालिने छ। पानीबाट करिब ४८ मेगावाट विद्युत उत्पादन गरिने योजना रहेको छ। त्यस्तै, आयोजनाबाटै बाँके र बर्दियाको करीब ५१ हेक्टर जमिन सिंचाई सुविधा पुर्‍याउने लक्ष्य लिइएको छ।

यही संयोगले दुई मित्र राष्ट्र चीन र अमेरिकाका कुटनीतिज्ञलाई एउटै मञ्चमा उभ्याइदियो। कार्यक्रमका लागि तयार पारिएका ब्यानर पनि तीन भाषामा तयार थिए नेपाली, चिनियाँ र अंग्रेजी।

कार्यक्रममा सहभागी भएका अमेरिकी राजदूत बेरीले चीनको कन्स्ट्रक्सन साइट र अमेरिकी प्रविधिले नेपालका लागि उत्तम नतिजा ल्याएको बताएका छन्। सामाजिक सञ्चाल ट्वीटरमा उनले लेखेका छन्, 'चिनियाँ क्नस्ट्रकसन साइट+अमेरिकी टनेलिङ प्रविधि नेपालका लागि उत्तम नतिजा।'

उनले नीति नियम राम्रो भए नेपालले धेरै सम्बन्धबाट फाइदा लिन सक्नेसमेत बताएका छन्। 'जब नियमहरु स्पष्ट हुन्छन् लगानी प्रक्रिया खुला भए नेपालले कुनै एउटा वा अर्को साझेदार रोज्नुपर्ने अवस्था नरहने भेरी बबई सुरुङले देखाएको छ। तर, धेरै सम्बन्धबाट नेपालले उत्कृष्ट नतिजा हात पार्न सक्छ,' उनले लेखेका छन्।

सुरुङ मार्गबाट पानी खसाल्नका लागि भेरीगंगाको चिप्लेमा एक सय १४ मिटर लामो, १४ मिटर अग्लो र ६ गेज सहितको ब्यारेज निर्माण गरिने आयोजनाले जनाएको छ। यसका लागि हात्तीखालमा विद्युत गृह निर्माण कार्यको प्रक्रिया शुरु भइसकेको छ। सिँचाई विभागले यो आयोजनाबाट उत्पादित विद्युतको आम्दानी वार्षिक करिब ४ अर्ब, अन्य कृषितर्फको आम्दानी ३.१ अर्ब हुने दाबी गरेको छ।

आयोजना २०२० सम्म निर्माण कार्य सकाएर सञ्चालनमा ल्याउने योजना रहेको निर्देशक बरालको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell