PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

न मर्ने चिनिए, न मार्नेकै पहिचान : प्रहरी अल्मलियो 'फलानो र ढिस्कानो'मै



सविन ढकाल

न मर्ने चिनिए, न मार्नेकै पहिचान : प्रहरी अल्मलियो 'फलानो र ढिस्कानो'मै
प्रतीकात्मक दृष्य।

काठमाडौं : जब तपाइँले कसैको नाम लिएर केही भन्नु छैन भने नेपाली जनजिब्रोमा प्रयोग हुने शब्द हो 'फलानो' र 'ढिस्कानो'। एउटा जघन्य अपराधको अनुसन्धान गरिरहेको प्रहरीलाई अहिले यस्तै भएको छ। गत चैत २४ गते ताहाचलस्थित टंकेश्वर पुलमुनि भएको झगडापछि मारिएकाको न त पहिचान हुन सकेको छ न त अभियुक्त नै।

आइतबार बिहान तरकारी बोक्ने भरियाबीच हानाहान हुँदा एक जना पुरुषको मृत्यु हुन पुग्यो। बिहान करीब सात बजेतिर उपचारको क्रममा 'फलानो'को वीर अस्पतालमा मृत्यु भयो।

'दुई जनाको झगडा भएपछि घाइते भएर उपचारको लागि ल्याइएको थियो। बिहान एक जनाको मृत्यु भयो। एक जनाको उपचार भइरहेको छ,' प्रहरीले यतिमात्रै भन्यो।

मृतक अन्दाजी ४५ वर्षीय देखिए पनि उनको पहिचान भने खुल्न सकेको छैन। उनीहरु कालिमाटी तरकारी बजारमा दिनभर भरिया भएर तरकारी बोक्ने र राति नजिकैको ताहाचलस्थित टंकेश्वर पुलमुनि बस्दै आएको खुलेको छ।

आइतबार बिहान करिब २ बजेतिर प्रहरीले एक जना 'ढिस्कानो'लाई घाइते अवस्थामा फेला पारेर अस्पताल पुर्‍याएको थियो। त्यसको केही घन्टामा नै अर्को भरियासमेत घाइते भएको जानकारी आएपछि प्रहरीले अस्पतालमा पुर्‍याएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बोगटीले बताए।

दोस्रो पटक अस्पताल पुर्‍याएको भरियाको भने मृत्यु भएको हो। शरीरमा इँटा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी बोगटीले बताए। घटनाको कारण भने खुल्न सकेको छैन।

मृत्यु हुनुभन्दा अगाडि भरियाले फलानोले इँटाले हानेको प्रहरीलाई बयान दिएका थिए। बयानकै आधारमा प्रहरीले फलानोलाई पक्राउ गरेको छ। 'हामीले मृतको बयानको आधारमा एक जनालाई नियन्त्रणमा लिएका छौं। तर न त मृतकको पहिचान खुलेको छ नत अभियुक्तको,' डिएसपी बोगटीले भने।

प्रहरीले पक्राउ गरेका व्यक्ति बोल्न तथा राम्रोसँग सुन्न समेत सक्दैनन्। 'उनी बोल्न सुन्न सक्दैनन्। त्यसैले अनुसन्धान गर्न समस्या भइरहेको छ,' डिएसपी बोगटीले सुनाए।

काठमाडौंको बाफल पुलमुनि करिब ८ बजे अन्दाजी २५/२६ वर्षीय युवकको पेटमा सिसाको बोतलले प्रहार गरेको अवस्थामा शव फेला परेको थियो। यो घटनामा पनि प्रहरीले अनुसन्धान गर्न समस्या भइरहेको छ।

केही समयदेखि उक्त क्षेत्रमा मागेर खाने, मानसिक अवस्था ठीक नभएका युवकको शव भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो। अहिलेसम्म पनि मृतकको सनाखत हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell