PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

आठौँ राष्ट्रिय खेलकुदको भव्य उद्घाटन, हेर्नुस ८ फोटोमा

आठौँ राष्ट्रिय खेलकुदको भव्य उद्घाटन, हेर्नुस ८ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


नेपालगन्ज : आठौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५/७६ को बिहीबार औपचारिक उद्घाटन भएको छ। प्रतियोगिताको केही खेलहरु चैत २७ देखि नै सुरु भएको आठौँ राष्ट्रिय खेलकुदको ९ दिनपछि औपचारिक उद्घाटन भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नेपालगन्ज रंगशालमा आठौँको उद्घाटन गरिन्। २०७३ सला पुषमा पूर्वाञ्चलमा भएको सातौँको समेत उद्घाटन गरेका राष्ट्रपति भण्डारीले दोस्रो पटक राष्ट्रिय खेलकुदको उद्घाटन गरेकी हुन्। राष्ट्रपतिले समारोहलाई सम्बोधन गर्दै औपचारिक रुपमा आठौँ सुरु भएको घोषणा गरेकी हुन्।

प्रदेश नम्बर ५ को विभिन्न पाँच जिल्लामा आयोजना भइरहेको आठौँ राष्ट्रिय खेलकुदमा ५ हजार भन्दा बढी खेलाडीको सहभागिता रहेको छ। साद प्रदेश, तीन विभाग र एनआरएनए गरी ११ टिमले आठौँमा प्रतिस्पर्धा गरिरहेका छन्।

५ हजार २११ खेलाडीले कूल ३७२ स्वर्णका लागि ३५ खेलमा प्रतिस्पर्धा गरिरहेका छन्। अहिलेसम्म ३५ मध्ये १४ खेलको सबै स्पर्धाहरु सकिसकेको छ।

विस २०३८ सालमा प्रत्येक २ वर्षको अन्तरमा गर्ने गरी सुरु भएको बृहत राष्ट्रिय खेलको सुरुको तीन संस्करण नियमित रुपमा भएपनि त्यसयताका केही संस्करण नियमित हुन सकेको थिएन।

२०७३ सालमा पाँच वर्षपछि सातौँ भएको थियो। त्यसको दुई वर्षपछि आठौँ राष्ट्रिय खेलकुद भएको हो। आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले आफ्नो कार्यकालमै दुई पटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने सौभाग्य प्राप्त भएको भन्दै खुशी व्यक्त गरे। साथै उनले आठौँ राष्ट्रिय खेलकुद ऐतिहासिक भएको बताए।

उद्घाटन समारोहमा खेलाडीको तर्फबाट युथ ओलम्पियन जुडो खेलाडी सोनु भट्टले खेल भावना अनुसार प्रतियोगिता खेल्ने भन्दै शपथ लिइन्। यस्तै निर्णायकको तर्फ भारत्तोलनका निर्णायक समसुद्दिन सिद्दिकीले सपथ ग्रहण गरे।

आठौँको उद्घाटन समारोहमा पूर्व ओलम्पियन तथा प्रदेश सांसद सुरेन्द्र हमालले ओलम्पिक टर्च प्रज्वलन गरे।

यसैगरी उद्घाटन समारोहमा सहभागि ११ वटै टिमले मार्चपास गरेका थिए भने विभिन्न झाँकी प्रस्तुत गरिएको थियो। अन्तिमा आतिशबाजी पनि गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell