PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पेलेरै अघि बढ्ने प्रवृत्तिले ने क पा एकताको बाँकी काम अन्योलमा, 'अध्यक्षहरु नै आफू अनुकुलतामा लागे'



विधुर ढकाल

पेलेरै अघि बढ्ने प्रवृत्तिले ने क पा एकताको बाँकी काम अन्योलमा, 'अध्यक्षहरु नै आफू अनुकुलतामा लागे'
फाइल फोटो

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को एकताको बाँकी काम टुंग्याउने तयारीमा छलफलमा जुटेको छ।

लेनिन जयन्ती अप्रिल २२ अर्थात् वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पनि यही दिन पारेर एकताका सबै काम सक्ने गरी ने क पाका शीर्ष नेताहरु निरन्तर छलफलमा जुटिरहेका छन्।

पार्टीका शीर्ष नेताबीच विभिन्न चरणमा छलफल भइरहेको छ। साताअघि मात्र ने क पाका दुई अध्यक्षसहितका नेताहरु चन्द्रागिरिमा पुगेर गोप्य छलफलमा जुटेका थिए। यो छलफलले पूर्व एमाले र पूर्व माओवादी केन्द्रले पाउने जिल्ला नेतृत्वको संख्या टुंग्याएको बताइएको छ। जस अनुरुप ७७ जिल्लामध्ये पूर्व एमालेले ४५ र पूर्व माओवादी केन्द्रले ३२ पाउने मोटामोटी सहमति भएको ने क पाका एक स्थायी कमिटीका सदस्यले बताए।

चन्द्रागिरिमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका साथै महासचिव विष्णु पौडेल र रामबहादुर थापा सहभागी थिए। चन्द्रागिरि छलफलमा वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी भएका थिएनन्। त्यसो त चन्द्रागिरि नपुगेका नेपालसँग अध्यक्षहरु ओली र प्रचण्डले पटक पटक छलफल गरेका छन्।

प्रदेश कमिटीको नेतृत्वमा असहमति जनाउँदै आएका नेता नेपालले जिल्ला नेतृत्वको विषयमा पनि असहमति जनाउँदै आएका छन्। नेता नेपाल पक्षले जिल्ला नेतृत्वमा आफ्ना पक्षका नेताहरुलाई स्थान नदिएको भन्दै छुट्टै नाम संकलन गरिरहेको बताइएको छ।

उनलाई विश्वासमा लिनका लागि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नेता नेपालसँग छलफललाई जोड दिएका छन्।

प्रधानमन्त्री ओलीले नेता नेपालसँग बिहीबार साँझ बालुवाटारमा छलफल गरेका थिए। नेता नेपाल आज पनि बालुवाटार पुगेका छन्। दुई नेताहरुबीच पार्टी एकतालाई टुंग्याउने विषयमा छलफल भइरहेको स्रोतले बतायो। दुई नेताबीच बालुवाटारमा जिल्ला नेतृत्वको विषयमा छलफल भइरहेको छ।

यसअघि प्रदेश कमिटीको नेतृत्व टुंग्याउने क्रममा नेता नेपाल देश बाहिर थिए। उनले पार्टी भित्र छलफल नै नगरी निर्णय हुँदै आएको नेतृत्वको आलोचना गर्दै आएका छन्।

मुख्यगरी ने क पाको एकता तल्लो तहसम्म पुग्न नसक्नु पूर्व एमालेभित्रको नेपाल र ओली गुटबीचको असहमति मानिँदै आएको छ।

ने क पाभित्र एक व्यक्ति एक पदको नीति बनेपछि त्यसलाई पालना हुन नसक्दा नेपाल समूहले विरोध गर्दै आएको छ। प्रदेश कमिटीको टुंगो लगाउँदा प्रदेश पाँच र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई प्रदेश कमिटीको जिम्मेवारी दिइएको भन्दै स्थायी कमिटीमासमेत आलोचना भएको थियो।

पूर्व एमालेभित्रको गुट मिलाउन र पूर्व एमालेले पाएका जिल्लाहरुको नेतृत्व टुंग्याउन ओली नेपाल यतिबेला छलफलमा जुटेका हुन्। अर्का अध्यक्ष प्रचण्ड भने यस छलफलमा छैनन्। उनी बिहीबार साँझ सिन्धुपाल्चोकको सुकुटेमा निस्किएका थिए।

ने क पाका ७७ वटा जिल्ला कमिटीमध्ये पूर्व एमालेको भागमा ४५ र पूर्व माओवादी केन्द्रको भागमा ३२ जिल्ला कमिटीको नेतृत्व (अध्यक्ष) छुट्ट्याइएको छ। अध्यक्ष नपाउने पक्षले सचिवको जिम्मेवारी पाउनेछ।

पूर्व एमालेले पाउने जिल्लाहरुमा नेता नेपाल समूह र ओली समूहबीच भागबन्डाको छलफल भइरहेको छ।

त्यस्तै ने क पाभित्र एक व्यक्ति एक पदको नीतिमा ‘कम्प्रोमाइज’ गर्ने विषयमा छलफल चलिरहेको स्रोतले जनाएको छ। ‘स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई पनि पार्टीको नेतृत्वमा आउने बाटो खुला गर्ने की भनेर छलफल भइरहेको छ,’ ने क पाका एक नेताले भने, ‘यस विषयमा सबैको फरक मत देखिएको छैन।’

यो नीति हटाउँदा पूर्व एमाले भित्रको असन्तुष्टिसमेत साम्य हुने बताइएको छ। चन्द्रागिरिमा भएको छलफलले जिल्ला संगठनको एकताका लागि नयाँ मापदण्ड बनाउने सहमति भएको थियो।

सोही मापदण्डको विषयमा ने क पाभित्र छलफल चलिरहेको छ। बालुवाटरमा ओली–नेपालबीचको छलफलमा पनि यही विषयमा छलफल भएको स्रोतले जनायो। गत जेठ ३ पार्टी एकता भएको थियो। एकताको ११ महिना बितेको छ। एकतालाई टुंग्याउनका लागि पार्टी नेतृत्वलाई दबाव परेको छ।

‘हामीले एकतालाई छिट्टो टुंग्याउँ भनिरहेका छौँ। तर अध्यक्षहरु आफू अनुकुलतामा एकतालाई अगाडि बढाउन चाहँदा एकता टुंगोमा पुग्न सकेको छैन,’ नेता नेपाल निकट एक नेताले भने, ‘पेलेरै जाने प्रवृत्तिले समस्या आएको हो। नेताहरुबीच छलफल चलिरहेको छ। जिल्ला नेतृत्व टुंग्याउँदा हाम्रा मागहरु सम्बोधन हुने आशा छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell