PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आठौँ राष्ट्रिय खेलकुद : १०औँ दिनसम्म पदक तालिकामा विभागीय टोलीको वर्चस्व, चन्द्रकलाको दुई कीर्तिमान



गोविन्दराज नेपाल

आठौँ राष्ट्रिय खेलकुद : १०औँ दिनसम्म पदक तालिकामा विभागीय टोलीको वर्चस्व, चन्द्रकलाको दुई कीर्तिमान

नेपालगन्ज : २०७५ साल चैत २७ गतेदेखि सुरु भएको आठौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन २०७६ साल बैशाख ५ गते नेपालगन्ज रंगशालामा भयो।

केही खेलको स्पर्धा नै समाप्त भइसकेपछि नवौँ दिनमा आएर मात्र नेपालगन्ज रंगशालमा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन भएको घोषणा गरिन्। आज शुक्रबार आठौँ राष्ट्रिय खेलकुद सुरु भएको दशौँ दिन भइसकेको छ।

अहिलेसम्म १५ खेलको सबै प्रतिस्पर्धा सकिसकेको छ। त्यसमा विभागीय टोलीले पदक धेरै जितेको छ। पदक तालिकामा विभागका तीन टोलीको वर्चस्व रहँदा त्रिभुवन आर्मी पहिलो स्थानमा छ।

यस्तै अर्को विभागीय टोली नेपाल पुलिसकी चन्द्रकला लामगाडेले एथ्लेटिक्समा दुई राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितेकी छिन्। उनले सटपुट र ज्याभलिन थ्रो मा आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गरेकी हुन्।

यस पटक राष्ट्रिय खेलकुदमा ३५ खेल समावेश गरिएको थियो।

प्रदेश ५ को नेपालगन्ज केन्द्रित गरेर भएको आठौँका अधिकांश खेल बाँके जिल्लामा भएपनि केही खेल भने प्रदेश ५ कै अन्य जिल्लाहरु दाङ, रुपन्देशी, बर्दिया र कपिलबस्तुमा भएका छन्।

यस बाहेक भौतिक पूर्वाधार अभावका कारण प्याराग्लाइडिङ, गल्फ, स्क्वास र ट्रायथलन प्रदेश ५ भन्दा बाहिर सञ्चालन भयो। गल्फको प्रतिस्पर्धा काठमाडौँमा सम्पन्न भइसकेको छ भने स्क्वासका खेलहरु लतिपुरमा भइसकेका छन्। यस्तै ट्रायथलन कास्कीमा भइसकेको छ भने प्याराग्लाइडिङ पनि आजै देखि कास्कीमा सुरु भइसकेको छ।

प्रदेश ५ कै जिल्ला कपिलवस्तुमा एक खेल (कुस्ती) मात्र भयो।

खेलकुदहरुमध्ये सबैभन्दा धेरै पदक हुने एथ्लेटिक्स सहित केही खेलहरु भने दाङमा भइरहेका छन्। एथ्लेटिक्समा दुई कीर्तिमान बनिसकेको छ। पहिलो पटक काठमाडौँ बाहिर सिन्थेटिक ट्रयाक राखेर दाङमा बेलझुण्डीमा एथ्लेटिक्सका प्रतिस्पर्धाहरु भइरहेका छन्। ब्याडमिन्टन पनि दाङमै भइरहेको छ र फाइनल खेलहरु शनिवार हुँदैछन्। यस्तै करातेका खेलहरु पनि दाङमा आजैदेखि सुरु भएको छ।

अर्को धेरै पदक हुने खेल हो पौडी र यसमा धेरै कीर्तिमान पनि बन्न सक्छ। तर नेपालगन्ज रंगशालमाको गेट नजिकै रहेको पौडी पोखरी अहिलेसम्म पूर्ण रुपमा तयार भइसकेको छ।

आठौँ राष्ट्रिय खेलकुदका खेलहरु सुरु हुँदा नै यसका लागि धेरै जस्तो भौतिक पूर्वाधार बनिरहेका थिए। त्यसैको मारमा परेको छ पौडी। तोकिएको मितिमै सुरु हुन नसकेको पौडी नेपालगन्जस्थित पौडि पोखरीमा हुने/ नहुने नै अन्योल छ। यस्तै सुटिङको रेन्ज पनि पूर्ण रुपमा तयार भइसकेको छैन।

नेपालगन्ज रंगशाला नजिकै ह्याण्डबल पनि भइरहेको छ। तर मैदान पूर्ण रुपमा खेल्न लायक देखिँदैन।

आठौँ राष्ट्रिय खेलकुद सुरु भएको दश दिन भइसक्दा पनि केही खेल सुरु गर्नको लागि अझै पनि पूर्वाधार तयार नहुँदै आफैँमा हाँस्यासपद जस्तै बनेको छ। यसले खेलाडीमा पनि अन्योलता सिर्जना गरेको छ।

आठौँ राष्ट्रिय सुरु हुनुअघि नै चर्चाको विषय बनेको भौतिक पूर्वाधार र गर्मीको विषयले समापनसम्म निरन्तरता पाउने पक्का छ। बाँकेको खजुरामा भइरहेको भलिबल खेलमा पनि गर्मीको प्रभाव देखिन्छ। बिहान ८ बजेदेखि नै खेलहरु सुरु भएपनि बिहान हुने दोस्रो खेलमा भने गर्मीले गर्दा खेलाडीलाई खेल्न असहज भएको प्रष्टै देखिन्छ। गर्मीले गर्दा खेलाडीले स्वभाविक रुपमा आफ्नो प्रदर्शन पनि देखाउन सकेका छैनन्।

आठौँ राष्ट्रिय खेलकुदको खेलस्थल हरु पनि मुख्य प्रतियोगितास्थल भन्दा टाढा-टाढा रहेका कारण कति खेलका खेलाडीले त अर्को खेलका खेलाडिसँग भेट सम्म गर्न पाउँदैनन्।

दशौँ दिन भारोत्तलोलन, आर्चरी, कराते, उसु को प्रतिस्पर्धा सुरु भएको छ। यस्तै चर्चित खेलहरु भलिबल, फुटबल र क्रिकेटको समूह चरणका खेलहरु पनि जारी छन्।

दशौँ दिनसम्म आर्मी ४१ स्वर्ण जित्दै पदक तालिकामा शीर्ष स्थानमा छ। बर्मीले ४१ स्वर्ण, ३१ रजत, २५ कास्य सहित कूल ९७ पदक जितेको छ। यस्तै पुलिसले २० स्वर्ण, १८ रजत र २८ कास्यसहित कूल ५९ पदक जितेको छ र दोस्रो स्थानमा छ।

अर्को विभागीय टोली एपीएफ १७ स्वर्णसहित तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell