PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अन्त नभएको जात्रा: हाँडीगाउँमा त्वरं: अजिमालाई पोखरी परिक्रमा गराइ खोजियो गहना

अन्त नभएको जात्रा: हाँडीगाउँमा त्वरं: अजिमालाई पोखरी परिक्रमा गराइ खोजियो गहना

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौंको नर: (हाँडीगाउँ)मा तिसा मालिगु जात्रा (गहना खोज्ने जात्रा) सम्पन्न भएको छ।

शनिवार बिहानदेखि त्वरं: अजिमा (वैष्णवी/ टुंडाल देवी)को मूर्तिलाई खटमा नगर परिक्रमा गराइ बेलुकी टंगाल स्थित तिसा मालिगू पुखु (गहना पोखरी) भित्र डुबाएर तीन पटक परिक्रमा गराइएको हो।

गहना खोज्ने जात्रा भनिएपनि पोखरीमा गहना भने हुँदैन। विभिन्न कथनहरुमा आधारित भएर पोखरीमा टुंडाल देवीलाई तीनपटक घुमाएर प्रतिकात्मक रुपमा गहना खोज्ने गरिन्छ। 

ल्हुती पुन्हीका दिन टुंडालदेवीको जात्रा सुरु हुन्छ। त्यसदिन मपता अजिमा (भाटभटेनी)को मूर्तिलाई पनि टुंडालदेवी मन्दिरमा ल्याउने गरिन्छ।

टुंडालदेवीलाई भेट्न जाँदा छोरी भाटभटेनीले आफ्नी आमाको एक पोडेसँग अनैतिक सम्बन्ध रहेको थाहा पाउँछिन्। त्यसपछि रिसाएर फर्केकी भाटभटेनीको गहनाहरु उक्त पोखरीमा हराएको र सोही गहना खोज्ने परम्परा सुरु भएको विश्वास गरिन्छ।

यद्यपी स्थानीयहरु माथि उल्लेखित कथा नयाँ भएको बताउँछन्।

सम्बन्धित समाचार: अन्त नहुने जात्रा हाँडीगाउँमा : पोखरीभित्र गहना खोजिने

द्वापर युगको अन्त्य र कलियुगको सुरुवाती समय हाँडीगाउँमा रहेको कैशालकूट भवनमा तोला महारानी भन्ने रानी थिइन्। निकै दयालु र धर्मात्मा रानीको महल गरगहनाले भरीभराउ थिए। तोला महारानी आफ्नो करुणका कारण उक्त पोखरीमा पातमा बसेर स्नान गर्न समक्ष थिइन्।

तर, केहीसमयपछि उनमा सम्पतिको लोभ जाग्यो। सामान्य मानिसले गहना लगाएर हिँडदा उनको मनमा गहना लगाउने सोच पलायो। गहना लगाउनका लागि उनले जनतामाथि कर लगाउने निर्णय गरिन्। शालिन तोला महारानीको शान लोभले खुम्चियो। पातमा बसेर स्नान गर्ने उनी पातबाट लड्बडाउँदै खसिन्।

त्यसपछि उनमा चेत खुल्यो। जनतामाथि आफूले कर लगाएर अन्याय गरिरहेको उनले बुझिन् र पश्चाताप स्वरुप दरबार क्षेत्रमा रहेको पोखरीमा जनताका लागि गहना खोज्ने जात्रा संचालन भएको स्थानीयहरु बताउँछन्।

शुक्रवार सुरु भएको जात्रा आइतवार सकेपनि देवीको मूर्तिलाई भने एक सातासम्म नगरभित्रै राखिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell