PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आठौँ राष्ट्रिय खेलकुद : आशिष र सरस्वतीले जिते दोस्रो स्वर्ण, शनिवार के-के भए?



पहिलोपोस्ट

आठौँ राष्ट्रिय खेलकुद : आशिष र सरस्वतीले जिते दोस्रो स्वर्ण, शनिवार के-के भए?

बाँके : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४४औं राष्ट्रिय एथलेटिक्सको २ सय मिटर दौडमा एपीएफका आशिष चौधरी र आर्मीकी सरस्वती चौधरी शनिबार पहिलो भएका छन्। आशिष पुरुष र सरस्वती महिलामा स्वर्ण जितेका हुन्। दुवैले यसअघि १ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए।

दाङको बेल्झुण्डीमा भएको स्पर्धामा आशिषले निर्धारित दूरी २१.८३ सेकेन्डमा पूरा गरे। आर्मीका अभिषेक चौधरी दोश्रो तथा प्रदेश ४ का प्रकाश राना मगर तेश्रो भए।

महिलाको निर्धारित दूरी तय गर्न सरस्वतीले २६.२६ सेकेन्ड समय खर्चिन्। प्रदेश ५ की जयरानी चौधरी दोश्रो तथा आर्मीकी कृष्णा चौधरी तेश्रो बने।

पुरुष डिस्कस थ्रोमा आर्मीका चित्रबहादुर ओली पहिलो भए। उनले ३७.०२ मिटर टाढा फाले। प्रहरीका पुस्कल खड्का दोश्रो तथा प्रदेश १ का रन्जिल श्रेष्ठ तेश्रो भए। उक्त स्पर्धाको महिलामा आर्मीकी अमृता महतो पहिलो भइन्। अमृताले ३६.०३ मिटरको प्रदर्शन गरिन्। प्रदेश ५ की संगीता अधिकारी दोश्रो तथा एपीएफकी जितकुमारी महतो तेश्रो स्थानमा रहे।

पुरुष हाइजम्पमा आर्मीका सूर्यबहादुर खत्रीले स्वर्ण जिते। उनले १.८५ मिटर उचाई नाघे। प्रहरीका गोपाल चौधरीले रजत तथा प्रहरीकै विकास खाँड ठकुरीले कांस्य जिते। सो स्पर्धाको महिलामा १.५० मिटर उचाइ नाघ्दै एपीएफकी शिला चौधरी शीर्ष स्थानमा रहिन्। आर्मीकी संगीता सिन्जाली दोश्रो भइन्। प्रदेश १ की विन्दु चौधरी र प्रदेश ५ की अनिता चौधरी संयुक्त रुपमा तेश्रो भए।

 

सुटिङ : अस्मिता शीर्ष स्थानमा

आठौं  राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय सुटिङको महिला १० मिटर एयर राइफलको व्यक्तिगत स्पर्धाको पहिलो दिनको खेल सकिँदा प्रहरीकी अस्मिता राई ५६६ अंकसाथ शीर्ष स्थानमा छिन्।

प्रदेश ५ की बसन्ती केसी ५०१ अंकमा दोश्रो तथा कर्णाली प्रदेशकी सीता सिंह ४९८ अंकमा क्रमशः दोश्रो र तेश्रो स्थानमा छन्। सो स्पर्धाको पुरुषमा आर्मीका सुशे चौधरी ५६५ अंकमा पहिलो, गण्डकीका धनबहादुर विक ५५७ अंकमा दोश्रो र प्रहरीका हरिबहादुर थापा ५५५ अंकमा तेश्रो स्थानमा छन्।

पुरुष १० मिटर एयर पेस्तोलको व्यक्तिगतमा आर्मीका कुवेर केसी पहिलो, प्रहरीका सुकदेव चौधरी दोश्रो र प्रदेश २ का जग्गीलाल महतो तेश्रोमा छन्। उक्त स्पर्धाको महिलामा प्रहरीकी सीमा तुलाधर पहिलो, सुदूरपश्चिमकी सावित्री बोहरा दोश्रो र प्रदेश १ की कमला राई तेश्रो स्थानमा छन्।

राइफलको पुरुषमा १६ र महिलामा १७ तथा पेस्तोलको पुरुष-महिला दुवैमा समान १६–१६ खेलाडी सहभागी छन्। सबै खेल सकिएपछि फाइनलमा पुग्ने शीर्ष ८ खेलाडीको टुंगो लाग्नेछ। आठ खेलाडीबीचको फाइनल २४० अंकको हुनेछ भने क्वालिफाइङ चरणका खेल ६ सय पूर्णाङकमा भइरहेको छ।

नेपालगन्ज रंगशालाको परिसरमा रहेको सुटिङ रेन्जमा भइरहेको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच शुभारम्भ गरे। प्रतियोगितामा सातै प्रदेश, प्रहरी र आर्मीका ६५ खेलाडीले व्यक्तिगत र टिममा गरी ४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन्। पुरुषको २४ औं तथा महिलाको २३ औं संस्करण हो।

 

खो खो : आर्मीको दोहोरो जित

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय खो खोमा आर्मीले दोहोरो जित हात पारेको छ। पुरुषमा आर्मीले प्रदेश ५ लाई १८–१६ र महिलामा प्रदेश १ लाई २९–० ले पराजित गर्‍यो। पुरुषको अर्को खेलमा एपीएफले प्रदेश ४ लाई १४–५ ले हरायो।

महिलाको अन्य खेलमा प्रदेश ३ ले प्रदेश ४ लाई १९–१३, प्रदेश ५ ले प्रदेश ६ लाई २५–३ र प्रदेश ७ ले प्रदेश २ लाई १२–४ ले निराश पारे।

 

सेपकताक्रो : आर्मीलाई दुई स्वर्ण

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पाँचौं राष्ट्रिय सेपाकताक्रोको रेगुमा आर्मीले दुई स्वर्ण जितेको छ। आर्मी पुरुष र महिला दुवैमा पहिलो भयो।

बर्दियाको गुलरियामा भएको पुरुष फाइनलमा आर्मीले गण्डकीलाई २३–२५, २१–४ र २१–१६ ले पराजित गर्‍यो। रोशन तामाङ, सूर्यकुमार चौधरी, अनिल जर्घा मगर, दिपेशजंग थापा र उमेश महतोले प्रतिस्पर्धा गरेका थिए। प्रदेश ३ ले सुदूरलाई २–० ले हराउदै तेश्रो भयो।

महिलाको फाइनलमा आर्मीले प्रदेश ३ लाई २१–१५ र २१–१० ले पाखा लगायो। आर्मीको टिममा चन्द्रा चौधरी, सोममाया थापा मगर, सुमित्रा डंगोल, इनु चौधरी र रुथ श्रेष्ठ छन्। गण्डकीले सुदूरलाई २–० ले पन्छ्याउदै तेश्रो भयो।

 

आर्चरी : अशिम र मुकेश फाइनलमा

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भ ७० मिटरमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र मुकेश तामाङ फाइनलमा प्रवेश गरेका छन्।

सेमिफाइनलमा अशिमले आर्मीका रोशन नगरकोटीलाई ७–५ तथा मुकेशले प्रहरीका तिलक पुनलाई ७–१ ले पराजित गरे। उक्त स्पर्धाको महिलामा आर्मीकी ज्ञानु अवालेले अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूलाई ६–२ तथा आर्मीकी मित्र राईले कास्कीकी केशरी आले मगरलाई ६–० ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे।

पुरुष रिकर्भ टिम ७० मिटरमा कास्कीले अन्नपूर्णलाई ६–२ तथा प्रहरीले आर्मीलाई ५–१ ले पाखा लगाउदै फाइनलमा पुगे। रिकर्भ मिक्स टिममा आर्मीका रोशन र ज्ञानु तथा डम्बर थापा र आईशा तामाङको जोडी फाइनलमा प्रवेश गरेका छन्।

पुरुष ५० मिटर व्यक्तिगत कम्पाउन्डमा कास्कीका जाग्री गुरुङले कञ्चनपुरका होम थापा मगरलाई १४३–१२६ तथा कास्कीका राजेश राणाले थसाङ स्पोर्ट्स क्लबका रमेश भट्टचनलाई १४१–१२४ ले पन्छ्याउदै फाइनल यात्रा तय गरे ।

पुरष ३० मिटर व्यक्तिगत स्ट्यान्डर्डमा आर्मीका तविन गुरुङले बेस्ट आर्चरीका ग्रीष्मा गुरुङलाई ६–० तथा बेस्ट ग्रुपकै प्राण्जल राईले आर्मीका कमल दानीलाई ६–० ले पराजित गरी फाइनलमा पुगे । सो स्पर्धाको महिलामा अर्चना थापा मगरले सोलिना गुरुङलाई ७–१ तथा अनुषा गुरुङले एपीएफकी सोनु जया राईलाई ६–२ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे । सोनु एपीएफ तथा बाँकी अन्नपूर्णका हुन् ।

पुरुष ३० मिटर टिममा आर्मीले थसाङलाई ५–३ तथा बेस्टले कास्कीलाई ५–३ ले निराश पार्दै फाइनलमा स्थान बनाए । त्यसै स्पर्धाको महिलामा अन्नपूर्णले सुनसरीलाई ६–० तथा कञ्चनपुरले आर्मीलाई ५–१ ले हराउदै फाइनलमा पुगे ।

मिक्स स्ट्यान्डर्ड ३० मिटरमा अन्नपूर्णका राजकुमार छन्त्याल र अर्चना थापा तथा आर्मीका तविन गुरुङ र मन्जु बजगाईंको जोडी फाइनलमा पुगे ।

 

ह्यान्डबल

आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत शनिवार विहान भएको पुरुष हेन्डबल खेलमा प्रदेश ५ र गण्डकी प्रदेश विजयी भएका छन् । पहिलो खेलमा प्रदेश ५ ले कर्णाली प्रदेशलाई २२–१२ गोल अन्तरले पराजित गर्दा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लवलाई २४–२१ गोलले पराजित गर्‍यो ।

यसैगरि, सुदूरपश्चिम प्रदेश र प्रदेश ५ वीच भएको खेल बराबरी भएको छ । दुवै टिमले समान १४–१४ गोल गरेपछि दुवै टिमले समान अंक बाँडेका छन्।

त्यस्तै, शनिवार दिउँसो भएको पहिलो खेलमा एपीएफ क्लव विजयी भएको छ । प्रदेश १ लाई २६–१० ले एपीएफले पाखा लगायो ।

पुरुष हेन्डवल प्रतियोगिता अन्तरगत शनिवार दिउँसो भएको अर्को खेलमा प्रदेश ३ ले प्रदेश २ लाई १४–३६ गोल अन्तरले पराजित ग¥यो । भने, दिउँसो नै भएको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई २६–१५ गोलले स्तब्ध बनायो ।  

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिल्ला प्रशासन कार्यालय, बाँके परिसरमा शनिवार विहान भएको महिला हेन्डबल खेलमा विभागिय टिम त्रिभुवन आर्मी र गण्डकी प्रदेश विजयी भएका छन् ।

पहिलो खेलमा नेपाली सेनाले प्रदेश ५ लाई ४४–७ को फराकिलो गोल अन्तरले स्तब्ध पा¥यो । त्यस्तै विहान भएको दोस्रो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ५–८ गोल अन्तरले पाखा लगायो ।

यसैवीच, प्रतियोगिता अन्तरगत शनिवार दिउँसो भएको महिला हेन्डबल खेलमा विभागिय त्रिभुवन आर्मी, एपीएफ र गण्डकी प्रदेश विजयी भएका छन् । 

पहिलो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ०–२४ को पराकिलो अन्तरले पाखा लगायो । त्यस्तै दोस्रो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई २–३६ गोल अन्तरले हरायो । 

त्यस्तै तेस्रो खेलमा त्रिभुवन आर्मीले प्रदेश ५ लाई ७–४४ गोल अन्तरले हराउँदै जित निकाल्यो । शनिवार नै भएको अर्को खेलमा प्रदेश ३ ले कर्णाली प्रदेशलाई ५–८ गोल अन्तरले स्तब्ध पारेको हेन्डबलका बरिष्ठ प्रशिक्षक हिमाल दाहालले जानकारी दिए ।

 

आईटीएफ तेक्वान्दो

आठौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत आइटिएफ तेक्वान्दोमा शनिवारसम्मका खेलमा सवैभन्दा धेरै स्वर्ण आर्मीले जितेको छ । नेपालगन्जको महेन्द्र वहुमुखी क्याम्पसमा जारी प्रतियोगिता अन्र्तगत शनिवारसम्म भएका सींगल प्याट्रनका खेलमा आर्मीले ६ स्वर्णका साथ अग्रता कायम गरेको छ । त्यस्तै, एपिएफले ४  र प्रदेश ३ ले २ स्वर्ण प्राप्त गरेको छ । यसैविच, शनिवार भएको ४६ देखी ५० किलो तौलमा प्रदेश ५ ले खाता खोलेको छ । नवलपरासीका सुमन मस्र्यांगीले आर्मीका पुर्ण घर्तिलाई हराउदै प्रदेश ५ को खाता खोलेका हुन् । उनले पनि स्वर्णपदक जितेका छन् । त्यस्तै, शनिवार विहान भएका सींगल प्याट्रनका खेलमा प्रदेश ४ कि सुस्मीता थापालाई हराउदै एपिएफकी अप्सना तामाङले स्वर्ण जीतेकि छिन् । त्यस्तै, आर्मीकी हिमा खड्कालाई हराउदै एपिएफकै सन्चीता लामाले पनि स्वर्णपदक जितीन् । पुरुषतर्फको सींगल प्याट्रनमा प्रदेश ३ का सौरभ घिमीरे, आर्मीका भिम वहादुर तामाङ र आर्मीकै पुर्ण वहादुर मगरले स्वर्णपदक जितेका छन् । ग्रुप प्याट्रनमा भएको खेलमा महिलातर्फ आर्मीको तुलसा राजथलाको समुह र पुरुषतर्फ एपिएफकको नाम्गेल तामाङको समुहले स्वर्णपदक प्राप्त गरेको छ । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परीषदका सदस्य सचिव केशव कुमार विष्टले पुरस्कार वितरण गर्नुभएको छ । प्रतियोगीतामा ७ प्रदेशसहित २ विभागीय टिम गरी कुल ९ टिम सहभागी रहेको नेपाल आइटिएफ तेक्वान्दो संघ प्रदेश नं ५ का अध्यक्ष विरेन्द्रवहादुर शाहिले जानकारी दिनुभएको छ । उहाँका अनुसार, एक प्रदेशबाट १४ जना पुरुष र ११ जना महिला गरी २५ जना खेलाडि सहभागी भएका छन भने एउटा प्रदेशबाट २ जना प्रक्षिक्षक सहभागी छन् । कुल २ सय २५ जना खेलाडि सहभागी प्रतियोगीतामा ४ वटा इभेन्ट हुन लागेका छन् । फाइट, प्याट्रन, ग्रुप स्पारीङ र ग्रुप प्याटन गरी ४ वटा इभेन्टमा खेल हुने उहाँले बताउनुभएको छ । शुक्रबार साँझदेखी सुरु खेल वैशाख १० गतेसम्म चल्ने छ ।

 

तेक्वान्दो

नेपाल पुलिस क्लबका खेलाडी कमल श्रेष्ठले जारी आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दो खेलको पुम्से तर्फ शनिबार ३ स्वर्ण पदक जितेका छन् ।

भैरहवाको ब्याडमिन्टन कभर्डहलमा श्रेष्ठले पुम्सेको एकल, जोडी र टिम ईभेन्टमा स्वर्ण जित्दै जारी राष्ट्रिय खेलकुदमा सबैभन्दा बढी स्वर्ण जित्ने खेलाडी पनि बनेका छन् ।

श्रेष्ठले तेक्वान्दो खेल्न सुरु गरेको चार बर्ष मात्रै भएको छ । यस बिच उनले तेक्वान्दोका धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाईसकेका भएता पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा भने पहिलो सहभागिता हो ।

२०६७ सालमा नेपाल प्रहरीमा प्रबेश गरेका उनि जवान पदमा छन् । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगर पालिका डिभर्ना घर भएका २८ बर्षिय श्रेष्ठ २०१८ को अगस्त सेप्टेम्बरमा ईण्डोनेशियामा सम्पन्न एसियाली खेलमा तेक्वान्दोको पुम्सेमा सहभागीता जनाईसकेका श्रेष्ठको अबको लक्ष्य भनेको काठमाण्डौमा आयोजना हुने दक्षिण एसियाली खेलकुदमा मुलुकलाई स्वर्ण पदक दिलाउनु रहेको न्यूज २४ टिभीलाई बताएका छन् ।

 

पुम्सेमा प्रहरीलाई ४ स्वर्ण

राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भैरहवामा जारी तेक्वान्दोको पुम्से बिधामा पुलिस क्लबले ४ स्वर्ण र १ रजत पदक जित्न सफल भएको छ । जसमा पुरुष एकलमा कमल श्रेष्ठ, महिला एकलमा पार्वती गुरुंग, जोडीमा कमल र पार्वतीले तथा कमल श्रेष्ठ, जित बहादुर बोट र प्रेम बहादुर लिम्बु सम्मिलित खेलाडीले टिमतर्फ स्वर्ण जितेका हुन् भने महिला तर्फको टिम ईभेन्टमा पार्वती गुरुंग, मिरा राना र निर्मला बिकको समहुले रजत पदक जितेका छन् । पुम्सेको महिला तर्फको टिम इभेन्टमा प्रदेश १ले स्वर्ण पदक जितेका छन् । तेक्वान्दोको पुम्से बिधाका सबै खेलहरु सकिएका छन् । अब स्पाईरींग तर्फका खेलहरु बाकी रहेका छन् । शुक्रबार महिला र पुरुष तर्फ २ तौल समुहमा भएको खेलमा २ स्वर्ण पदक टुंगो लागेको थियो । जसमा पुरुष तर्फ ५८ केजितलको तौल समुहमा आर्मीका ज्ञानेन्द्र हमाल र महिला तर्फको ५३ केजि तलको  तौल  समुहमा पुलिस क्लबकी निमा गुरुंगले स्वर्ण पदक जितेका थिए ।

 

कराते

दाङको  तुलसीपुरमा आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पहिलो दिन चार वटा इभेन्ट मात्रै सम्पन्न हुँदा विभागीय क्लब पुलिसले बर्चश्व जमाएको छ । शनिबार भएका चार इभेन्ट मध्य तीन वटामा स्वर्ण पदक पुलिसले जित्दा एउटामा आर्मीले कव्जा गरेको छ ।

पुरुष एकल कातामा  नेपाल पुलिसका मन्देकाजी श्रेष्ठले स्वर्ण पदक जितेका छन् । यसैगरी कर्णाली प्रदेशका ललित खत्रीले रजत पदक जित्दा आर्मीका पर्शुराम वास्तोला र  एपीएफका अनिल चौधरीले कास्य पदक जिते ।

यसैगरी महिला एकलकातामा नेपाल प्रहरीकी चन्चला  दनुवारले स्वर्ण पदक जित्दा गैर आवासीय नेपाली संघ ९एनआरएनए० की सुभद्रा श्रेष्ठले रजत पदक हात पारिन् । यसैगरी एपीएफकी प्रतिक्षा  पाख्रिन र आर्मीकी संगीता मगरले कास्य पदक जितेका छन् ।

कराते अन्तर्गत शनिबारनै भएको टिम काताको पुरुषमा आर्मीले स्वर्ण पदक जित्दा नेपाल प्रहरीले रजत र कर्णाली र सुदूरपश्चिम प्रदेशले कास्य पदक हात पारे ।

यसैगरी महिला तर्फ  नेपाल पुलिसले स्वर्ण पदक जित्दा रजत पदक आर्मीले जितेको छ । त्यसैगरी गण्डकी प्रदेश र प्रदेश १ ले कास्य पदक जिते ।

 

सफ्ट टेनिस : महिला डबल्समा प्रदेश ३ लाई  स्वर्ण

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रुपन्देहीमा आयोजना भैरहेको सप्mट टेनिसको महिला डबल्स तर्फ प्रदेश नम्बर ३ ले स्वर्ण पदक जितेका छन् ।

शनिबार बुटवल देबिनगर स्थित लनटेनिस कोर्टमा सम्पन्न फाईनलमा प्रदेश ३ का सुनिरा थापा र चन्द्र माया राईको जोडीले प्रदेश ५ का रितिका चौधरी र आश्मा भुषालको जोडिलाई पराजित गरेका हुन् । चौधरी र भुषालले रजत पदक प्राप्त गरे भने गण्डकीका प्रिति बराल र श्रृष्टीका उदास तथा प्रदेश १का श्रृया योञ्जन र दर्जेया चौधरीको जोडिले काश्य पदक जितेका छन् ।

त्यसै गरी शनिबार सम्पन्न अन्य खेलमा पुरुष डबल्स तर्फको खेलमा प्रदेश १ का युकेश योञ्जन र आशिष बोहोराले प्रदेश ५का सुरज चौधरी र सुगम खनाललाई हराउदै फाईनलमा प्रबेश गरेका छन भने अर्को सेमिफाईनलमा नेपाल पुलिसका कमल भण्डारी र  नव बहादुर लुंगेलीको जोडिले प्रदेश ३ का प्रदिप खत्री र ब्रिजेश पान्डेलाई हराउदै फाईनलमा स्थान सुरक्षित गरेका छन् ।

त्यसै गरी शनिबारनै सम्पन्न पुरुष एकल तर्फको सेमिफाईनलमा प्रदेश ३का प्रदिप खत्रीले प्रदेश  १ का रमेश तामांगलाई हराउदै फाईनल प्रबेश गरेका छन् । खत्रीले फाईनलमा प्रदेश १का युकेश योञ्जन संग प्रतिष्पर्धा गर्नेछन् । त्यसै गरी महिला सिंगल तर्फ प्रदेश ३की चन्द्रमाया राईले प्रदेश १ की प्रिया योञ्जनलाई हराउदै फाईनल मा स्थान सुरक्षित गरेकी छिन भने अर्को सेमिफाईनलमा एपिएफकी भगवति बिकले प्रदेश ४की प्रिति बराललाई हराएर फाईनल पुगेकी छिन् । पुरुष सिंगल, डबल्स र महिला सिंगल्सको फाईनल १० गते हुनेछ भने अन्य बाकी खेलहरु आईतबारबाट हुनेछन्  ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell