PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लगानीमैत्री वातावरण बनाउँदै कर्णाली सरकार, पर्यटक लक्षित रारामा खुल्दै १५ करोडमा तीन रिसोर्ट 



पी बी खड्का

लगानीमैत्री वातावरण बनाउँदै कर्णाली सरकार, पर्यटक लक्षित रारामा खुल्दै १५ करोडमा तीन रिसोर्ट 

सुर्खेत: कर्णालीमा उद्योगी र व्यवसायी भित्रिए कर्णालीको समृद्ध अभियानमा टेवा पुग्ने विश्वास छ। प्रदेश सरकारले समेत कर्णालीमा लगानीमैत्री वातावरण बनाउनतर्फ जुटेको छ। मुख्यमन्त्रीदेखि मन्त्रीहरुले कर्णालीमा लगानी गर्न समेत लगानीकर्तालाई बारम्बार आह्वान गरिरहेका छन्।


प्रदेश सरकारले लगानीकर्ताको सुरक्षाको ग्यारेण्टी गर्ने, सरकारले नीजि क्षेत्रबाट हुने आयोजना /योजना, कार्यक्रम र उद्योगमा राज्यबाट संकलन हुने कर र राजश्वमा दश वर्षसम्म छुट हुने व्यवस्था लगाएतका सुविधा प्रदेश सरकारले अघि सारेको छ।


लगानी भित्र्याउन प्रदेश सरकारले लगानीमैत्री नीति निर्माण गर्ने र उनीहरुलाई थप लगानी गर्न प्रेरित हुने योजनाहरु ल्याउने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी बताउँछिन्। ‘अहिले कर्णालीमा लगानीकर्ताको अभाव छ।’ उनले भनिन्, ‘देश विदेशका लगानीकर्ता भित्र्याउन प्रदेश सरकारले आवश्यक नीति बनाउन तयार छ। लगानीमैत्री वातावरण बनाउन हामी निरन्तर प्रयासमा छौं।’ 


हाल रारामा पर्यटकका लागि खानेबस्ने राम्रो व्यवस्था नहुँदा थप आन्तरिक र बाह्य पर्यटकलाई समस्या भएको छ। रारा क्षेत्रमा भएका डाँफे होटल र हेरिटेज होटलले मात्रै पर्यटक थेग्न नसकेको पनि उनले बताइन्। 


‘पर्यटकीय गन्तव्य रारामा स्तरीय होटल, रिसोर्ट आवश्यक छ। अहिले भएको दुई होटलले पर्याप्त पर्यटक थेग्न सकिरहेका छैनन्। रारामा ठूलो लगानी गरी होटल र रिसोर्ट सञ्चालन गर्नु राम्रो पक्ष हो।’ उनले भनिन्, ‘हामीले पनि सक्ने सहयोग गर्न तयार छौँ व्यवसायीहरुलाई। रारामा मात्रै नभएर सुर्खेतदेखि रारासम्म पुग्दा बाटोमा पनि स्तरीय होटलको आवश्यकता छ। त्यसतर्फ पनि उद्योगी, व्यवसायीले ध्यान दिए पर्यटकका लागि पनि राम्रो हुने र व्यवसायीका लागि पनि राम्रो आम्दानीको स्रोत हुन सक्छ।’ 

पर्यटक लक्षित रारामा तीन रिसोर्ट


कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारालाई लक्षित गरी नयाँ रिसोर्ट सञ्चालनको तयारी भएको छ। रारा ताल क्षेत्रको आसपासमा नयाँ तीन रिसोर्ट सञ्चालनको तयारी भएको हो। ‘रारा भिलेज रिसोर्ट’का नाममा झण्डै १५ करोड बढीको लागतमा सञ्चालन हुने रिसोर्टका अध्यक्ष अनुपविक्रम शाहले जानकारी दिए। 


नेपाल भ्रमण वर्ष २०२० लाईसमेत टार्गेट गरेर नयाँ तीन रिसोर्टको तयारी गरेको उनको भनाई छ। तत्कालका लागि मुगुको विमानस्थल रहेको ताल्चा, रारा नजिकैरहेको सल्लेरी र मुर्मा गरी तीन स्थानमा रिसोर्ट सञ्चालन हुने भएको छ।


उक्त रिसोर्ट सञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको अध्यक्ष शाहको भनाई छ। जसका लागि पहिलो चरणमा ताल्चा र सल्लेरीको रिसोर्ट सञ्चालन गर्ने भवनको शिल्यान्यास शुक्रबारमात्रै गर्ने तयारी छ। 


दोस्रो चरण अन्तर्गत मुर्मामा निर्माण गरिने रिसोर्टको काम अघि बढाईने भएको छ। तीन स्थानमा रहने रिसोर्ट करिव २० रोपनी क्षेत्रफल जग्गामा फैलने छ। 


हाल तत्कालका लागि १० करोडको लागतमा रिसोर्ट निर्माण गरिने अध्यक्ष शाहले बताए। पहिलो चरण अन्तरगतको ताल्चामा २० कोठासहित हलको व्यवस्था गरिने र सल्लेरीमा १० कोठासहितको रिसोर्ट निर्माण गरिने छ। 


दोस्रो चरणको मुर्मास्थित ३० कोठाको रिसोर्ट आगामी असोजसम्ममा निर्माण गरिसक्ने लक्ष्य लिई काम अघि बढाएको छ। रिसोर्ट भवन निर्माणका लागि आवश्यक पर्ने सामग्री भक्तपुरमा रहेको गोर्खा इको प्यानल प्रयोग गरिने भएको छ। 


आफूहरुले पनि पर्यटकको समस्यालाई मध्येनजर गरेर रिसोर्ट खोल्न लागेको बताए। जति सक्यो छिटो रिसोर्ट सञ्चालनमा लागि परेको बताए। 
अहिले रारामा स्तरिय होटल तथा खाना बस्नेको व्यवस्था नहुँदा आन्तरिक तथा बाह्य पर्यटक भित्रिनेमा कमी आएको छ। जसले गर्दा पनि प्रदेश सरकारले पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य भेटाउन निकै मुश्किल भयो। प्रदेश सरकारले समेत रारालगायत अन्य क्षेत्रमा आवश्यक पूर्वाधार तयार गर्न आवश्यक देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell