PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आर्चरीमा अर्चनालाई दोहोरो सफलता : टिम इभेन्टमा मिलेर स्वर्ण, व्यक्तिगतमा साथीलाई हराएर स्वर्ण



गोविन्दराज नेपाल

आर्चरीमा अर्चनालाई दोहोरो सफलता : टिम इभेन्टमा मिलेर स्वर्ण, व्यक्तिगतमा साथीलाई हराएर स्वर्ण

नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगितामा अन्नपूर्ण आर्चरी क्लबकी अर्चना थापाले दुई स्वर्ण जितेकी छिन्। अर्चनाले ३० मिटर स्ट्याण्डर्डमा टिमतर्फ आफ्नै क्लबकी साथी अनुसासँग मिलेर स्वर्ण जितेकी हुन्।

नेपालगन्जस्थित प्रहरी तालिम केन्द्रमा भइरहेको आर्चरी प्रतियोगिताअन्तर्गत अर्चनाले स्ट्याण्डर्ड महिला टिम इभेन्ट र स्ट्यान्डर्ड महिला व्यक्तिगततर्फ आइतवार स्वर्ण जितेकी हुन्।

३० मिटरको व्यक्तिगततर्फ उनले फाइनलमा आफ्नै क्लबकी अनुसा गुरुङलाई ६-२ को अन्तरमा पराजित गर्दै स्वर्ण जितेकी हुन्। अनुसाले रजत जित्दा अन्नपूर्ण आर्चरी क्लबकै सनिला गुरुङले कास्य जितिन्।

यस स्पर्धामा अन्नपूर्ण क्लबका खेलाडीले पदकका क्लिन स्विप नै गरेको हो। अर्चनासहितको टिमले स्ट्याण्डर्ड टिम महिला स्पर्धामा कञ्चनपूर आर्चरी क्लबलाई ६-० ले पराजित गर्दै स्वर्ण जितेकी हुन्।

राष्ट्रिय प्रतियोगितामा दुई स्वर्ण जितेपछि खुशी देखिएकी अर्चनाले सँधैको ट्रेनिङ र मिहेनेतले नै सफलता हात पार्न सफल भएको बताइन्।  

टिम इभेन्टमा अनुसासँग मिलेर स्वर्ण जितेकी अर्चनाले व्यक्तिगततर्फ उनै अनुसालाई हराएर स्वर्ण जितेकी हुन्। अनुसा १५ वर्षकी मात्र भएपनि उनलाई जित्न कठिन भएको अर्चनाले बताइन्। 'अनुसाले एकदमै राम्रो खेलिन्। उनलाई हराउन मलाई पनि एकदमै गाह्रो भयो।'

यस स्पर्धाको पुरुषतर्फ तविन गुरुङले पनि दुई स्वर्ण जिते। उनले स्ट्याण्डर्ड टिम पुरुष र व्यक्तिग तर्फ स्वर्ण जितेका हुन्।

पुरुषको व्यक्तिगतर्फ तविनले बेस्ट आर्चरी क्लबका प्रन्जल राईलाई ६-० ले पराजित गर्दै स्वर्ण जितेका हुन्। प्रन्जलले रजत पाउँदा नेपाल आर्मीका कमल दानीले कास्य जिते।

यसैगरी तविनसहितको टिमले पुरुष टिम स्पर्धामा बेस्ट आर्चरी क्लबलाई ६-० ले पराजित गर्दै स्वर्ण जिते।

यस्तै मिक्स स्ट्यान्डर्ड टिम ३० मिटरमा अन्नपूर्णका राजकुमार छन्त्याल र अर्चना थापाको जोडीलाई ६-४ ले पराजित गर्दै आर्मीका तविन गुरुङ र मन्जु बजगाईंको जोडीले स्वर्ण जिते। यस विधामा कञ्चनपुरका विवेक राना र लक्ष्मी थापाले कास्य हात पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell