PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यस्तो छ ने क पाको जिल्ला नेतृत्व र पोलिटब्युरो गठनको तयारी: एक व्यक्ति, एक पदमा 'कम्प्रमाइज'



विधुर ढकाल

यस्तो छ ने क पाको जिल्ला नेतृत्व र पोलिटब्युरो गठनको तयारी: एक व्यक्ति, एक पदमा 'कम्प्रमाइज'
फाइल फोटो

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) पार्टीका जिल्ला कमिटीको नेतृत्व टुंग्याउने र पोलिट ब्युरो गठनको अन्तिम गृहकार्यमा जुटेको छ।

गत जेठ ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदा तीन महिनाभित्र सबै तहमा एकीकरण गरिसक्ने भनिए पनि ११ महिनासम्म पार्टी एकता तल्लो तहसम्म पुग्न सकेको छैन।

पार्टी एकता गर्ने लक्ष्यसहित प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धन बनाएर चुनावमा होमिएका नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुन चुनाव सकिएको पाँच महिना लागेको थियो।

गत वर्ष वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका दिन पार्टी एकताको सन्देश दिन संयुक्त रुपमा सभा आयोजना गरिएको थियो। त्यसको एक महिनापछि एकता भएको थियो। पहिलो पटक तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा स्थापना दिवस मनाएका थिए।

यस वर्ष ने क पाले पार्टी स्थापना दिवसकै दिन पारेर जिल्ला नेतृत्व र पोलिटब्युरोको घोषणाको तयारी गरिरहेको छ। ने क पाले भोलि सोमबार प्रज्ञा भवन कमलादीमा १२ बजे कार्यक्रम गर्ने तयारी गरिरहेको छ। सो कार्यक्रममा उपस्थित हुन ने क पाले पार्टीका नेता कार्यकर्तालाई पत्राचारसमेत गरिसकेको छ।

ने क पाले ७७ वटा जिल्ला अध्यक्ष र सचिवहरुको नाम तथा पोलिटब्युरो सदस्यको नाम आज दिनभरमा टुंग्याउने गरी पार्टीका दुई नेतालाई जिम्मा दिइएको छ।

आज विहान बालुवाटारमा पार्टीका दुई अध्यक्षबीच छलफल भएको थियो। छलफलमा पार्टीका तल्लो तहसम्म एकताको लागि सैद्धान्तिक आधार तय गरेको छ। आजै साँझ पाँच बजे पार्टीका दुई अध्यक्ष पुनः छलफलमा जुट्ने र ६ बजे पार्टीको सचिवालय बैठक बसी नाम टुंगो लगाउने सहमति भएको अध्यक्ष प्रचण्डले जानकारी दिएका छन्।

अध्यक्ष प्रचण्ड आज प्रदेश ३ ले आयोजना गरेको कार्यक्रममा भोलि नै पार्टीका जिल्ला नेतृत्वको घोषणा हुने जानकारी दिएका हुन्।

ने क पाले सोमबार अप्रिल २२ लेनिन जयन्ती र नेपाल कम्युनिस्ट पार्टीको ७० औँ स्थापना दिवस मनाउँदै छ। सोही कार्यक्रममा जिल्ला अध्यक्ष र सचिवका साथै पोलिटब्युरो सदस्यहरुको नाम सार्वजनिक गर्ने तयारी भएको हो।

ने क पाको ७७ वटा जिल्ला कमिटी, उपत्यका विशेष जिल्ला कमिटी, मजदुर, विद्यार्थी, सम्पर्क समन्वय कमिटीको नेतृत्व टुंगो लाग्न बाँकी छ। त्यस्तै पोलिटब्युरोसमेत गठन हुन सकेको छैन।

आज साँझ बस्ने सचिवालयको बैठकमा ने क पाका दुई अध्यक्षले पदाधिकारीको अन्तिम प्रस्ताव तयार पेश गर्ने छन्। आज विहान बालुवाटारमा भएको बैठकले यस्तो तयारी गरेको हो।

एक व्यक्ति एक पदबाट पछि हट्यो ने क पा

पार्टी एकता गर्दा प्रधानमन्त्री केपी शर्मा ओली बाहेक अरुको हकमा एक व्यक्ति एक पदको नीति लिएको थियो। ओलीको हकमा अध्यक्ष र प्रधानमन्त्री हुन पाउने भए पनि मन्त्री तथा जननिर्वाचित प्रतिनिधिहरुको हकमा एक व्यक्ति एक पदको नीति लिने बताइएको थियो।

मन्त्रीहरु तथा प्रतिनिधिहरुलाई पार्टीको कार्यकारी जिम्मेवारी नदिने बताइएको थियो। तर, प्रदेश कमिटीको गठन हुँदा यो नीतिको उल्लंघन गरिएको थियो। प्रदेश ५ र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई प्रदेश पार्टीको नेतृत्वको जिम्मेवारी दिइएको थियो। यसको विरोध ने क पाको गत मंसिरमा सम्पन्न स्थायी कमिटीको बैठकमा सदस्यहरुले विरोध गरेका थिए। यसको विरोधमा ने क पा भित्रको माधव नेपाल समूह आवाज उठाइरहेको थियो।

तर, अहिले जिल्ला नेतृत्वको टुंगो लगाउँदा एक व्यक्ति एक पदको नीतिमा कम्प्रोमाइज गर्ने सहमतिमा ने क पा पुगेको एक नेताले जानकारी दिए।

एक व्यक्ति एक पदको विषयमा पूर्व एमाले भित्रको ओली र नेपाल समूहबीच सहमति हुन सकेको थिएन्। यही समूहबीचको विवादका कारण एकता तल्लो तहसम्म पुगेको थिएन। यी दुई समूहलाई मिलाउनका लागि निर्वाचित जनप्रतिनिधिलाई जिल्ला नेतृत्वबाट बञ्चित नगर्ने सहमति भएको बताइएको थियो।

पूर्व एमाले भित्रका जिल्ला नेतृत्वहरु हाल स्थानीय तहमा निर्वाचित भएका कारण पूर्व एमालेभित्र एक व्यक्ति एक पदको नीतिले समस्या निम्त्याएको थियो।

ओली र नेपाल समूहलाई सहमतिमा ल्याउनका लागि प्रचण्डले यस्तो प्रस्ताव गरेका थिए। यो प्रस्तावमा ओली र नेपाल सहमत भए पछि अब स्थानीय तहमा निर्वाचित जन प्रतिनिधिहरुलेसमेत ने क पाको जिल्ला कमिटीको नेतृत्व गर्न पाउने छन्।

त्यस्तै ने क पाले जिल्लाको अधिवेशन तीन महिनाभित्र गरिसक्ने गरी योजना तयार गरेको छ।

जिल्ला नेतृत्वको भागबन्डा गर्दा पूर्व एमालेले ४५ र पूर्व माओवादीले ३२ जिल्लाको नेतृत्व पाउने गरी सहमति भएको छ। यद्यपी यो अन्तिम समयमा तल माथि हुन सक्ने स्रोतले जनायो। त्यस्तै पूर्व एमालेले अध्यक्ष पाएको जिल्लामा पूर्व माओवादी केन्द्रले सचिव र पूर्व माओवादी केन्द्रले अध्यक्ष पाएका जिल्लामा पूर्व एमालेले सचिवको जिम्मेवारी पाउने छन्।

पूर्व एमालेभित्र जिल्ला नेतृत्वमा झण्डै ओली र नेपाल समूहबीच बराबरीको भागबन्डा गरेर मिलाउने सहमति भएको छ।

यसैबीच ने क पाले करिब १५० सदस्यीय पोलिटब्युरोसमेत गठन गर्ने तयारी गरेको छ। केन्द्रीय सदस्यको एक तिहाई सदस्य रहने गरी पोलिट ब्यूरो गठनको तयारी गरेको छ।

यसरी गठन हुने पोलिटब्युरोमा पूर्व माओवादी केन्द्रबाट ६० देखि ७० जना सम्म र पूर्व एमालेबाट ८० देखि ९० सम्म पोलिटब्युरोमा जाने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell