PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आठौँ राष्ट्रिय खेलकुद : होटलको स्विमिङ पूलमा पौडीको खेल



पहिलोपोस्ट

आठौँ राष्ट्रिय खेलकुद : होटलको स्विमिङ पूलमा पौडीको खेल

बाँके : तोकिएको मिति र समयमै भएको भए आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडीको २१औँ राष्ट्रिय प्रतियोगिता आजदेखि नेपालगन्ज पौडी पोखरीमा हुनु पर्ने थियो। तर समयमै पूर्वाधारको निर्माण हुन नसकेपछि र अर्को पौडी पोखरी नभएपछि पौडि खेल आजबाट एक होटलमा सुरु भएको छ।

बाँके जिल्लाको नेपालगन्जस्थित सिग्नेट होटलको स्विमिङ पूलमा आठौँ राष्ट्रिय अन्तर्गत नेपाल पौडी संघको २२औँ राष्ट्रिय प्रतियोगिता सुरु भएको छ।

साधारणतया पौडी ५० मिटरको पौडी पोखरामा सञ्चालन हुने गर्छ। यदी नेपालगन्जको पौडी पोखरीमा समयमै पानी हाल्न सकेको भए र पोखरी तयार पार्न सकेको भए खेलाडीहरुले ५० मिटरको पोखरीमै प्रतिस्पर्धा गर्न पाउँथे। जसले गर्दा कीर्तिमान बनेपनि त्यो लङ कोर्स गणना थियो।

तर पूर्वाधार तयार नभएपछि बाध्य भएर राखेपले पौडीका खेलहरु एउटा होटलको स्विमिङ पूलमा सुरु गर्नुपरेको हो।

पहिलो दिन त्रिभुवन आर्मी क्लबकी गौरिका सिंहले दुई कीर्तिमान बनाएपनि त्यो २५ मिटरको सर्ट कोर्समा गणना हुनेछ।

रियो ओलम्पिक २०१६ की सबैभन्दा कान्छी खेलाडी गौरिकाले आठौँ राष्ट्रिय खेलकुदमा विभागीय टोली आर्मीको प्रतिनिधित्व गर्दै पहिलो दिन कीर्तिमानसहित दुई स्वर्ण जितेकी हुन्। उनले ८०० मिटर ब्याकस्ट्रोक र ५० मिटर फ्रिस्टाएलमा स्वर्ण जितिन्। ८०० मिटरमा नयाँ कीर्तिमान स्थापित गर्दा ५० मिटरमा भने आफ्नै कीर्तिमानमा सुधार गरिन्।

आठौँ राष्ट्रिय खेलकुद बाटै दक्षिण एसियाली खेलकुद (साग), फिना वर्ल्ड च्याम्पियनसिपको लागि खेलाडी छनोट गरिनेछ। तर खेलाडीहरु सर्ट कोर्समा खेल्न बाध्य भएका कारण फेरि लङ कोर्समै ट्रेनिङ गर्नुपर्नेछ।

सर्ट कोर्समा टाइमिङ सुधार हुने भएपनि त्यसले लङ कोर्समा कुनै प्रभाव नपार्ने पौडीका मुख्य प्रशिक्षक आठौँ राष्ट्रिय खेलकुदका प्राविधिक उप-समितिका सदस्य रहेका शंकर कार्कीले बताए।

'२५ मिटरमा खेल्दा खेलाडीको टाइमिङमा सुधार त हुन्छ। तर यहाँको टाइमिङले लङ कोर्सको कीर्तिमान ब्रेक हुँदैन। सर्टको कीर्तिमान सर्ट कोर्समै गणना हुन्छ।'

तोकिएकै समयमै खेलाउनुपर्ने बाहिरबाट पनि खेलाडीहरु आएका कारण होटलमै भएपनि पौडीको प्रतियोगिता गर्न बाध्य भएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell