PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्याराग्लाईडिङ : दुई इभेन्टमा आर्मीको अग्रता कायमै



पहिलोपोस्ट

प्याराग्लाईडिङ : दुई इभेन्टमा आर्मीको अग्रता कायमै

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा जारी प्याराग्लाईडिङतर्फ त्रिभुवन क्लबले एक्यूरेसी र क्रसकन्ट्री तर्फका दुबै इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै अग्रस्थानमा रहेको छ।

दोश्रो दिनको खेल जारी रहँदा सम्म एक्यूरेसी टिम इभेन्टमा नेपाल सेनाले हिजोको आफ्नो प्रदर्शनलाई दोहोर्‍याउँदै १४५ अंकका साथ प्रथम स्थानमा रहेको छ। त्यसैगरि प्रदेश नं १, ९५५ अंकका साथ दोश्रो र गण्डकी प्रदेश १३५५ अंकका साथ तेश्रो स्थानमा उभिएको छ।

पुरुष ईन्डिभिजुअल एक्यूरेसी तर्फ पनि नेपाली सेनाले आफ्नो उत्कृष्ट प्रदर्शन दोहोर्‍याउँदै प्रथम स्थानमानै आफूलाई उभ्याएको छ। पुरुष ईन्डिभिजुअल एक्यूरेसीमा नेपाली सेना खेलाडीहरु सागर जलारी र सागर नेपाली बिच तिब्र प्रतिष्पर्धा देखिएको छ। जलारी ८ अंकका साथ अग्रस्थानमा छन भने नेपाली ११ अंकका साथ दोश्रो स्थानमा छन्। प्रदेश नं १ का रोशन बस्नेत १९ अंकका साथ तेश्रो स्थानमा छन्।

महिला ईन्डिभिजुअल एक्यूरेसी तर्फ समेत नेपाली सेना अग्रस्थानमा रहेको छ। दुई दिनको खेल तालिकामा नेपाली सेनाकी दुर्गामाया १७७ अंकका साथ प्रथम स्थानमा उक्लिएकी छन्। त्यसै गरि गण्डकी प्रदेशकी सबिता तामाङ २८७ अंकका साथ दोश्रो र गण्डकी प्रदेशकै प्रतिभा बोगटी ३७९ अंकका साथ तेश्रो स्थानमा रहेकी छन्।

टिम एक्यूरेसी र ईन्डिभिजुअल एक्यूरेसीको दुई दिनको खेलमा ४ राउण्डका खेल सम्पन्न भएको हो। सोमबार अन्तिम एक राउण्डको खेल बाँकी रहेको इभेन्ट म्यानेजर बिमल अधिकारीले जानकारी दिए।

यता क्रसकन्ट्री तर्फ आज ३० किलोमिटरको टास्क सम्पन्न भएको छ। क्रसक्रन्ट्री तर्फ पनि नेपाली सेनाले उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ। क्रसकन्ट्री टिम इभेन्टमा ५९३३ अंकका साथ पहिलो स्थान बनाएको छ भने गण्डकी प्रदेश ५८९३ का साथ दोश्रो र प्रदेश ३ ५६९५ का साथ तेश्रो स्थानमा रहेको छ।

क्रस कन्ट्री इन्डिभिजुअल पुरुष तर्फ आजको खेलमा नेपाली सेनाका सुरज थापाले ९१३ अंक बटुलेका छन भने गण्डकीका आशिष थापाले ८६९ र नेपाली सेनाका निशिन थापाले ८१८ अंक बटुलेका छन्। हिजो र आज गरि पुरुष इन्डिभिजुअल तर्फ अंकका आधारमा ओभरअलमा नेपाल सेनाका  सुरज थापा १७४६ अंकका साथ प्रथम स्थानको नजिक देखिएका छन भने प्रदेश ३ का कृष्ण बहादुर सुनुवार १६११  अंकका साथ दोश्रो र नेपाली सेनाकै विशाल थापा १६०६ अंकका साथ तेश्रो स्थानमा रहेका छन्।  

यसै गरि महिला क्रस कन्ट्री इन्डिभिजुअल तर्फ गण्डकी प्रदेशकी त्रिशा वमजन ७७७ अंकका साथ प्रथम, प्रदेश १ की सुष्मिता सुनुवार २८८ अंकका साथ दोश्रो र नेपाली सेनाकी स्वस्तिका गुरुङ २७९ अंकका साथ तेश्रो स्थानमा छन्।

प्याराग्लाइडिङका खेलाडी तथा अफिसियलहरुलाई खेलमा उत्साह जगाउन राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले आफ्नो तर्फ बाट खाजा प्रवन्ध गरेका थिए। त्यसैगरि उनले प्याराग्लाइडिङ सिक्दै गरेका दुई यूवालाई उनीहरुको खेल बाट प्रभावित भएर नगद ५ हजार समेत प्रदान गरेका छन्।

नेपालको खेल इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगितामा समावेश भएको प्याराग्लाइडिङ खेलमा विभागिय टिम नेपाली सेना र ५ प्रदेश गरि कुल ६ टिमका ५९ जना खेलाडीले ६ वटा स्वर्ण पदकका लागि भिडिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell