PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेकपाको जिल्ला कमिटी एकता घोषणा : अध्यक्ष र सचिवमा पुरानाकै बर्चस्व, नाम राखियो गोप्य



पहिलोपोस्ट

नेकपाको जिल्ला कमिटी एकता घोषणा : अध्यक्ष र सचिवमा पुरानाकै बर्चस्व, नाम राखियो गोप्य

काठमाडौँः पार्टी एकता भएको एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला कमिटी एकताको घोषणा आज हुँदैछ। जिल्ला कमिटीका पदाधिकारी टुङ्गो लागे पनि औपचारिक रूपमा नाम सार्वजनिक गरिएको छैन। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयले बैठकले पदाधिकारी टुङ्गो लगाएको थियो।

कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर एकीकरण प्रक्रिया टुङ्गोमा पुगेको घोषणा गर्न लागिएको हो। तर, स्थानीय तह र भातृ सङ्गठनको एकीकरण प्रक्रिया अझै टुङ्गिएको छैन।

सचिवालय बैठकले ७७ वटै जिल्ला अध्यक्ष र सचिवहरुको नाम टुङ्गो लगाएको हो। ७७ जिल्लामध्ये ४५ मा पूर्व एमाले र ३२ मा पूर्व माओवादी केन्द्रले नेतृत्व पाएको बताइएको छ।

जनप्रतिनिधि भइसकेका कतिपय पूर्व अध्यक्ष दोहोरिएका छन्। धेरै जिल्लामा पूर्व अध्यक्षले नै नेतृत्व पाएको स्रोतको दाबी छ। स्रोतका अनुसार यसअघिका एमालेका ४५ जिल्लाका अध्यक्ष दोहोरिएका छन्। ती जिल्लामा माओवादीका सचिव छन्। एमालेका २५ पूर्व अध्यक्षको सचिवमा घटुवा भएको छ। एमालेले सचिव पाएको स्थानमा माओवादीले अध्यक्ष पाएको छ। 

नयाँ अनुहार कमैले मात्र प्राथमिकता पाएको स्रोतको दाबी छ। 

एमालेले अध्यक्ष पाएको स्थानमा माओवादीले सचिव र माओवादीले अध्यक्ष पाएको स्थानमा एमालेले सचिव पाएको छ। नामावली आज मध्याह्न १२ बजे प्रज्ञा भवनमा हुने विशेष कार्यक्रममा सार्वजनिक गर्ने तयारी छ।

मूल पार्टी एकता भए पनि जिल्ला कमिटी तथा भातृ संगठनहरुको एकता हुन सकेको थिएन। जिल्ला तहमा पार्टी एकीकृत नहुँदा अन्य गतिविधि समेत निश्क्रिय थिए।

नामावली टुङ्गो लगाउने विषयमा एकीकृत दुई पार्टीमध्ये कसले कति अनुपात लिने भन्नेमा विवाद थियो। यस्तै, वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि भागबन्डामा हिस्सा खोजेपछि पछिल्लो समय नाम चयन प्रक्रिया पेचिलो बनेको थियो।

विवाद बढेपछि दुई साताअघि शीर्ष नेताहरूले चन्द्रागिरिमा पुगेर छलफल चलाएका थिए। त्यसयता शीर्ष नेताहरू नामावली टुङ्गोमा पुर्‍याउन निरन्तर छलफलमा थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell