PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

श्रीलंकामा सकंटकाल घोषणा हुँदै, आक्रमणमा अन्तर्राष्ट्रिय संगठन संलग्न रहेको दाबी



श्रीलंकामा सकंटकाल घोषणा हुँदै, आक्रमणमा अन्तर्राष्ट्रिय संगठन संलग्न रहेको दाबी
फोटो: डेलीमेल एलके

कोलम्बो : श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आज मध्यरातदेखि देशभर संकटकाल घोषणा गर्ने तयारी गरिरहेको रोयटर्सले जनाएको छ।

राष्ट्रपति कार्यालयको संचार युनिटले जारी गरेको विज्ञप्तीमा आतंकवादविरुद्ध लड्न मध्यरातदेखि संकटकाल लगाउने तयारी सरकारले गरेको उल्लेख गरिएको बताइएको छ।

श्रीलंकाली सरकारका प्रवक्ताले आक्रमणमा ७ जना आत्मघाती आक्रमणकारी संलग्न रहेको बताएका छन्। उनले यस आक्रमणमा अन्तर्राष्ट्रिय संगठनहरुको संलग्नता रहेको समेत बताएका छन्।

दुई आत्मघाती आक्रमणकारी साङ्ग्रिला होटलमा विस्फोट गराएको र अरुले बाँकी स्थानमा विस्फोट गराएको बताइएको छ।

आइतवार श्रीलंकाका विभिन्न स्थानमा भएका बम विस्फोटमा परी हालसम्म २९० जनाको मृत्यु भइसकेको छ भने ५०० जनाभन्दा बढी अस्पतालमा उपचाररत रहेका छन्।  

इस्टर मनाउन जम्मा हुँदै गर्दा कोलम्बोको कोटाहेना सेन्ट एन्थोनी चर्च, बट्टीकालाओमा रहेको जिअन चर्च,  नेगोम्बाको सेन्ट एन्थोनी चर्च, र सेन्ट सेबास्टियन चर्चमा विस्फोट भएको थियो। यस्तै,  कोलम्बोको किङ्ग्सबरी होटल, साङ्ग्रिला होटल र सिनामन ग्रान्ड होटलमासमेत बिस्फोट भएको थियो।

शृङ्खलाबद्ध बम आक्रमणबाट प्रताडित श्रीलंकाको राजधानी कोलम्बोको नजिक देहीवालामा पुनः बम विस्फोट भएको थियो। 

बम विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ। तर,  उनीहरुको पहिचान भने गोप्य राखिएको छ। राष्ट्रपति सिरिसेनाले आक्रमणकोबारे अनुसन्धान गर्न सर्वोच्च अदालतका न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेका छन्।

यता अमेरिकाले भने फेरि आतंकवादी आक्रमण हुन सक्ने भन्दै एड्भाइजरी नै जारी गरेको छ। उक्त बम आक्रमणमा परी धेरै अमेरिकी नागरिकहरुको मृत्यु भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell