PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पौडीमा दोस्रो दिन पनि गौरिकालाई २ स्वर्ण, एलेक्सले तोडे शिरिषको कीर्तिमान



गोविन्दराज नेपाल

पौडीमा दोस्रो दिन पनि गौरिकालाई २ स्वर्ण, एलेक्सले तोडे शिरिषको कीर्तिमान

बाँके : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडी प्रतियोगिताको पहिलो दिन दुई स्वर्ण जितेकी ओलम्पियन गौरिका सिंहले दोस्रो पनि दुई स्वर्ण जितेकी छन्।

आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत २२औँ राष्ट्रिय पौडी प्रतियोगितामा सोमबार गौरिकाले दुई स्वर्ण थप गर्दा एनआरएनएका नाथन दोर्जे शेर्पाले पनि एक स्वर्ण थपे। गौरिकाले एक कीर्तिमानसहित दुई स्वर्ण जितेका हुन्।

यसैगरी ओलम्पियन शिरिष गुरुङको एउटा कीर्तिमान समेत ब्रेक भएको छ। आर्मीका एलेक्स शाहले पुरुष १०० मिटर फ्रिस्टायलमा शिरिषको कीर्तिमान ब्रेक गरेका हुन्।

प्रदेश पाँचमा भइरहेको आठौँ अन्तर्गत पौडीका खेलहरु नेपालगन्जस्थित होटल सिग्नेटको पौडी पोखरीमा भइरहेको छ।

ओलम्पियन गौरिकाले आफूले प्रतिस्पर्धा गरेको सबै विधामा स्वर्ण जित्ने क्रमलाई निरन्तरता दिँदै सोमबार महिला ४०० मिटर फ्रिस्टायल र महिला १०० मिटर फ्रिस्टायलमा स्वर्ण पदक जितेकी हुन्।

गौरिकाले महिला ४०० मिटर फ्रिस्टायलमा ४ मिनेंट ४४.८१ सेकेण्डको टाइमिङ निकालिन्। यस्तै आर्मीकै डुआना लामाले रजत र एपीएफकी टिसा शाक्यले कास्य जितिन्। डुआनाले ४ मिनेट ५०.४७ सेकेण्ड तथा टिसाले ५ मिनेट १२.०४ सेकेण्डमा दूरी पूरा गरिन्।

यसैगरी गौरिकाले १०० मिटर फ्रिस्टायलको दूरी ५९.६२ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमानका साथ स्वर्ण जितिन्। उनले यसमा आफ्नै कीर्तिमान सुधार गरेकी हुन्। यसअघि उनको नाममा ५९.९१ सेकेण्डको कीर्तिमान थियो। हिटमा १ मिनेट ००.६२ सेकेण्डमा दूरी पूरा गरेपनि अन्तिम चरणमा उनले कीर्तिमान बनाएकी हुन्।

यस स्पर्धामा आर्मीकै सोफिया शाहले रजत तथा एपीएफका टिसा शाक्यले कास्य जितिन्। सोफियाले १ मिनेट २.५९ सेकेण्ड तथा टिसाले १ मिनेट ३.५६ सेकेण्डको टाइमिङ निकालिन्।

महिला ५० मिटर बटरफ्लाइमा भने आर्मीकी सोफिया शाहले स्वर्ण जितिन्। उनले ३३.५० सेकेण्डमा दुरी पूरा गरिन्। यस्तै नेपाल पुलिसकी अनुसिया तण्डुकारले ३४.७५ सेकेण्डमा दुरी पूरा गर्दै रजत जितिन् भने एपीएफकी श्रीबी महर्जनले ३६.६२ सेकेण्ड टाइमिङ निकाल्दै कास्य जितिन्।
 

एलेक्स तोडे शिरिषको कीर्तिमान

सोमबारै भएको पौडीको पुरुष १०० मिटर फ्रिस्टायलमा आर्मीका एलेक्स शाहले ओलम्पियन शिरिष गुरुङको नाममा रहेको कीर्तिमान तोड्दै स्वर्ण जिते। एलेक्सले १०० मिटर फ्रिस्टायलको ५५.६३ सेकेण्डमा पूरा गरे। यसअघि यस स्पर्धामा शिरिषले ५७.०३ सेकेण्डको कीर्तिमान बनाएका थिए। एलेक्सले हिट चरणमै ५५.३८ सेकेण्डको नयाँ कीर्तिमान बनाएका थिए।

यसैगरी यस स्पर्धामा नेपाल पुलिसका शायद हम्जा शाहले रजत तथा आर्मीका अनुभव सुब्बाले कास्य जिते। शाहले ५५.९४ सेकेण्डमा र सुब्बाले ५७.३० सेकेण्डमा दुरी पूरा गरे।

 

शायह हम्जाको कीर्तिमान

यसैगरी पुरुष ५० मिटर बटरफ्लाइमा नेपाल पुलिसका शायद हम्जा शाहले नयाँ कीर्तिमान बनाएका छन्। यस स्पर्धामा यसअघि अनुभव सुब्बाको नाममा २७.७१ सेकेण्डको कीर्तिमान थियो। शायदले २७ सेकेण्डको नयाँ कीर्तिमान बनाएका हुन्।

यस स्पर्धामा अनुभवले आफ्नो टाइमिङ सुधार गर्दै २२.२२ सेकेण्डमा दुरी पूरा गरेपनि रजतमै चित्त बुझाए। एपीएफका तेन्जिङ गुरुङले २९.६२ सेकेण्डमा दुरी पूरा गर्दै कास्य जिते।

यसैगरी शुभमले २०० मिटर ब्रेस्टस्ट्रोकमा २ मिनेट ३१.४४ सेकेण्ड टाइमिङका साथ स्वर्ण जिते। नेपाल पुलिसका दिपांकर अवालेले २ मिनेट ३७.८१ सेकेण्डमा दुरी पूरा गर्दै रजत जित्दा प्रदेश १ का विकास कुमालले कास्य जिते। कुमालले २ मिनेट ३९.५६ सेकेण्डमा दुरी पूरा गरे।

 

नाथनको व्यक्तिगत तेस्रो स्वर्ण

गैर आवसिय नेपाल संघ एनआरएनएका प्रतिनिधित्व गरिरहेका नाथन दोर्जे शेर्पाले सोमबार पनि स्वर्ण जित्ने क्रमलाई निरन्तरता दिए। उनले ४०० मिटर फ्रिस्टयालमा ४ मिनेट ३३.०९ टाइमिङ निकालदै स्वर्ण जिते। उनले पहिलो दिन ८०० मिटर फ्रिस्टायलर २०० मिटर बटरफ्लाइमा पनि स्वर्ण जितेका थिए।

यस स्पर्धामा एपीएफका नाजिर हुसेनले रजत र एपीएफकै उर्गेन महर्जनले कास्य जिते।  नाजिरले ४ मिनेट ३९.४७ सेकेण्डमा दुरी पूरा गर्दा महर्जनले ५ मिनेट १.५० सेकेण्डमा दूरी तय गरे।

 

पौडीमा पहिलो दिन ८ र दोस्रो दिन ८ गरी १६ स्पर्धा सकिएको छ। अब १८ स्पर्धा बाँकी छ। मंगलवार १० र बुधबार ८ स्पर्धाको खेल हुनेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell