PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला: तीन अर्ब जुटाउन दशथरी सहयोग समिति



चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला: तीन अर्ब जुटाउन दशथरी सहयोग समिति

  • सूर्यप्रकाश कँडेल -

चितवन : ‘छाक मारेर हैन गाँस काटेर, घर बिगारेर हैन फजुल खर्च रोकेर, अभाव बोकेर हैन प्रभाव बुझेर मुठी, मानो, मुरी, रुपैयाँ, सय, हजार, लाख, करोड आआफ्नो क्षमता अनुसार सहयोग गरिदिनु हुन हामी हार्दिक अनुरोध गर्दछौँ।’ 

भरतपुर महानगरपालिका वडा नम्बर १५ मा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनले आफ्नो फेसबुक पेजमा आइतबार साँझ पोस्ट हो यो स्ट्याटस। आइतबार नै भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले भने, ‘भोजभतेरका लाखौं रुपैयाँ खर्च गर्नुभन्दा त्यसको केही रकम रंगशाला निर्माणमा सहयोग गर्न आह्वान गर्दछु।’ 

रंगशाला निर्माणका लागि तीन अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। अहिलेसम्म ६ करोड रुपैयाँमात्र संकलन भएको छ। आगामी भदौ महिनामा शिलन्यास गर्ने र त्यसको दुई वर्षभित्र निर्माण कार्य सक्ने फाउन्डेसनको योजना छ। तर, त्यसका लागि आवश्यक सहयोग रकम भने जुटिरहेको छैन। सजिलै सहयोग रकम नजुट्ने देखेपछि फाउन्डेसनले दशथरी सहयोग समिति बनाएर जनस्तरबाट रकम संकलन गर्ने योजना बनाएको छ।

सबै जिल्लामा समिति निर्माण गरी रंगशालाको अपनत्व लिने गरी आर्थिक सहयोग अभियानलाई तिब्रता दिइने कट्टेल बताउँछन्। उनका अनुसार सबै जिल्लामा सहयोग संकलन समिति, नगर, गाउँ, वडा, टोल, संघ, संस्था, क्लब, स्कुल, कलेजका नाममा गठन हुनेछन्। जनस्तरबाट रंगशाला निर्माण अभियानका लागि भनेर समितिको अगाडि लेखिने फाउन्डेसनले जनाएको छ।

तीन महिनामा छ करोड उठ्यो, तीन अर्ब उठ्ने कहिले?
गत वर्ष माघ १६ गते काठमाडौंमा भव्य कार्यक्रमको आयोजना गरी फाउन्डेसनले क्रिकेट रंगशाला भरतपुर महानगरपालिकामा निर्माण गर्ने घोषणा गर्‍यो। घोषणा कार्यक्रममा विभिन्न क्षेत्रबाट पाँच करोड रुपैयाँ हाराहारी रकम बोलियो। चार दिनपछि माघ २० गते चितवनमा धुर्मुस र सुन्तली आएर डीपीआर शुभारम्भ घोषणासभा नै गरे। चितवनवासीले धुर्मुस र सुन्तलीको भव्य स्वागत त गरे, तर आर्थिक सहयोग गर्न सकेनन्। 

फाउन्डेसनले जनाएअनुसार रंगशाला निर्माणका लागि अहिलेसम्म छ करोड रुपैयाँ संकलन भएको छ। थप आर्थिक संकलनका लागि वैसाख १३ गते फाउन्डेसनको टोली दुबई जाँदैछ। त्यसलगत्तै जापान, अष्ट्रेलिया, युरोप र अमेरिका जाने कार्यक्रम छ। यसबीचमा फाउन्डेसनले रंगशाला निर्माणस्थललाई टिनले बार्ने काम सकेको छ। आवश्यक कार्यालय, कर्मचारी आवास गृह, गोदाम घर, सुरक्षाकर्मी घर लगायतका आवश्यक संरचना निर्माण भइसकेको छ। यी काममा हालसम्म करिब ८० लाख रुपैयाँ खर्च भएको कट्टेलले बताए।

अब दुई अर्ब ९४ करोड रुपैयाँ उठाउन बाँकी नै छ। दुई वर्ष तीन महिना समय बाँकी छ लक्ष्यको। तर, रंगशाला निर्माणका लागि आवश्यक रकम उठ्न सजिलो भने छैन। ७७ जिल्लामा सहयोग समिति बनाएर विभिन्न संघसंस्था, व्यक्ति र निकाय परिचालन भए पनि हरेक जिल्लाबाट औशतमा चार करोड रुपैयाँ संकलन गर्नुपर्ने देखिन्छ। यो काम त्यति सहज छैन।

थपिएला त नयाँ पहिचान ?
देशको मध्यभागमा पर्ने चितवनको पुरानो पहिचान भनेको राष्ट्रिय निकुञ्ज हो। निकुञ्ज वरपर बसोबास गर्ने आदिवासी जनजाति र उनीहरुको संस्कृति पनि चितवनको पहिचान हो। नेपालका ७७ वटै जिल्लाका मानिस बसोबास गर्ने भएकाले चितवनलाई ७८औं जिल्लाको उपनाम पनि दिइएको छ। पहिचानहरुको यिनै लर्कोमा चितवनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भएको जिल्ला भन्ने पहिचान निकट भविष्यमै थप्ला त? चितवनवासी आशावादी नै छन्।

चितवनको करीब आधा जनसंख्या बसोबास गर्ने भरतपुर महानगरपालिकाको पहिचान पनि चितवनको पछिल्लो पहिचानसँग जोडिने भएको छ। भरतपुर महानगरको वडा नम्बर १५ रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरमा रहेको २० बिघा ८ कठ्ठा क्षेत्रफलमा फाउन्डेसनले रंगशाला निर्माणको जमर्को गरेको छ। रंगशालाका लागि फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर समेत भइसकेको छ। 

फाउन्डेसनका अनुसार रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ। क्रिकेट रंगशाला वरपर अन्य खेलका मैदान समेत हुनेछ। समग्रमा खेलकुद प्रतिष्ठान (स्पोर्टस् एकेडेमी) नै बनाउने लक्ष्य लिइएको छ। 

विगतको दौडधुप
धुर्मुस सुन्तली फाउन्डेसनले पहारी बस्ती काभ्रे, गिरानचौर बस्ती सिन्धुपाल्चोक, मुसहर बस्ती महोत्तरी र सन्तपुर बस्ती रौतहट निर्माण सम्पन्न गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेको हो। क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरे पनि कहिले र कहाँ निर्माण गर्ने भन्ने टुङ्गो लागेको थिएन। रंगशाला चितवनको भरतपुर महानगरमा बन्ने भएको छ।

फाउन्डेसनको टोली क्रिकेट रंगशाला बनाउने ठाउँको खोजी गर्न देश दौडाहामा निस्कियो। फाउन्डेसनको टोलीले काठमाडौंको गोदावारी, रुपन्देहीको सैनामैना, भरतपुरको प्रस्तावित रंगशाला, हेटौंडा लगायतका ठाउँमा अवलोकन गरेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले रंगशालालाई मान्यता दिनुपर्ने भएकाले पूर्वाधारको दृष्टिकोणले यी ठाउँमध्ये एउटा छनौट गर्नुपर्ने बाध्यता थियो। अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने ठाउँमा विमानस्थलको सुविधा, बास बस्नका लागि ठूला होटल, सुरक्षा, हावापानी लगायतका कुरामा ध्यान दिनुपर्ने थियो।

फाउन्डेसनले चितवनमा रंगशाला बनाउन सकारात्मक त देखियो तर भरतपुर वडा नं. २० को रंगशाला बनाउने जग्गाको लम्बाई मिले पनि चौडाई पुगेन। भरतपुर महानगरपालिका र कृषि तथा वन विज्ञान विश्वविद्यालयको २०७५ साल भदौ २६ गतेको बैठकले फाउन्डेसनलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो। 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा रंगशालाको लागि जग्गा सट्टाभर्नामा जग्गा खोज्न सुरु गर्‍यो। महानगरपालिकाले त्रिविको नाममा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्वामित्वमा रही भोगचलन गर्दै आएको जग्गामा रंगशाला निर्माण गर्ने जग्गा सट्टाभर्नाको प्रस्ताव गर्‍यो। कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको जग्गा त्रिभुवन विश्वविद्यालयले हक हस्तान्तरण गरेको थिएन। त्रिविले भरतपुर महानगरपालिकालाई उक्त जग्गा दिएमात्र क्रिकेट रंगशालाका लागि जग्गा उपलब्ध हुन्थ्यो।

त्रिपक्षीय सम्झौता
निरन्तर छलफलपछि रंगशाला निर्माणका लागि २० बिघा ६ कठ्ठा जग्गा उपलब्ध गराउने गरी भरतपुर महानगर, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीच २०७५ असोज १९ गतेका दिन त्रिपक्षीय सम्झौता भयो। उक्त सम्झौतामा रंगशाला निर्माणको लागि जग्गा, लगानी र स्रोतको खोजी भरतपुर महानगरपालिकाले गर्नुपर्ने उल्लेख छ। अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणको नेतृत्व भरतपुर महानगरपालिकाले लिई स्वदेशी, विदेशी, सरकारी तथा गैरसरकारी, निजी क्षेत्रसँग सहयोगका लागि पहल गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला शीलन्यास भएको मितिले दुई वर्षभित्र तयार गरी भरतपुर महानगरपालिकालाई फाउन्डेसनले हस्तान्तरण गर्ने सहमति भएको छ। 

घोषणाको बेला कसले के भनेका थिए?
प्रधानमन्त्री ओली :
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले नेपाल विश्वमै चिनिने बताएका थिए। ‘धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला बनाउने आँट गर्‍यो, आँट गरेर महानगरसँग सम्झौता गर्‍यो, परिकल्पना प्रदर्शन गर्‍यो,’ ओलीले भनेका थिए, ‘रंगशाला निर्माणको लागि चार करोड उठ्यो होला, २ सय ९६ करोड बाँकी छ, सहयोगी भूमिका खेल्न सरकार तयार छ।’

पूर्व प्रधानमन्त्री प्रचण्ड : पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वमा नेपाललाई चिनाउने नयाँ आयामको थालनी भएको बताएका थिए। ‘विश्वमा नेपाललाई चिनाउने नयाँ आयामको थालनी भएको छ,’ प्रचण्डले भनेका थिए, ‘अब नेपालको चिनारी विश्वमा नयाँ ढंगले हुँदैछ। यसमा हातेमालो गर्ने संकल्प गरौं। देश बनाउन ढिलो हुँदैन। ऐतिहासिक काम भएको छ।’

मदनकृष्ण श्रेष्ठ : ‘एकएक हिसाब क्लियर गर्नु। दिन सधैं एकनास हुँदैन। एक पैसा तलमाथि भयो भने सबै चकनाचुर हुन्छ। इमानदारीपूर्वक काम गर्नुपर्छ।’

सिताराम कट्टेल : ‘म पापको खोल ओढेर धर्ती छोड्न चाहन्न। मलाई कुनै लोभ छैन। रकम दुरुपयोग गर्ने मनसाय फिटिक्कै छैन। त्यसका लागि फाउन्डेसन खोलेको पनि होइन। सबै नेपालीले देशको जिम्मेवार नागरिकका हिसाबले सहयोग गर्नुहोस्। यो पवित्र काम र महान अभियानमा सहभागी बन्नुहोस्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell