PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

राजपाको बैठकमा ‘पार्टी बर्बाद गर्ने तपाईहरु नै हो, अध्यक्ष मण्डल आजै समाप्त गरौं’ भनेपछि तालीको गड्गडाहट



बीपी साह

राजपाको बैठकमा ‘पार्टी बर्बाद गर्ने तपाईहरु नै हो, अध्यक्ष मण्डल आजै समाप्त गरौं’ भनेपछि तालीको गड्गडाहट

काठमाडौं:  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी बैठक आज तेस्रो दिन पनि जारी छ।

हिजोसम्म अध्यक्ष मण्डलका सदस्यहरुले बालेका थिए। जस क्रममा केही अध्यक्षहरुले अध्यक्ष मण्डलबाट आफूहरु असन्तुष्ट रहेको जिकिर गरेका थिए।

तर, आज बोल्ने वरिष्ठ नेताहरुले पनि अध्यक्ष मण्डलको चर्को आलोचना गरेका छन्। उनीहरुले अध्यक्ष मण्डल नै विघटन गर्नु पर्ने बताएका छन्।

आज बोल्ने वरिष्ठ नेता एवं राजपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले अध्यक्ष मण्डलकै कारण पार्टी एकीकरण हुन नसकेको बताए।

‘हिजो सबैले भने अध्यक्ष मण्डल चल्दैन। त्यसो भए अध्यक्ष मण्डल आजै समाप्त गरौं।’ कर्णले यति भनेपछि बैठकमा सहभागी पदाधिकारीहरुले ताली बजाए।

आफूले बोली रहँदा ताली बजेपछि कर्णले किन ताली बजाएको भनेर प्रश्न गरे। त्यसपछि महासचिव मनिष सुमनले फ्लोरबाट भने,‘तपाईको विचार सबैलाई राम्रो लाग्यो त्यही भएर ताली आफै बज्यो।’

त्यसपछि कर्णले अध्यक्ष मण्डलप्रति आक्रमक हुँदै भने ‘पार्टीमा जे भएको छ सबैको जिम्मेवार अध्यक्ष मण्डल नै हो। पार्टी बर्बाद गर्ने तपाईहरु नै हो।’

कर्णले आफ्नो मन्तव्यको सुरुमा पार्टी कहाँ छ भनेर प्रश्न गरेका थिए।

‘माथि (अध्यक्ष मण्डल)मा ६ जना र तल ६ जना मात्र छन् पार्टीमा। यसरी एकता कसरी हुन्छ?’ कर्णले भने,‘कसैले कसैलाई कुट्यो भने सोधखोज गर्ने कोही छैन।’

मधेशी जनताले एक पटक विश्वास गरेर जिताएको बताउँदै कर्णले अब पार्टी सशक्त भएर नगए हार व्यहोर्नु पर्ने दाबी गरे।

पार्टीभित्र अहिले पनि ६ वटा पार्टी रहेको जिकिर गर्दै कर्णले सबभन्दा पहिले पार्टी एकीकरण हुनु पर्ने माग गरे। उनले सबभन्दा पहिले अधिवेशन गर्नु पर्ने तर्क गरे।

अधिवेशन भए पार्टी क्यापचर हुने भन्दै केही नेताहरुले हिजो भनेका थिए। त्यसप्रति लक्षित गर्दै कर्णले भने,‘कस्ले पार्टी क्यापचर गर्छ। क्याप्चर गरेर को–को बस्छ? हामी पनि हेरौंला। क्यापचरको डरले पार्टीको महाधिवेशन नगर्ने?’

डा.सीके राउतको जनमत पार्टीप्रति लक्षित गर्दै कर्णले भने,‘मधेशमा अर्को शक्ति आउँदैछ। उसले मधेशको मुद्दा छोडेको छैन। तर केपी ओलीले जुँगामा ताउ फेरेको छ।’

पार्टीले रेशम चौधरीको मुद्दालाई सशक्त रुपमा उठाउनु पर्ने कर्णले धारणा राखे।

यसैगरी अर्का वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लले पार्टीको विधानमा फरक परेको भन्दै आक्रोश पोखे।

पार्टी कार्यालयमा रहेको विधान र निर्वाचन आयोगमा भएको विधान फरक परेको सुक्लाले बताए। उनले पार्टीको विधान र सिद्धान्तमाथि ठूलो छलफल हुनु पर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell