PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेकी गौरिका भन्छिन्, सागमा गोल्ड मेडल जित्ने लक्ष्य छ



गोविन्दराज नेपाल

आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेकी गौरिका भन्छिन्, सागमा गोल्ड मेडल जित्ने लक्ष्य छ

नेपालगन्ज : पौडिबाज गौरिका सिंहले प्रदेश ५ मा बुधवार सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा सबैधन्दा धेरै स्वर्ण जितिन्।

विभागीय टोली त्रिभुवन आर्मीबाट प्रतिस्पर्धा गरेकी गौरिकाले आफूले प्रतिस्पर्धा गरेकी उनले १० व्यक्तिगत र दुई टिम इभेन्ट गरी १२ इभेन्टमा स्वर्ण जितेकी हुन्।

अर्को संयोग के भने उनले बृहत राष्ट्रिय खेलकुदमा एकै खेलाडीले एउटै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने पौडीकै करिष्मा कार्कीको कीर्तिमान बराबरी गरिन्। काठमाडौँमा भएको पाँचौँ राष्ट्रिय खेलकुदमा पौडिकी कार्कीले सर्वाधिक १२ स्वर्ण जित्दै कीर्तिमान बनाएकी थिइन्।

गौरिकाले उक्त कीर्तिमान बराबरी गरेपनि व्यक्तिगत स्पर्धामा जितेको स्वर्णमा भने करिष्मा भन्दा पछि छिन्। पौडी प्रशिक्षक शंकर कार्कीका अनुसार करिष्माले ११ स्वर्ण व्यक्तिगत स्पर्धा र १ स्वर्ण मात्र टिम स्पर्धामा जितेकी थिइन्। तर समग्रमा भने गौरिकाले करिष्मा जतिनै १२ स्वर्ण जितिन्।

तर गौरिकाले जितेको सबै स्वर्ण सर्ट कोर्समा जितेकी हुन्। प्रदेश ५ को बाँके जिल्लाको नेपालगन्ज रंगशाला नजिकै आठौँका लागि निर्माण गरिएको पौडी पोखरी तोकिएको समयमा तयार नभएपछि राष्ट्रिय खेलुकद परिषद्ले अन्तिम समयमा आएर सिग्नेट होटलको स्विमिङ पुलमा पौडी प्रतियोगिता आयोजना गरेको हो। यो सर्ट कोर्स २५ मिटरको मात्र हुन्छ। लङ कोर्स ५० मिटरको हुन्छ। सर्ट कोर्समा बनेको कीर्तिमान र टाइमिङले पनि लङ कोर्सलाई कुनै प्रभाव पार्ने छैन। दुवै कोर्सको छुट्टा-छुट्टै कीर्तिमान गणना हुने गर्छ।

गौरिकाले पनि यसपटक जितेकी सबै स्वर्ण र बनाएकी कीर्तिमान सर्ट कोर्समै गणना हुन्छ।

बुधवार पौडी प्रतियोगिताको अन्तिम दिन गौरिकाले तीन कीर्तिमानसहित ४ स्वर्ण जित्दै आफ्नो स्वर्ण संख्या १२ पुर्‍याएकी हुन्।

 

सागमा स्वर्ण जित्ने लक्ष्य

नेपालगन्जको गर्मीमा सबै स्वर्ण पटक एकै पटक गलामा लगाउँदा निकै खुशी देखिएकी गौरिकालाई यो पदकको भारले थप जिम्मेवारी बढाएको छ।

नेपालमै आगामी डिसेम्वरमा हुने साफको लागि यो आठौँ खेलकुद छनोटको रुपमा रहेको छ। अब गौरिकाले पनि उक्त सागमा नेपालको लागि स्वर्ण पदक जित्ने लक्ष्य बनाएकी छिन्।

आठौँमा सात कीर्तिमानसहित १२ स्वर्ण जितेपछि गौरिकाले उक्त लक्ष्य राखेको बताइन्। 'नेपालमा अब डिसेम्वरमा साग हुन लागेको छ। मेरो लक्ष्य त्यसमा गोल्ड मेडल जित्ने हो।'

रियो ओलम्पिक २०१६ मा सबैभन्दा कान्छी खेलाडी बनेर चर्चित भएकी गौरिकाले नेपालको नाम समेत चिनाएकी थिइन्। उनले अब यो विषय विगत भइसकेको बताइन्। 'इट वाज इन द पास्ट एण्ड आइ एम भेरी ग्रेटफुल। अब हामीले नयाँ तरिकाले सोचेर अगाडि बढ्नुपर्छ।'

गौरिकाले सन् २०१६ मा भारतमा भएको सागमा एक रजत र तीन कास्य पदक जितेकी थिइन्। उनले जितेको रजत नेपाली पौडी खेलाडीले सागमा जितेको सबैभन्दा ठूलो पदक समेत हो।

अब गौरिका त्यो भन्दा पनि ठूलो स्वर्ण पदक जित्न चाहन्छिन्।

उनले सफलता पाउनको लागि कठा मेहेनत नै मुख्य सुत्र भएको बताइन्। 'नथिङ कम्स इजिली। कठा मिहेनत गर्नैपर्छ।' गौरिकाले आफूले एक सातामा १६ घण्टासम्म पौडीको प्रशिक्षण गर्ने बताइन्।

उनले आफ्नो फ्यानहरुको मायाबाट एकदमै खुशी रहेको बताउँदै आफूलाई सँधै सपोर्ट गर्न आग्रह गरिन्।

 

गोल्डेन छवि, हरेक दिन कीर्तिमान अनी स्वर्ण

बृहत राष्ट्रिय खेलकुदको एकै संस्करणमा सहभागिता जनाएको सबै इभेन्टमा स्वर्ण जित्दै गौरिकाले गोल्डेन छवि कायम गरेकी छिन्। आफ्नो बुबा-आमासँग बेलायतमा बस्दै आएकी गौरिकाले प्रत्येक दिन नयाँ कीर्तिमानसहित स्वर्ण जित्दै गइन्। उनले कूल ६ कीर्तिमान बनाइन्।

पहिलो र दोस्रो दिन २-२ स्वर्ण जितेकी गौरिकाले तेस्रो र चौथो दिन ४-४ स्वर्ण थपेकी हुन्।

गौरिकाले अन्तिम दिन २०० मिटर इन्डिभिजुएल मिड्ने, ५० मिटर फ्रिस्टायल, १०० मिटर ब्याकस्ट्रोक र चार गुणा १०० मिटर फ्रिस्टायल रिलेमा स्वर्ण थपेकी हुन्।

उनले बुधवार प्रतिस्पर्धा गरेको तीनवटै व्यक्तिगत स्पर्धामा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै हिट चरणमै नयाँ कीर्तिमान समेत बनाएकी थिइन्।

गौरिकाले पहिलो दिन ८०० मिटर फ्रिस्टायल र ५० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन्। ५० मिटर ब्याकस्ट्रोकमा उनले आफ्नै कीर्तिमान सुधार गरेकी हुन्।

यस्तै दोस्रो दिन पनि २ स्वर्ण जितेकी गौरिकाले ४०० मिटर फ्रिस्टायल र १०० मिटर फ्रिस्टायलमा स्वर्ण थपेकी हुन्। दोस्रो दिन पनि उनले एक कीर्तिमान बनाइन्।

तेस्रो दिन पनि उनले एक कीर्तिमानसहित ४ स्वर्ण जितिन्। १०० मिटर बटरफ्लाई, २०० मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रिस्टायलमा स्वर्ण जितेकी गौरिकाले ४ गुणा १०० मिड्ले रिले टिम इभेन्टमा स्वर्ण जितेकी हुन्।

 

आठौंमा गौरिकाले स्वर्ण जितेको इभेन्ट र टाइमिङ

८०० मिटर फ्रिस्टायल : ९ मिनेट ३९.२२ सेकेण्ड

५० मिटर ब्याकस्ट्रोक : ३०.८५ सेकेण्ड (कीर्तिमान)

४०० मिटर फ्रिस्टायल : ४ मिनेट ४४.८१ सेकेण्ड

१०० मिटर फ्रिस्टायल : ५९.६२ सेकेण्ड (कीर्तिमान)

२०० मिटर ब्याकस्ट्रोक : २ मिनेट ४१.२५ सेकेण्ड

२०० मिटर फ्रिस्टायल : २ मिनेट ०९.१९ सेकेण्ड

१०० मिटर बटरफ्लाई : १ मिनेट ०७.९७ सेकेण्ड (कीर्तिमान)

४ गुणा १०० मिटर मिड्ले रिले : ४ मिनेट ५१.८९ सेकेण्ड (गौरिका, सोफिया शाह,उपस्थि महर्जन, डुआना लामा)

२०० मिटर इन्डिभिजुएल मिड्ले रिले : २ मिनेट ३२ सेकेण्ड (कीर्तिमान)

५० मिटर फ्रिस्टायल : २७.५९ सेकेण्ड (कीर्तिमान)

१०० मिटर ब्याकस्ट्रोक : १ मिनेट ०७.२२ सेकेण्ड (कीर्तिमान)

४ गुणा १०० मिटर फ्रिस्टायल रिले : ४ मिनेट २१.४१ सेकेण्ड (गौरिका, सोफिया शाह,उपस्थि महर्जन, डुआना लामा)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell