PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कसरी भयो रीनाको मृत्यु? रहस्यमा जेलिएको पथरी प्रकरण



सविन ढकाल

कसरी भयो रीनाको मृत्यु? रहस्यमा जेलिएको पथरी प्रकरण

एक हप्तादेखि सामाजिक सञ्जालमा रीना बस्नेतको नाम चर्चामा छ। यो साता युट्युबको नेपाल ट्रेन्डिङमा १२ वटा भिडियो यसैसँग सम्बन्धित छ जुन लाखौँ पटक हेरिएका छन्। 

प्रहरीले अनुसन्धानमा लापरवाही गरेको आरोपमा स्थानीय बासिन्दाले गरेको आन्दोलन र त्यसलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास चलाउनु पर्ने अवस्थामा पुगेपछि घटना थप गम्भीर हुन्छ। 

यो प्रकरणमा आखिर भएको के हो? अहिलेसम्म प्राप्त जानकारी यस्तो छ-

•    वैशाख ७ गते शनिबार बिहान मोरङको पथरीस्थित सडकमा एक महिलाको नग्न शव घर अगाडिको सडकमा भेटिन्छ। 

•    शव एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसकी सञ्चालिका २९ वर्षीया रीना खड्का बस्नेतको भनी सनाखत हुन्छ। 

•    रीना आफ्नो छोरासँगै डेरामा बसेकी हुन्छिन्। उनका श्रीमान् दुबईमा वैदेशिक रोजगारीका लागि गएका हुन्छन् तर प्रेम सम्बन्ध अर्कै विवाहित केटासँग हुन्छ। 

•    शुक्रबार राति छोरासहित बर्थ डे पार्टीमा गएर फर्किएकी उनले कोठामा छोरा किनेर ल्याएको बियर खाएकी हुन्छिन्। 

•    पार्टीपछि उनी कन्सर्टमा गएकी हुन्छिन्।  कन्सर्टबाट फर्किएर छोरासँगै कोठा पुगेकी रीनाको शव भोलिपल्ट बिहान भेटिन्छ। 

टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको नग्न अवस्थामा शव  स्थानीयवासीले सडकमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेका प्रहरीले सुरुमा घरको बार्दलीबाट खसेर मृत्यु भएको हुनसक्ने बताउँछन्। प्रहरीको यो भनाईले स्थानीयबासी आक्रोशित बन्छन्।

घटनामा स्थानीय बासिन्दाले व्यक्त गरेका केही शंका यस्ता छन्-

•    बलात्कारपछि हत्या भएको हुनुपर्छ ! (कारण : नग्न अवस्थामा शव भेटिएको छ)

•    बार्दलीबाट खसेको भए किन धेरै चोट लागेन? (कारण : अनुहार र छातीमा मात्र चोट देखिएको छ। एउटा युट्युब भिडियोमा त जेठाजुले ७५ किलोको शरीर तीन तलाबाट झर्दा किन क्षतविक्षत नभएको भन्ने प्रश्न गरेका छन्।)

•    कसैले मारेर लाश त्यहाँ फ्याँकेको हो कि !

•    सिसिटिभी फुटेजमा चार जनाले रीनाको शव ठेलामा हालेर ल्याएको देखिएको छ। (युट्युब भिडियो र केही अनलाइनहरुमा न्युजमा यस्तै समाचार आएका छन्।)


***

घर र शव भेटिएको ठाउँ। फोटो साभार : खबरनेपाली डट कम

पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ को एउटा तीन तले घरमा आफ्नो छोरासँग डेरामा बस्थिन् रीना।  सोही वडाको त्रिवेणीचोक साझा लाइनमा एउटा पसल छ- रीना त्यही पसलकी सञ्चालक थिइन्।

श्रीमान् सन्तोषको नामबाट एस, आफ्नो नामबाट आर र छोरा साइमनको नामबाट एस गरी पसलको नाम जुराइएको थियो- एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउस।

पसलको नाममा मात्र बाबु, आमा र छोरासँगै थिए। वैदेशिक रोजगारीको सिलसिलामा बाबु सन्तोष एक वर्षदेखि दुबईमा थिए। 

***

'सुत्नु पर्दैन, रातिको १२ बजेसम्म?' 

'बाबाले फोन गरेर भन्नुभएको थियो। मोबाइल चार्जमा हालेर म सुत्दा राति साढे १२ बजेको थियो। त्यसपछि मैले केही पनि थाहा पाइनँ,' एउटा युट्युब भिडियोमा रीनाका १३ वर्षीय छोरा साइमनले भनेका छन्। 

साइमनका बाबा वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा थिए। राति दुबईबाटै मम्मीसँग बाबाको  फोनमा कुरा भएको सुनेका साइमनलाई मम्मीको त्यो आवाज नै अन्तिम होला भन्ने लागेको थिएन।

भोलिपल्ट कोठाअगाडिको रोडमा मानिसको भिड जम्मा भइसक्दासम्म साइमनलाई केही थाहै हुन्न। छिमेकीले कोठामा पुगेर उठ भनेपछि पो बल्ल थाहा हुन्छ- राति सँगै सुतेकी मम्मीको हालत।

अहिले रीनाको यही रहस्यमय मृत्यु  प्रहरीको टाउको दुखाइको विषय बनेको छ।

स्थानीयवासीले सडकमा शव देखेपछि प्रहरीलाई खबर गर्छन्। पथरी शनिश्चरेस्थित इलाका प्रहरी कार्यालय निरीक्षक कमल बजगाँइको टोलीले घटनास्थलमा पुगेर लाशको मुचुल्का गर्छ। 

'शरीर नग्न,टाउको र छातिमा चोट लागेको अवस्थामा थियो,' जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले भने।

घटनास्थलमा पुगेका प्रहरीले सुरुमा घरको बार्दलीबाट खसेर मृत्यु भएको हुनसक्ने बताए। प्रहरीको यो भनाईले स्थानीयबासी आक्रोशित बने। प्रहरीको अनुसन्धान फितलो भएको आरोप लाग्यो। 

उद्योग वाणिज्य संघ पथरीकी पूर्व वरिष्ठ उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन भयो। 

वैशाख १० गते आन्दोलित समूहले पथरी शनिश्चरेस्थित इलाका प्रहरी कार्यालयमा ढुङ्गा प्रहार गरेर प्रवेशद्वार तोडफोड गर्न खोजेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गर्नुपर्‍यो। 

रीनाको रहस्यमय मृत्यु हत्या, आत्महत्या कि भवितव्य (दुर्घटना)? यो प्रश्नको जवाफ खोजीमा रूमल्लिएको छ घटना।

'घटनास्थल हेर्दा मृत्यु अलिकति अप्राकृतिक छ। नाङ्गो शरीरमा चोटपटक पनि धेरै छैन। बार्दलीबाट खसेको भए ठीक मुनितिर हुनुपर्नेमा अलि टाढा जस्तो पनि देखिएको छ', पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले पहिलोपोस्टलाई भने।

राति बियर पिएकी उनको बार्दलीबाट खसेर मृत्यु भयो त? त्यसो हो भने नग्न अवस्थामा कसरी पुगिन्? घरबाट खस्दा किन सामान्य चोट मात्र? यी अनुत्तरित प्रश्नमा थपिन्छ रीनाको मोबाइलमा मृत्यु अघि आएका फोनको प्रसंग। 

रीनाको मोबाइलमा लगातार आएको फोन

शुक्रबार साँझ उनी छोरासहित एउटा बर्थडे पार्टीमा गएकी थिइन्।

'७ बजेतिर पार्टीमा गएका थियौं। मम्मीको मोबाइलमा फोन आएको आएकै थियो। काटेको काटै हुनुहुन्थ्यो’, छोरा साइमनले युट्युब अन्तर्वार्तामा भनेका छन्।

केही पिस मासु खाएर त्यहाँबाट राति करिब ९ बजेदेखि १० बजे स्थानीय रङ्गशालामा सञ्चालन भएको साङ्गीतिक कार्यक्रम गएको, त्यहाँ पनि फोन आएको, केही घन्टा कन्सर्ट हेरेर कोठा फर्किएको र फर्किँदा रातिको ११ बजेर ६ मिनेट गएको छोरा साइमनले खुलाएका छन्।

को थिए पटक-पटक रीनाको मोबाइलमा फोन गर्ने?

'त्यो नम्बरबाट जहिले पनि फोन आउँछ। मम्मी भिडियो कल गर्नुहुन्थ्यो। मैले थाहा पाउँछु भनेर मोबाइलमा लक गर्नु भएको थियो। फोन आएको आयै थियो,' छोरा साइमनले भनेका छन्।

छोराको भनाई र रीनाको मोबाइलमा भएको कुराको आधारमा प्रहरीले ती शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 
बस्नेतको रहस्यमय मृत्युको अनुसन्धानका क्रममा सुन्दरहरैंचा नगरपालिका–३ बस्ने ३८ वर्षीय कमल नेपाललाई नियन्त्रणमा लिएको एसपी केसी जानकारी दिए।

'पटक-पटक फोनमा सम्पर्क भएकाले अनुसन्धानमा लिएका छौं। उनले चिनजान भएको स्वीकार गरेका छन्। थप अनुसन्धान गर्दैछौँ,' एसपी केसीले भने।

अनुसन्धानका क्रममा कमल र रीना दुवै विवाहित भए पनि ‘सम्बन्ध’ मा रहेको देखिएको छ।  

शुक्रबार मध्यरातसम्म अरु कुनै पनि शंकास्पद व्यक्तिसँग भेट नभएको छोराले प्रहरीलाई जानकारी दिएका छन्। कमलसँग पनि भेट नभएको उनले बताएको अनुसन्धानमा संलग्न एक प्रहरी बताउँछन्।

प्रहरीले कमलले झुट बोलेका त छैनन् भनेर पोलिग्राफ टेस्ट (झुट बोलेको पत्ता लगाउने) गर्ने तयारीसमेत गरेको छ। 

के देखियो पोस्टमार्टम रिपोर्टमा?

धेरैले रीनाको बलात्कारपछि हत्या भएको हुनसक्ने अनुमान गरेका छन्। तर धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या नखुलेको एसपी केसीले बताए। 

'पोष्टमार्टम रिपोर्ट आइसकेको छ। रिपोर्टमा बलात्कारपछि हत्या भएको देखिएको छैन,' एसपी केसीले भने।

पोष्टमार्टम रिपोर्टमा रीनाको मृत्यु चोटपटकको कारण भएको देखिएको छ। 

प्रहरीले मदिरा सेवन गरेकाले बार्दलीबाट खसेको हुनसक्ने शंका पनि गरेको छ। शुक्रबार राति रीनाले आधा बोतल बियर खाएको कुरा छोरा साइमनले बताएका छन्। तर प्रश्नहरु कायमै छन्- 

-आधा बोतलमा नै होस गुमाएर बार्दलीबाट लडिन् त? 
- के छोरा सुतेपछि थप मादक पदार्थ खाइन्? 
- बार्दलीबाट खसेर लड्न सक्ने अवस्था थियो? 

त्यस्तै कसैले हत्या गरेको भए नग्न अवस्थामा किन शव फ्याँक्नु पर्थ्यो? कतै हत्या गरेको भए शव उनकै डेरा अगाडि फ्याँक्ने जोखिम कसैले किन उठाउँथ्यो? कसैले बार्दलीबाट धकेलेर खसाली हत्या गर्ने सम्भावना कतिको छ?

टाउको र छातीमा लागेको चोटको कारणले मृत्यु भएको पोस्टमार्टम प्रतिवेदनमा देखिएको एसपी केसी बताउँछन्, 'चोटको कारणले देखिएको छ। तर कसैले बार्दलीबाट फालेको हो वा दुर्घटना हो, अथवा कतै अरु पनि कारण छन् कि त्यो हामी सूक्ष्म अनुसन्धान गर्दैछौं।'

रीनाका परिवारले शवको अन्त्येष्टि बिहीबारसम्म गरेका थिएनन्। रीनाका श्रीमान पनि दुबईबाट नेपाल फर्किसकेका छन्।

के थियो सिसिटिभी फुटेजमा ?

'पथरीमा रीनाको मृत्यु काण्डःसिसिटिभीमा रिक्सामा लाश लगेको देखियो! 

बिहीबार दिउँसो यस्तै शीर्षकमा केही अनलाइनमा समाचार आए। युट्युबमा समेत सिसिटिभीको फुटेज भाइरल भयो।  रिक्सामा चार जनाले रीनाको लाश लगेको दावीसमेत गर्दै समाचार लेखिए। तर दावी भए जस्तो सिसिटिभी फुटेजमा न चार जना मान्छे देखिएका छन्, न रिक्सामा लाश नै भेटिएको छ।

रिक्सा चालकको घटनासँग कुनै पनि सम्बन्ध नभएको प्रहरीको दावी छ। 

'हामीले फुटेजमा देखिएका व्यक्तिको अनुसन्धान गरेका छौं। उनी एक मजदुर हुन्। घटनामा कुनै पनि सम्बन्ध छैन,' एसपी केसीले भने।
सिसिटिभी क्यामरामा देखिएका व्यक्तिले तरकारीको कारोबार गर्ने सिलसिलामा तरकारी लगेको अनुसन्धानमा खुलेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार प्रेस रिलिज जारी गर्दै घटनाको सुक्ष्म अनुसन्धान भइरहेको विषयमा ‘मृतकको लाश उक्त घटनास्थलमा ठेलामा राखी फालेको सिसिटिभिमा देखियो’ जस्ता शिर्षक राखी तथ्यहिन, कपोकल्पित र मनगढन्ते तवरबाट समाचार प्रकाशन गरेकोमा आपत्ति जनाइएको छ। 

प्रहरीले संवेदनशील विषयमा अनर्गल रूपमा सामाजिक सद्भाव भड्काउने उद्देश्यले दुस्प्रचार गरी असंवेदनशीलताको सीमा पार गर्ने सम्बद्द गैरजिम्मेवार मिडियामाथि समेत निगरानी बढाइएको बताएको छ।  

प्रेस रिलिजमा लेखिएको छ-

‘उक्त घटनास्थल क्षेत्रको सो समयको सिसिटिभी फुटेज प्रहरीले अनुसन्धान गरीरहेको र उक्त रात त्यस्तो ठेला लिई गई कोही कसैले मृतकको लास नफालेको अनुसन्धानबाट देखिएको स्पष्ट पार्न चाहन्छौं । उक्त सिसिटिभी फुटेजमा देखिएका मानिसहरू उक्त क्षेत्रमा तरकारी ओसारपसार गर्ने ज्यालादारी मजदुरहरू रहेको, निजहरू आफ्नो दैनिक रोजिरोटीको क्रममा तरकारी लैजाने ल्याउने कामको सिलसिलामा अन्दाजी ५ बजेको समयमा उक्त स्थानमा गएको हालसम्मको अनुसन्धानको क्रममा खुलेको छ।‘

इन्चार्ज फेरिए, डिएसपीको कमाण्डमा अनुसन्धान

घटना भएदेखि नै स्थानीयबासी प्रहरीमाथि आक्रोशित थिए। उनीहरुले पथरी शनिश्चरेस्थित इलाका प्रहरी कार्यालय इन्चार्ज कमल बजगाईँलाई हटाउनु पर्ने माग गर्दै आएका थिए। प्रहरीको अनुसन्धान फितलो भएको उनीहरुको दावी थियो। 

'पुलिस फितलो भएको हो। जसरी अनुसन्धान हुनपर्ने भएन। हामीले डिएसपी मागेका हौँ,' पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले भने।

जिल्ला प्रहरी कार्यालयले शनिश्चरे इलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिसकेको छ। निरीक्षक बजगाँइलाई जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएको छ र त्यहाँ अहिले निरीक्षक सुवास भट्टराईलाई पठाइएको छ।

घटनाको अनुसन्धान गर्न भने अहिले जिल्लाबाट डिएसपी नवराज ढुङगानाको नेतृत्वमा टिम पठाइसकेको एसपी केसीले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell