PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कोरियाको भिसा थन्क्याएर बिएड पढ्दै 'बोयर' बाख्रापालनतिर, ‘जे गर्छु, नेपालमै गर्छु’



पी बी खड्का

कोरियाको भिसा थन्क्याएर बिएड पढ्दै 'बोयर' बाख्रापालनतिर, ‘जे गर्छु, नेपालमै गर्छु’

सुर्खेत: ‘पढ्दापढ्दै विदेश जाने रहर चल्यो। इन्डियन आर्मीमा भिँड्ने तयारी पनि थियो,’ तीन वर्षअघिको योजना सुनाए कमल बिसीले। 


गाउँका अधिकांश युवाको लर्को वैदेशिक रोजगारतिरै थियो। उनले पनि कोरियाको सपना देखे। र, काठमाडौं पुगेर थाले भाषा कक्षामा धाउन।
सँगसँगै भारतीय सेनामा पस्ने आँट पनि पलायो। छनौटको अन्तिम चरणसम्म पनि पुगे उनी। त्यता असफल भएपछि कोरियन भाषामा जोड दिए। परीक्षा पास गरे। भाषा परीक्षा पास गरेको एक वर्षपछि भिसा पनि आयो।

 

भिसा हातमा लागेपछि घर फर्केका उनको वैदेशिक रोजगारको यात्रामा फुलस्टप लाग्यो। 


र, उनको कदम गाउँमै केही गरौ भन्ने योजनातिर अघि बढ्यो। ‘आधुनिक बोयर बाख्रा फार्म’ दर्ता गरेर व्यवसाय सुरु गरे उनले। 
सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरदेखि करिब ३२ किलोमिटर दुरीमा रहेको भेरीगंगा नगरपालिका–१३ रामघाटमा उनको फार्म छ।
‘आफुसँगैका साथीभाइहरु कोही जागिरे भइसके, कोही कमाउने भइसके, सबै आफ्नो बाटो लागिसके। घरमा आम्दानीको स्रोत पनि केही नाई, कसैको रोजगार पनि नाई, सबै बेरोजगारै बेरोजगार। गाउँमै केही गरेर आफ्नो पढाईलाई पनि निरन्तर ‘कन्टिन्यु’ गरौँ भन्ने सोच आयो अनि बाख्रा फर्म सुरु गरेँ,’ कमलले सुनाए। 


भर्खरै २५ वर्ष पुगेका कमल बिहान कलेज पढ्दै, बाख्रा फार्ममा रमाउन थालेको तीन वर्ष बितिसकेको उनी सुनाउँछन्। उनले आफ्नै नाममा आधुनिक बोयर बाख्रा फार्म खोलेर व्यावसायिक रूपमा जुटिसकेका छन्। 


‘बिहान (बिएड) पढ्छु। दिउँसो र बेलुकाको समय फर्मतिरै। कलेजको समयमा भाइबहिनीले रेखदेख गर्छन्,’ उनले भने। अहिले घर नजिकैको हिमशिखर बहुमुखी क्याम्पस रामघाटमा बिएड अध्ययनरत छन्।


‘जे गर्छु, नेपालमै गर्छु’ लेखिएको निलो टि–सर्टमा लगाउँछन् उनी।


मध्यम वर्गीय परिवारमा हुर्केका कमलले सुरुमा झन्डै १३ लाख खर्चमा शुरु गरेको व्यवसाय अहिले २४ लाख पुगेको छ। व्यवसाय सुरु गर्दा ५० वटा स्थानीय जातका बाख्रा थिए भने, पछिल्लो समय बोयरप्रतिको आकर्षणले बढेको उनी सुनाउँछन्। 


‘सुरुमा १३ लाख लगानीमा ५० वटा स्थानीय जातको बाख्रा थिए। एउटा बोका र एउटा माउ बाख्रा सय प्रतिशत बोयर थियो,’ उनले भने, ‘अहिले पछिल्लो समय बोयरको माग र आकर्षण उत्तिकै छ। जसले गर्दा पनि अहिले मसँग ७२ वटा बोयर मात्रै छन्। सय प्रतिशत बोयर भयो भने, मूल्य पनि राम्रो छ। हजारदेखि १२ सय रुपैयाँ केजीसम्म पर्छ।’


आफूहरुले सय प्रतिशत प्रति बोयर खरिद गर्दा २ लाखदेखि साढे तीन लाख रुपैयाँसम्म पर्ने बिसी बताउँछन्। 


आफूले उत्पादन गरेको बोयर जातको पाठापाठी अहिलेसम्म कैलाली, बर्दिया,धनगढी, लमजुङ, झापा, इलाम, पाल्पालगायतको क्षेत्रमा निर्यात गरेको सुनाए। 


माग अनुसार पुर्‍याउन नसकिएको उनको भनाई छ। बोयर जातको पाठापाठी ८ सयदेखि हजार रुपैयाँसम्म ४/५ महिनामा विक्री हुने गरेको बताए। सय प्रतिशत बोयरको २ देखि साढे ३ लाख रुपैयाँसम्म पर्ने बताए। 


अहिले आफ्नै चार विगाह जग्गामा नेपिएर, सुपर नेपीएर, सिओथ्री, सिओफोर, निम्बुल्ला, भटमासे लगायतको घाँस रोपेको र बाख्राका लागि ढुटो, पिठो, बजारको दाना मिक्स गरेर दिने गरेको बताए। अहिले घरपरिवारबाटै रेखदेख गर्ने गरेको उनी बताउँछन्। ‘अहिले लगानी अपग्रेड गर्ने प्रोसेसमै छु,’ उनले भने,‘व्यवसायबाट जति आम्दानी हुन्छ त्यो फर्ममै लगानी गरेको छु। अबको केही महिनापछि आम्दानीको हिसाबले वार्षिक न्यूनतम १० लाख अनुमान छ।’

वैदेशिक रोजगारीमा जाँदा समेत डेढ दुई लाख खर्च हुने र घरपरिवारबाट अलग्गीनु भन्दा थोरै लगानीबाट राम्रो पेशा व्यवसाय गर्न सकिने उनको भनाई छ। ‘स्वदेशमै केही न केही गर्न सकिन्छ। तन मन लगाएर गर्नुपर्छ। डेढ दुई लाख खर्च गरेर विदेश जानुभन्दा स्वदेशमै थोरै लगानीबाट राम्रो पेशा व्यवसाय गर्न सकिन्छ।’ उनले भने,‘घरपरिवारबाट टाढा हुन पनि पर्दैन।’  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell