PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सोमबारमात्र सवारी दुर्घटनामा १२ जनाको मृत्यु



सोमबारमात्र सवारी दुर्घटनामा १२ जनाको मृत्यु

काठमाडौं: सोमबार देशका विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा १२ जनाको ज्यान गएको छ। पाल्पा, कैलाली, अर्घाखाँची, सप्तरी, ललितपुर र नवलपरासी (पूर्व) जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ ज्यान गएको नेपाल प्रहरीले जनाएको छ।

पाल्पाको निस्दी गाउँपालिका ७ गुघुरी भिरस्थित सडकमा भिरपानीबाट हुवासतर्फ जाँदै गरेको जन्ती बोकेको लु.१ ज १९४१ नम्बरको जिप सडकबाट करिब ३ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा जिप चालकसहित पाँच जनाको मृत्यु भएको थियो।

कैलाली  गोदावरी नगरपालिका ७ स्थित हरैया चोकमा से.१ च १६९० नम्बरको पिकअप जिपले से.६ प ८०५२ नम्बरको मोटरसाइकललाई र साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका साइकल चालक नगरपालिका ६ लालपुर बस्ने २० वर्षीय दिपेन्द्र चोखालको उपचारको लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।  दुर्घटनाका घाइते भएका अन्य ३ जनाको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ।

अर्घाखाँची  शितगंगा नगरपालिका-६ फुर्सामाटास्थित सडकमा ग.१ ज ४८७६ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपमा सवार कपिलवस्तु शिबराज नगरपालिका ५ बस्ने १८ वर्षीया सीता उपाध्यायको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु थियो।

सप्तरी खड्क नगरपालिका ७ स्थित सडकमा बा.६५ प १३१ नम्बरको  मोटरसाइकलले २ वटा साइकललाई सोमबार बेलुका ठक्कर दिँदा गम्भीर घाइते भएका साइकल चालक शम्भुनाथ नगरपालिका ८ बस्ने ६५ वर्षीय हरिहर मण्डलको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ललितपुर  बागमती गाउँपालिका ३ नयाँ गाउँस्थित सडकमा बा.५ च ५६९६ नम्बरको गाडी सडकबाट करिब ३ सय मिटर तल खसेर सोमबार बेलुका दुर्घटना हुँदा गाडी चालक भट्टेडाँडा बस्ने महोत्तरी घर भएका १९ वर्षीय विशाल मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। साथै दुर्घटनामा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने १७ वर्षीया सुनिता लोप्चन र २८ वर्षीया सरिता मोक्तानको आनन्द वन अस्पताल टिका भैरहवामा उपचारको क्रममा मृत्यु भएको थियो ।

नवलपरासी (पूर्व), बिनयीत्रिबेणी गाउँपालिका २ स्थित पूर्वपश्चिम राजमार्गमा भारतीय युपी.३१ टि २९४७ नम्बरको ट्रक दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेका १७ वर्षीय पुरुषको जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको छ। ट्रक चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell