PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

खसीको मासुको भाउ एकाएक किन बढ्यो?



वसन्तराज उप्रेती

खसीको मासुको भाउ एकाएक किन बढ्यो?

काठमाडौं : भारतबाट आयात बन्द भएपछि खसीको मासुको मूल्य प्रति किलो दुई सय रुपैयाँसम्म बढेको छ। काठमाडौंसहित देशका शहरी क्षेत्रमा खसीको मासु प्रति किलो १२ सय रुपैयाँसम्म पुगेको छ। जिउँदो खसीको मूल्य पनि प्रतिकिलो १५० रुपैयाँसम्म बढेको छ।

सरकारले पशु बधशाला तथा मासु जाँच ऐनलाई कडाईका साथ कार्यान्वयन गर्दै मापदण्ड नपुगेका खसीबोका आयात बन्द गरिदिएपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो। यो ऐन २०५५ सालमै बनेको भए पनि कडाईका साथ कार्यान्वयनमा आएको थिएन।

ऐनको व्यवस्थाअनुसार छालासहितको पशु बेच्न रोक लगाइएको छ। यसैगरी ऐनको दफा १० मा रहेको 'बध गरिएको पशुको मासु जाँच गर्दा त्यस्तो मासुमा केही खराबी वा रोग भएको पाइएमा त्यस्तो मासु आंशिक वा पूर्णरुपमा बिक्री वितरणको लागि निषेध गर्न सक्नेछ,' भन्ने व्यवस्था कडाइका साथ लागू भएपछि भारतबाट खसीबोका तथा मासु आयात घट्दा नेपालमा मूल्य बढेको हो।

खसीबजार निर्देशक जीवनराज खतिवडाले मापदण्ड नपुग्ने भएपछि डेढ महिना यता भारतबाट खसी आयात बन्द भएको जानकारी दिए।

'आन्तरिक उत्पादन बढेसँगै विगत चार वर्ष अगाडिदेखि खसीको आयात घट्दै गएको छ। चार वर्ष अगाडि नेपालमा भारतबाट वार्षिक ६ लाख खसी आयात हुँदै आएको थियो,' उनले भने, 'पछिल्लो समय वार्षिक पाँच लाखको हाराहारीमा खसी आयात हुँदै आएको छ। कानुनको कडाईका साथ कार्यान्वयन हुँदा आयात गर्न नसक्ने अवस्था देखिएको हो।'

व्यवसायीहरुका अनुसार मासुको मूल्य आकाशिएर व्यापार कम हुँदा केही क्षेत्रमा मासु पसल बन्द हुन थालेका छन्। चितवनको नारायणगढ बजारका २५ प्रतिशत मासु पसल बन्द भइसकेको छ।

देशभित्रै व्यवसायिक बाख्रापालन बढेकाले खसीको उत्पादन क्रमिकरुपमा बढ्दै गएको खतिवडाले बताए।

'अहिले भारतबाट खसी आयात बन्द भएपछि मुलुकभित्रैका खसी सिधै बजारसम्म आइपुग्न थालेको छ, यसले आन्तरिक उत्पादनको बजार बिस्तार पनि बढाएको छ,' उनले भने, 'सामान्य अवस्थामा बजारमा मासु उपलब्ध भए पनि चाडपर्वमा भने समस्या हुन सक्छ।'

काठमाडौंको नयाँ बानेश्वरमा रहेको आइकालु मिट सेन्टरका सञ्चालक बल्लु खड्गीले केही समययता खसीको मासुको भाउ बढेको बताए। ग्राहकहरुले पनि मासुको मूल्य बढेको विषयमा गुनासो गरिरहेको उनले जानकारी दिए।

'भारतबाट खसी आयात बन्द भएपछि मुलुकभित्रै उत्पादन भएका खसीको मासु बिक्री गर्दै आएका छौँ, एक त खसी खरिद गर्दा नै महँगो मूल्य तिर्नुपर्छ त्यहीअनुसार तयारी मासु विक्री गर्दा ग्राहकहरुलाई महँगो मूल्यमा बिक्री गर्न बाध्य छौँ,' खड्गीले भने।

यो अवस्था रहे दशैंमा ग्राकको मागअनुसार खसीको मासु बिक्री गर्ने गाह्रो पर्ने उनले बताए। 'एउटा खसीलाई मासु उपभोगका लागि योग्य पार्न कम्तिमा डेढ वर्ष लाग्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell