May 26, 2019 | १२ जेठ २०७६

भत्किएर फेरि उठ्दै विश्वज्योति : त्यो सिंगल थिएटर जहाँ चल्दामात्रै उठ्थ्यो फिल्मको पूरै लगानी

रीना मोक्तान/पहिलोपोस्ट

भत्किँदै गरेको हलको यो दृश्य देख्दा भुवन केसीको मन खिन्न हुन्छ। नहोस् पनि कसरी उनलाई स्टारका रुपमा स्थापित गर्न यो हलको भूमिका सानो थिएन। त्यसो त नेपाली फिल्मका सदावहार नायक भुवनका छोरा अनमोलको क्रेज यतिखेर मल्टिप्लेक्समा चम्किरहेको छ। भुवनको क्रेज अनमोलमा सरेजस्तै विश्वज्योति पनि काय फेर्नैपर्ने वाध्यतामा पुगेको हो, नियमित पुस्तान्तर झै।

भुवन दु:खी हुनुपर्ने कारणमा पुस्तान्तरण मात्र होइन। धेरै नेपाली फिल्मको कमाउने केन्द्र रहेको विश्वज्योतिमा दर्शक अभाव हुनुले उनको चित्त दुखेको रहेछ। 'बीचमा फिल्म चलेन भन्दा दु:ख लाग्यो,' भुवनले भने, 'बन्द नै भयो भन्दा नरमाइलो लागिहाल्छ नि।'

भत्किँदै गएको विश्वज्योतिको यो स्वरुपसँगै नेपाली सिनेमाघरको एउटा कालखण्डको अन्त्य हुँदैछ भन्दा फरक पर्दैन।

+++

विश्वज्योति त्यो ज्योति

मोहन सराफ १२ वर्षका मात्र थिए जब उनी बुबा गरिबनाथ सराफसँग विश्वज्योति हल धाउँथे। बुबासँग धाउँदै गर्दा उनले सायदै सोचेका थिए- फिल्म देखाउने त्यो हलको जिम्मेवारी कुनै दिन आफ्नो काँधमा आउँछ।

२०१५ सालतिर किनेका थिए, उनका बुबाले विश्वज्योति। तर, २०१७ देखिमात्र यसको पर्दामा फिल्म देखाउन थालियो।

२०२५ सालमा कम्पनी दर्ता प्रक्रिया पूरा भयो। त्यसयताको वर्षहरु हिसाब गर्दा पनि विश्वज्योतिले ५० वर्ष पूरा गरिसकेको छ।

हिन्दी फिल्मको लहर चलिरहँदा नेपाली फिल्म कमैमात्र बन्थे। सत्ताको प्रोपागान्डाकै लागि भए पनि 'आमा', 'परिवर्तन', 'हिजो आज भोलि' जस्ता बने। औंलामा गन्न सकिने फिल्म र तिनलाई प्रदर्शन गर्ने हलहरु सधैं सफल भइरहे। यस्ता सबै फिल्म व्यवसायिक रुपमा हिट रहे।

त्यस समय राजधानीमा विश्वज्योतिसँगै रञ्जना र जय नेपाल हल पनि थिए। जब लाइसेन्सको प्रक्रिया खुकुलो भयो हलहरु थपिनेक्रम बढ्यो। अनि, फिल्म चलाउन नसकेपछि जसरी थपियो त्यसरी नै बन्द हुनेक्रम चलिरह्यो।

'नेपाल चलचित्र संस्थान स्थापना भयो। संस्थानले 'मनको बाँध' जस्ता कमर्सियल (मूलधारे) फिल्म बनाए। त्यसपछि हल व्यवसाय केही सबल बन्यो,' खुल्ने र बन्द हुने सिनेमा हलको व्यवसाय जारी रहँदा अडिरहेको विश्वज्योतिका सराफले भने।

व्यवसायिक रुपमा फिल्म बन्न थालेपछि स्वभाविक नै हो, विश्वज्योतिले नेपाली फिल्मलाई प्राथमिकतामा राख्‍न थाल्यो।

+++

'विश्वज्योतिबाट ५१ दिन, १०० दिन मनाउने धेरै फिल्म छन्,' भत्किँदै गरेको यो सिनेमा हलबारे विगत सुनाउँदैछन् संचालक मोहन सराफ, 'हाम्रो हलबाट नै बक्सअफिस नेपालमा सुरु भयो।'

विश्वज्योतिले ५१ दिन चलाइसकेको फिल्म अरु हल निर्धक्क भएर लिन्थे। विश्वज्योतिमा ५१ दिन मनाएको फिल्मको चर्चा सम्झिँदा आज पनि रोमाञ्चित हुन्छन् उनी।

कुनै पनि फिल्म विश्वज्योतिमा लाग्यो भने फ्लप हुने सम्भावना करिब करिब हुन्थेन। बिहान ११ र दिउँसो २ बजेका सो प्राय: हाउसफूल हुन्थ्यो। फिल्म रिलिजमा एक किसिमको शासन नै थियो विश्वज्योतिको।

 

 

हलमा दर्शक भिड यति हुन्थ्यो कि धेरै कुरा भाँचिन्थे र भत्किन्थे। 'ओभर क्राउड भएर च्यानल गेट भत्किन्थ्यो। टिकट नपाउँदा तोडफोड नै हुन्थ्यो,' सराफले भने, 'अहिले त कल्पना जस्तोमात्र। बिर्सन नसकिने सपना जस्तो भयो।'

विश्वज्योतिमा फिल्म नलागेका कलाकारको स्टार भ्यालु हुन्थेन। 'विश्वज्योति हलमा कुनै कलाकारको फिल्म चलेन भने त्यो कलाकारको स्टार भ्यालू हुँदैन थियो,' भुवन केसीले विश्वज्योतिको विगत सम्झिए, 'यो त्यस्तो हल हो जहाँ प्रदर्शनको डेट नपाउँदा फिल्म नै रोकिन्थ्यो। एक वर्ष कुरेर भए पनि फिल्म विश्वज्योतिमा नै लगाउँथे।'

त्यसैल निर्माताहरु विश्वज्योति हल टार्गेट गरेर फिल्म बनाउँथे।

'कन्यादान', 'सन्तान', सम्झना, लाहुरेजस्ता धेरै फिल्म छन् जुन विश्वज्योतिमा लगातार १०० दिनसम्म चलिरहे। '१ हजार १ सय ७५ दर्शक क्षमता थियो तर, टिकट नपाएका एक हजार थप दर्शक त अर्को सोका लागि बाहिर कुरेर बस्थे। भिड थामिनसक्नु हुन्थ्यो,' विश्वज्योतिको क्रेज सुनाइरहेका छन् उनले, '५० रुपैयाँको टिकट लिए ब्ल्याकमा ६ सय रुपैयाँसम्म बेच्नेहरु पनि भेटिए।'

विश्वज्योतिको क्रेज कति थियो भन्ने थाहा पाउन २०५८ सालमा रिलिज भएको तुलसी घिमिरेको दर्पण छायाँ नै उदाहरण हो। तुलसी घिमिरेले निर्देशन गरेको 'दर्पण छायाँ' विश्वज्योतिमा रिलिजका लागि ६ महिना पालो कुरेर बस्यो। रिलिज भएपछि लगातार २५ हप्तासम्म चलिरह्यो।

विश्वज्योतिमा घिमिरेकै निर्देशनमा बनेको 'चिनो' सय दिन चल्यो। 'त्यो त रेकर्ड नै हो २५ सप्ताह मनाएको फिल्म भनेर,' मोहनले भने।

भुवन केसीको फिल्म कुसुमे रुमाल यहीबाट ब्लकबस्टरमा दर्ज भयो।

लामो समय नेपाली फिल्ममात्र चलाइरह्यो विश्वज्योतिले। नेपाली फिल्ममात्र चलाएको भन्दै विरोधको पनि सामना गर्नुपरेको उनको स्मृतिमा ताजै छ।

'कसले के भन्छ भन्ने पर्वाह नगरी दर्शकलाई निरन्तर नेपाली फिल्म देखायौं,' उनले सुनाए।

फिल्म उद्योगका रुपमा विस्तारित हुँदै गयो। कलाकार पनि प्रोडक्सनतिर होमिन थाले। कति सफल पनि भए। फिल्म निर्माणको क्षेत्रमा केशव भट्टराई, उज्जवल घिमिरे, छवि ‌ओझा एकपछि अर्को गर्दै भित्रिए। यो पुस्तासँगै नयाँ निर्माता भित्रिन थाले। सिनेमाको दायरा बढ्नेक्रम जारी रह्यो।

छवि ओझाले बनाएको गरेको राजेश हमालको 'युगदेखि युगसम्म'ले १०० दिन मनायो। आकाश अधिकारीले निर्माण गरेको 'पंछी', 'क्रोध' राम्रै चल्यो।

पायक परेको ठाउँ भएकाले पनि दर्शकको घुइँचो हुन्थ्यो विश्वज्योतिमा।

अन्य हलमा भन्दा बढी दर्शक क्षमता भएका कारण पनि प्राय फिल्म विश्वज्योतिमा चलाउने आशामा लामो समय कुर्न तयार हुन्थे।

हाल निर्माता संघका अध्यक्ष समेत रहेका आकाश अधिकारी निर्मित फिल्म 'क्रोध'को विश्वज्योतिसँग विशेष नाता छ। अधिकारीका अनुसार फिल्मले विश्वज्योति हलबाट मात्रै लगानीको तीन गुणा रकम उठायो।

'विश्वज्योति हल आर्थिक हिसाबमा निकै पारदर्शी थियो। ४० लाखमा बनेको फिल्मले त्यहाँ ७३ दिन मनायो। मैले २५ प्रतिशत सेयर पाएँ,' आकाश सम्झिन्छन्, 'कर काटेर विश्वज्योतिले बिल दिन्थ्यो।'

त्यतिखेरको विश्वज्योति क्रेज सम्झँदा अहिले पनि आकाशलाई अनौठो लाग्छ। उनका अनुसार कुनै फिल्मको बुधवार र बिहीवार २५ प्रतिशत भन्दा कम अकुपेन्सी भयो भने शुक्रबार नयाँ फिल्म लगाउने चलन थियो विश्वज्योतिमा।

दश लाख लगानी गरेर उनले बनाएको फिल्म पन्छीले एक करोड रुपैयाँ उठायो। निर्देशक निर्माता विश्वज्योतिमा फिल्म लगाए लगानी उठ्ने ढुक्क हुन्थे। आकाश भन्छन्, 'मैले जानेसम्म त्यतिखेर विश्वज्योतिबाट कम्तिमा पनि ३०-३५ लाख कमाउँथे। त्यतिखेर त्यति नै लागतमा फिल्म बन्थ्यो, अनि विश्वज्योतिबाटै सबै लगानी उठ्थ्यो।'

***

भत्किँदै गरेको विश्वज्योति हलसँगै छ विश्वज्योति मल। पुरानो विश्वज्योति सिनेमा घर अहिलेको मल रहेकै ठाउँमा थियो। २०४२ सालमा तयार भएको हो, अहिले भत्किँदै गरेको सिनेमाघर।

पुरानो शहरको केन्द्र थियो जमल। मानिसको बाक्लै जमघट भइरहने ठाउँ। शहर विस्तार हुनेक्रम बढ्यो। आवादीको विस्तारसँगै सिनेमा हेर्ने परिभाषा फेरिँदे गयो। सानो शहरले महानगरको स्वरुप हासिल गर्दै जाँदा सिनेमा हलको आयाम पनि विस्तार हुँदै गयो। विश्वज्योतिको ज्योति त्यसपछि क्रमश फिका हुन थाल्यो, मल्टिप्लेक्सतिर मानिसहरुको आकर्षण बढ्यो।

झन्डै १२ सय दर्शक अट्ने विश्वज्योति पछिल्लो डेढ दशक पीडादायी अवस्थाबाट गुज्रियो। कुनै कुनै सो मा त १० जनामात्रै दर्शक पाउन थाल्यो हलले।

मोहनले भने, '१५ वर्ष यता फिल्म लगाउने क्यूहरु बिग्रँदै गयो। व्यापारिक रुपले पछि पर्दै गयौं।'

***

तेजिलो बन्ने धुनमा विश्वज्योति

विश्वज्योति अब मल्टिप्लेक्समा परिणत हुँदैछ। दर्शकको फेरिएको रुचीकै कारण मोहन सर्राफ वाध्य भए- मल्टिप्लेक्समा जान। मतलब सिनेमाघरको पुस्तान्तरको निकट छन् उनी। सँगै व्यवसायिक पनि।

जसरी बुबा गरिबनाथबाट हल संचालनको जिम्मा पाए, त्यसरी नै ३३ वर्षपछि छोराहरु रोहन र युवराजलाई सुम्पिएका छन् जिम्मेवारी।

'फेरि पुरानै ठाउँमा हल बन्दैछ। आफ्नो लगानी भएको हल भत्कँदै गर्दा दु:ख पनि लाग्यो। तर, अब छोराहरुले सम्हालनेछन्,' उनी आशावादी सुनिए।

नयाँ तरिकाले हल सञ्चालन गर्दा चल्ने मोहनको विश्वास छ।

दर्शकको रोजाइ अनुरुप सुरक्षा र सुविधासम्पन्न हल निर्माण सुरु भइसकेको छ।

विश्वज्योति सिनेमाजको रुपमा नयाँ मल्टिप्लेक्स छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। यहाँ दुईवटा हल रहनेछन्।

अरु हलमा ५० हजार कमाइ हुँदा आफ्नोमा १ लाख कमाउने समय सम्झँदै त्यही दिन फिर्ने आशामा छन् उनी। 'त्यतिखेर हलले गरेको नाफाको केही प्रतिशत नयाँमा लगानी गरेका छौं। त्यतिखेर हामीलाई मात्र होइन निर्माता, हलवाला र वितरकलाई विश्वज्योतिले धेरै फाइदा पुर्‍यायो,' उनले भने।

सेलोलाइटबाट फिल्म देखाउने जमानाबाट नेगेटिभ हुँदै हार्ड डिजिटल युगमा छौं हामी। विश्वज्योति त्यही युग पछ्याउने तयारीमा छ। 'बुबाले मलाई व्यापारसँगै नैतिकताको पाठ पनि पढाउनु भयो। त्यसैले होला सानो तिनो नाफा घाटाले मात्तिने र आत्तिने काम भएन,’ उनले भने, ‘मैले त्यही कुरा आफ्नो छोराहरुलाई पनि सिकाउनु छ।'

नेपाली फिल्म चल्छ र पैसा कमाउँछ भन्ने विश्वास स्थापित गर्न विश्वज्योतिकै योगदान मान्छन् भुवन केसी। ‘त्यस समय फिल्मले कमाइ नगरेको भए अहिले फिल्म क्षेत्र इन्डस्ट्रीका रुपमा स्थापित हुने नै थिएन,’ भुवनले भने।

भत्किँदै गरेको विश्वज्योति हलको अवस्था पुस्तान्तर हुन लागेकोमा भने भुवन खुशी छन्। सिनेमा हलमा उनको क्रेज उनका छोरातिर सरेजस्तै सर्राफ परिवारको तेस्रो पुस्ता नयाँ प्रविधिसहित विश्वज्योतिमा उत्रिँदै छ। भुवन भन्छन्, 'फेरि नम्बर वान हल हुन्छ भन्ने विश्वास छ।'



ट्रेन्डिङ पोस्ट