PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

'क्यानडामा यसरी नेपाल सिकाउँदैछ गुरुकुल'



पहिलोपोस्ट

'क्यानडामा यसरी नेपाल सिकाउँदैछ गुरुकुल'

  • विनु रिजाल

“सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली

सार्वभौम भई फैलिएका मेची महाकाली

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍................................जय जय नेपाल”

छातीमा हात राखेर लहरै उभिएका करिब ६ देखि १२ वर्षका विद्यार्थी नेपाली राष्ट्रिय गान गाउँदै थिए। विद्यार्थीसँगै गुरुआमा पनि केटाकेटीलाई साथ दिँदै राष्ट्रिय गान गाइरहेका थिए। लगत्तै गुरुआमा (प्रिन्सिपल) रजिता शर्माले सरस्वती वन्दनाको समय भएको उद्घोष गरिन्।

सबैले हात जोडेर वन्दना गाए। कविता, कथा, चुट्किला सुनाउन इच्छुक हुने भाइबहिनीलाई अगाडि आउन शर्माले प्रोत्साहन गरेपछि कसैले चुट्किला सुनाए त कसैले कविता वाचन गरे। चुट्किला सुनाएपछि सबै विद्यार्थी पेट मिचिमिची हाँस्छन्।

त्यसपछि गुरुकुल नेपाल स्कुल लेखिएको सुन्तला रङ्गको टिर्सट लगाएका बालबालिका आ–आफ्नो कक्षामा पसे। पछि–पछि लागे गुरुआमा।

यो दृश्य क्यानडाको एडमण्डटनमा सञ्चालित गुरुकुल स्कुल नेपालको हो। ‘वि एन्ड द वल्र्ड सेन्टर’ले करिब सात वर्षअघि सुरु गरेको स्कुलमा अहिले ५० भन्दा बढी नेपाली मूलका बालबालिका अध्ययन गर्छन्। शनिबार बिहान साढे ११ बजेदेखि साढे तीन बजेसम्म उनीहरू क ख ग.. , अ आ इ.. , क का कि. पढ्छन्। नेपाली गीतमा छमछम नाच्छन्।

अहिले स्थानीयस्तरमा हुने हरेक कार्यक्रममा गुरुकुलका विद्यार्थीको नृत्य अनिवार्य जस्तै भएको छ। कहिले तामाङ सेलोमा त कहिले मारुनी नाच, कहिले राजमति कुमति गीतको तालमा व्यस्त भेटिन्छन् विद्यार्थी। उनीहरू चित्र बनाउन सिक्छन्, बाजा बजाउन तथा गीत बजाउन पनि अभ्यास गर्छन्।

स्थापनाको सुरु–सुरुमा त साइन्स, म्याथ पनि सिकाइएको प्रिन्सिपल शर्माले जानकारी दिइन्।

‘समय थोरै भएकाले अहिले हामीले नेपाली भाषा, संस्कृति र कलामा मात्र जोड दिएका छौँ’, उनी भन्छिन्।

बालबालिकाको इच्छा अनुसार सिक्छन्।

कविता लेख्न जान्नेले कविता सुनाउँछन्। कतिले कथा भन्छन्। नेपालमा भएका परिवारका सदस्यहरूको नाम सुनाएर चकलेट पुरस्कार पाएको दङ्ग पर्दै सुनाउँछन्।

आफ्नै उमेरका साथीभाइसँग भेट हुँदा बालबालिका पनि खुसी हुन्छन्। त्यसमध्येका एक हुन् प्रद्योतन निरौला। उनलाई नेपाली स्कुल आउन रमाइलो लाग्छ।

उनी भन्छन् ‘सबै आफ्नै उमेरका नेपाली साथीभाइसँग भेट हुन्छ, गफ गर्न रमाइलो लाग्छ।’

उनको परिवार ८ वर्षअघि क्यानडा आएको थियो। ४ वर्षको उमेरमा नेपाल छोडेर आएका उनले झन्डै नेपाली बिर्सिसकेका थिए।

प्रद्योतनकै उमेरका सुभम लुइँटेल पनि दङ्ग छन् नेपाली स्कुलमा आउँदा। ‘साथीसँग भेट हुन्छ, नेपालीमा नै गफ गर्छौँ’ उनी भन्छन्।

विदेशी भूमिमा हुर्किएका नेपाली मूलका केटाकेटीलाई नेपाल र नेपाली सिकाउने जमर्को दीपक लामा, रचिता शर्मा तथा केही साथीले गरेका थिए। त्यसबेला स्कुल सुरु गर्दा जम्मा चारजना विद्यार्थी थिए। अहिले विद्यार्थीको चाप छ। वेटिङ लिस्टमा मात्र ३० भन्दा बढी विद्यार्थी रहेको प्रिन्सिपल शर्मा बताउँछिन्। सबैलाई समेट्न नसक्दा दुःख लागेको उनी सुनाउँछिन्।

क्यानडा आएपछि छोराछोरीले नेपाली भाषा बिर्सिएलान् भने डरले पिरोलेपछि पढाउने निधो गरेको उनको भनाई छ। त्यसपछि सुरुमा घरमै नेपाली पढाउन थालियो।

नेपालमा लामो समय शिक्षण पेसामा आबद्ध भएकी शर्मा विगत सम्झँदै भन्छिन् ‘विदेशमा हुर्किएका छोराछोरीले नेपाल र नेपाली नबिर्सिउन भन्ने मात्रै थियो हामीलाई।’

सन् २०१२ मा  दीपक लामाको घरबाट सुरु गरिएको थियो नेपाली स्कुल गुरुकुल। अहिले स्कुलमा १२ जना शिक्षिकाहरूले नियमित सेवा गरिरहेको उनले जानकारी गराइन्।

नियमित ५ दिन काम गरेपछि बचेको समयमा नेपाली स्कुलमा खट्छन् स्वयंमसेवी। कुनै चाडपर्व होस् वा केटाकेटीको कार्यक्रम आफैँ पकाएर नेपाली खाना पनि खुवाउँछन्।

घरबाट सुरु भएको गुरुकुल स्कुल अहिले सामाजिक संस्था ‘वाव’ अन्तर्गत सञ्चालित छ। यसले क्यानडाको अन्य सामाजिक संस्थाको भवन भाडामा लिएर स्कुल चलाउँदै आएको छ।

गुरुकुल नेपालले बालबालिकालाई नेपालीमात्र होइन, सिङ्गो नेपाल सिकाउने हिसाबले नेपाली ‘डाइभरसिटी’ क्यालेन्डर पनि निकाल्ने गरेको छ। नेपाली मूलका परिवारको घर–घरमा झुन्डिने यो क्यालेन्डरमा नेपालका विभिन्न जातजाति, चाडपर्व भेषभुषा तथा प्राकृतिक सुन्दरताका तस्बिर समेटिएका छन्। ‘वाव’का अध्यक्ष दीपक लामा भन्छन् ‘नेपालको विविधता देखाउने र चिनाउने प्रयास क्यालेन्डरमार्फत गरिएको हो।’

क्यालेन्डरले नेपाली तिथि, मिति हेर्न पनि सजिलो बनाउने तथा नयाँ पुस्तालाई त्यसको जानकारी गराउने लामा बताउँछन्।

केही समयअघिमात्र  सामूहिक गुन्यूचोली कार्यक्रम गरिएको थियो। कार्यक्रममा  सात नानीहरूलाई गुन्यूचोली दिइएको थियो। सामूहिक नेपाली कार्यक्रममा छोरीलाई गुन्यूचोली दिन पाउँदा आफू नेपालमै भएको अनुभूति भएको सुनाउँछिन् तारा पौडेल। अप्रिल १३ मा गरिएको कार्यक्रममा उनकी ९ वर्षीया छोरी आरुषीलाई  गुन्यूचोली दिइएको थियो।

एडमण्टनमा दुई नेपाली स्कुल छन्। एउटा नर्थ एडमण्डनमा छ अर्को साउथमा। नर्थ साइडमा बस्ने नेपालीलाई साउथमा टाढा पर्ने भएकाले नर्थमा नै नेपाली स्कुल खुल्दा दङ्ग भएको सुनाउँछिन् उषा काफ्ले। उता लैजान अलि समय लाग्छ।  हिउँ परेको बेलामा त झन् गाह्रो हुन्छ। त्यसैले नजिकै नेपाली स्कुल हुँदा सजिलो भएको छ उनलाई। छोरालाई स्कुल लाने बहानामा आफू पनि स्कुलमा स्वयम्सेवा गर्छिन् उनी।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell