PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पहेँलो धातु सुनको कालोबजार: बजारमा सुन अभाव, ठगिँदै उपभोक्ता, यसरी हुन्छ ठगी?



पहिलोपोस्ट

पहेँलो धातु सुनको कालोबजार: बजारमा सुन अभाव, ठगिँदै उपभोक्ता, यसरी हुन्छ ठगी?

-सूर्यप्रकाश कँडेल

चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ४ निवासी इन्दिरा अधिकारीले नारायणगढको शहीदचोकमा रहेको एक सुन पसलमा पुगेर डेढ तोलाको सुनको बेरुवा औँठी अर्डर गरिन्।

पसल सञ्चालकले गहना लिन एक हप्तापछि आउनु भने। एक हप्तापछि औँठी लिन सुन पसलमा पुगेकी अधिकारी गहनाको बिल देखेर तीन छक्क परिन्। डेढ तोलाको औँठी किन्दा उनले दस प्रतिशत अर्थात् १५ लाल जर्तीको रकम थप तिर्नुपर्ने भयो। जर्ती धेरै भएको गुनासो गर्दा पसलेले ‘महँगो भए अर्डर क्यान्सिल गर्नुस्’ भनेपछि आफूले गहना नकिनेरै बजारबाट फर्किएको अधिकारीले बताइन्। ‘बुट्टा कुँदेको औँठीमा जर्ती धेरै जान्छ भनेर बेरुवा औँठी अर्डर गरेकी थिएँ’ उनले भनिन्, ‘पहिला तोलामा दुई लालजति जर्ती काटिने बेरुवा औँठीमा अहिले तोलामै दस लाल जर्ती कटाउन खोजेपछि गहना फिर्ता गरेँ। यो त सरासरी ठगी हो।’

बेरुवा औँठीमा पनि यति धेरै जर्ती कटाएर पैसा थप्नुपर्ने किन भनेर आफूले सोध्दा पसल सञ्चालकले सुनचाँदी व्यवसायी सङ्घले निर्धारण गरेको बिक्री मूल्यभन्दा तोलामा तीन हजार रुपैयाँ बढी रकम तिरेर कालोबजारबाट सुन किन्नु परेकोले अहिले सुनका गहनामा १२ प्रतिशतसम्म जर्तीको रकम लिने गरिएको जवाफ दिएको अधिकारीले बताइन्। पसल सञ्चालकले ‘काँचो सुन ल्याउनुहोस्, म बिक्री मूल्यभन्दा तोलामा दुई हजार रुपैयाँ बढी तिरेर किन्छु’ भनेपछि आफूले केही नबोली फर्किएको उनले सुनाइन्।

बजारमा सुन अभाव

बिहेको लगनको महिना भएकोले सुनको माग बढेर बजारमा सुनको अभाव भएको व्यवसायीहरु बताउँछन्। बजारमा माग अनुसार सुन उपलब्ध नहुँदा साना व्यवसायी पसल नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्।

ठुला व्यवसायीले मौज्दात गहना बिक्री गर्दै आएका छन्। सुन अभावमा नयाँ गहना बनाउने अवस्था नरहेको पुतलीबजारका व्यवसायी छविलाल रामदामले बताए। ठुला व्यवसायीले चाहिएको बेला सुन नदिँदा आफूहरू मर्कामा परेको उनको भनाइ छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका उपाध्यक्ष विपिन रामुदामु राष्ट्र बैङ्कले विदेशबाट नेपाल आयात गर्ने सुनको परिमाणले देशको माग धान्न नसकेकोले बजारमा सुन अभाव रहेको बताउँछन्।

उनका अनुसार देशको माग दैनिक ३० किलोभन्दा बढी रहेकोमा २० किलो सुन आयात हुने गरेको छ। चितवनको दैनिक माग दुई किलो सुन रहेको जानकारी दिँदै उनी भन्छन्, ‘हामीले काठमाडौँदेखि राष्ट्र बैङ्कले सुनको कारोबारका लागि स्वीकृति दिएका बैङ्कबाट कोटा अनुसार सुन खरिद गरेर जिल्लामा ल्याउनु पर्छ।’ कोटा अनुसार चितवनमा हप्तामा तीन किलो सुन आइरहेको उनले बताए।

यसरी सुन ल्याउन सुनचाँदी व्यवसायी जिल्ला सङ्घले थोक व्यापारीलाई सिफारिस दिन्छ। जिल्लामा सुन भित्रिएपछि ती व्यापारीले साना व्यवसायीलाई सुन उपलब्ध गराउँछन्। साना व्यवसायीहरु पछिल्लो समय थोक व्यापारीबाट सुन नपाएपछि नयाँ गहना बिक्री गर्न नसक्ने अवस्थामा पुगेको बताउँछन्। बैङ्कले साना व्यवसायीलाई सिधै सानो परिमाणमा सुन उपलब्ध गराउनु पर्ने उनीहरूको माग छ।

सदाबहार कालोबजारी

चितवनको बजारमा सुन अभाव भएपछि पहेँलो धातुको कालोबजारी चुलिएको छ। सुनचाँदी व्यवसायी महासङ्घले दैनिक निर्धारण गर्ने सुनको बजार भाउभन्दा प्रतितोला तीन हजार रुपैयाँसम्म बढी लिएर कालोबजारी गर्ने व्यक्तिहरूले सजिलै सुन उपलब्ध गराउँदै आएको सम्बद्ध व्यवसायीहरु नै बताउँछन्।

जिल्लामा सुनको मागको तुलनामा आपूर्ति निकै कम भएकोले पनि कालो बजार फस्टाएको उनीहरूको भनाइ छ।दैनिक २० किलो सुन अवैध रूपमा कालोबजारियाले नेपालमा भित्र्याउने गरेको र त्यस्तो सुनको कारोबार चितवनमा हप्तामा पाँच किलोसम्म हुने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक व्यवसायीले जानकारी दिए।

अहिले सुन पसलमा काँचो ढिक्का सुन पाइँदैन, तर तोलामा तीन हजार रुपैयाँ बढी दिने हो भने गोप्य रूपमा कालोबजारी गर्ने व्यक्तिहरूले ५० तोलासम्म सुन दिन सक्ने ती व्यवसायीको भनाइ छ। यस्तो अवस्था त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैधरुपमा आएको ३३ किलो सुन बरामद हुनुभन्दा अघिसम्म रहेको र अहिले परिमाण केही घटेपनि कालोबजारी भने कायमै रहेको उनी बताउँछन्।

चितवनको मुख्य बजार नारायणगढमा छिमेकी जिल्लाबाट समेत सुन खरिदका लागि उपभोक्ता र व्यवसायी आउने गर्छन्। नेपाल सुनचाँदी व्यवसायी सङ्घ चितवनमा आबद्ध करिब चार सय सुनचाँदी पसलमध्ये दुई सय ५० वटा नारायणगढमा, एक सय ३० वटा जिल्लाको पूर्वी क्षेत्रमा र २० वटा माडी क्षेत्रमा रहेका छन्।

वैधानिक रूपमा चितवन भित्रिने सुन सबै व्यवसायीलाई बराबर भाग लगाउने हो भने एक जनाको भागमा दुई हप्तामा एक तोला सुन पर्न आउँछ। अहिले जिल्लामा सुनको माग धान्ने प्रमुख आधार नै कालो बजार बनेको छ। चितवनमा सुनको मागमध्ये ३० प्रतिशत कालोबजारीले पूरा गर्दै आएको छ। सुनको कालोबजारीमा हुने कारोबारबाट बर्सेनि करोडौँ रुपैयाँ राजश्व गुम्दै आएको छ।

सुनमा घुन थरथरीका

सुन खरिद गर्दा उपभोक्ता ठगिने पहिलो नम्बरको घुन जर्ती हो। सुनका गहना बनाउने क्रममा टुक्रिएर नाश भई जाने सुनलाई जर्ती भनिन्छ। कति परिमाणको गहना बनाउँदा कति जर्ती जान्छ भन्ने वैज्ञानिक आधार केही नहुँदा व्यवसायीले आफैँ जर्ती तय गर्छन्।

शिर, नाक, कान, घाँटी, नाडी र औँलामा लगाइने एक सय आठ प्रकारका गहनामा जर्ती कटाइन्छ। अहिले प्रचलनमा रहेका गहनामध्ये रानीहार, नेकलेस, मंगलसुत्र, चुरा, टप, तिलहरी, औँठी, झुम्का, कण्ठी, सिरफूल, बाला प्रमुख रहेका छन्।नेपाल सुनचाँदी व्यवसायी सङ्घ, चितवन शाखाले पाँच वर्षअघि निर्धारण गरेको बिना रसायनका गरगहनाको जर्ती दस प्रतिशतसम्म रहेको छ।

सङ्घले सबैभन्दा कम फुली र समुन्द्रीमा पौने एक लाल र बढी रानीहारमा २२ लालसम्म जर्ती कायम गरेको छ। सुन खरिद गर्ने ग्राहकले गहनाको तौलमा जर्तीको रकम अलग्गै थप गर्नुपर्छ वा जर्ती कटाएर कम तौलको गहना लैजानुपर्छ। यो दुवै अवस्थामा ग्राहक ठगीमा पर्छन्। सुन किन्दा जर्तीको रकम बढी तिरेका ग्राहकले त्यही गहना बिक्री गर्दा पुनः जर्तीको भाग कटाएर व्यवसायीको खरिद मूल्यमा बेच्नुपर्छ। किन्दा छापावाल सुनको भाउमा किनेको गहना बिक्री गर्दा तेजाबी सुनको भाउ पर्छ।

व्यवसायीले बिक्री गर्नेभन्दा खरिद गर्ने दर एक हजारदेखि दुई हजार रुपैयाँ सस्तो हुन्छ। त्यसमाथि छापावाल र तेजावी सुनको भाउको अन्तर एकदेखि दुई हजार रुपैयाँ हुन्छ। यो दरपछि ज्याला र जर्ती कटाउँदा गहना खरिदको मूल्यभन्दा बिक्री गर्दाको मूल्यमा करिब २० प्रतिशतले कमी आउँछ। यो हिसाबले एउटा गहना पाँच पटक किनबेच गर्दा सिङ्गो गहना गायब हुन्छ।

सुनमा भेटिने अर्को घुन हो, रसायन । सुनका गहना बनाउने क्रममा सुनका टुक्रा जोड्न प्रयोग गरिने रसायनले एकातिर गहनाको तौल बढाएको हुन्छ भने अर्कोतिर सुनको शुद्धता कायम रहँदैन। सुनमा २४ क्यारेट भनेपछि ९९ दशमलव पाँच प्रतिशत शुद्धता हुनुपर्नेमा राजधानीकै ठुला र नाम चलेका सुन पसलमा ९७ दशमलव दुई प्रतिशत शुद्धता पाइएपछि राजधानीबाहिर सुनको शुद्धता कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ। सुनमा मिसिने रसायनले सुनको शुद्धता घटाउने र तौल बढाउने काम गर्छ।

यस्तो सुनका गहना बिक्री गर्दा पुनः जर्ती र रसायनका नाममा रकम कटाइन्छ। यसरी सुन खरिद गर्ने ग्राहक सुन किन्दा र बिक्री गर्दा दुवै पटक मर्कामा पर्छन्। सुन व्यवसायीहरु नेपाल आयात हुने छापावाल सुनमा नै २४ क्यारेटको शुद्धता नभएको दाबी गर्छन्।

आकर्षण नक्कलीतर्फ

सुनको पालिस लगाइएका पित्तलका गहनाप्रति महिलाहरूको आकर्षण बढ्न थालेको छ। ‘हिङ नभएर के भो, हिङ बाँधेको टालो त हो नि’। झट्ट हेर्दा सुनजस्तै देखिने सुनको पालिस गरिएका गहनाप्रति गाउँ र सहरमा बस्ने महिला आकर्षित भएका हुन्।

हेर्दा सुनजस्तै देखिने, सस्तो, डिजाइन परिवर्तन गरिरहन पाइने र हराएमा वा चोरी भएमा पनि पछुताउनु नपर्ने भएकोले नक्कली सुन अर्थात् सुनको जलप लगाइएका गहनाप्रति महिलाहरूको आकर्षण बढ्दो पाइएको छ। पछिल्ला दिनहरूमा चोरको बिगबिगी र सुनको भाउ छोइनसक्नु भएपछि सुनको विकल्पमा पित्तलका गहनाको प्रयोग बढिरहेको छ।

सुनको पालिस लगाइएका गहनाको व्यापार गर्दै आएका व्यवसायीहरु पालिस गरिएका गहना लगाउने प्रचलन विश्वका अधिकांश देशहरूमा रहेको बताउँछन्। सुनको जलप गरिएका गहना लगाउनेहरू भारत र चीनमा अत्यधिक रहेको उनीहरूको भनाई छ। हाल आएर नेपालमा पनि सुनजस्तै देखिने पालिस गरिएका गहना लगाउनेहरू बढ्दै गएको उनीहरूको अनुभव छ।

नारायणगढमा पित्तलका गहनाको थोक बिक्रेता एक दर्जन छन्। नेपालमा निर्मित पित्तलका गहना कालिगडका हातबाट बनाइने भएकोले परम्परागत नेपाली शैलीका हुने गर्छन्। भारतबाट आयात गरिने गहना मेसिनबाट बनाइने भएकोले डिजाइन पनि भारतीय शैलीका हुन्छन्। भारतबाट विशेष गरी नेकलेस, मंगलसुत्र, चुरा र टप आयात गरिन्छ। नेपालमा बन्ने पित्तलका गहनामा तिलहरी, औँठी, झुम्का, कण्ठी, सिरफूल, बाला प्रमुख रहेका छन्। चितवनमा वार्षिक पाँच करोड रुपैयाँभन्दा बढीका पित्तलका गहना बिक्री हुने गरेको अनुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell