PahiloPost

May 26, 2019 | १२ जेठ २०७६


दुर्व्यवहारलाई टपक्क टिप्दै जोडिएका नाटकहरु, प्रस्तुति फरक कथा उस्तै


स्वेच्छा राउत

दुर्व्यवहारलाई टपक्क टिप्दै जोडिएका नाटकहरु, प्रस्तुति फरक कथा उस्तै

२०७३ को साउन महिना। संगीतकर्मी चेतन सापकोटालाई आफ्नै साथीकी छोरीलाई बलात्कारको प्रयास गरेको आरोप लाग्यो। उनीसँगै तत्कालीन माओवादी निकट जनसांस्कृतिक महासंघका अध्यक्ष गणेश भण्डारी पनि आरोपित थिए।

मादक पदार्थ सेवन गरेका यी दुवै राति बास बस्न चापागाउँस्थित साथीको घरमा पुगे। त्यहाँ उनीहरुको भेट भयो साथीकी छोरीसँग। संगीतमा रुची भएकी उनीसँग सामान्य गफगाफ भइरहँदा चेतनले गीत गाउन लगाए। र, गितार सिकाउने आश्वासन पनि दिए।

गितार सिक्न लालायित किशोरीलाई जिस्काउँदा जिस्काउँदै उनीहरुले बलात्कारको प्रयास गरे। किशोरी आत्तिएर चिच्याएपछि उनका आमाबुबाले घटने थाहा पाए र पीडकलाई कुटपिट गर्न थाले। कुटपिट शुरु भएपछि पीडकहरु जुत्ता छोडेरै भागेको समाचार प्रकाशित भएका थिए।

बिडम्बना, उनीहरुको यस्तो कर्कुतविरुद्ध पीडित पक्षले प्रहरीमा उजुरी गर्नुको सट्टा तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा उजुरी हाल्यो। माओवादी केन्द्रले सांस्कृतिक विभाग इञ्चार्ज विश्वभक्त दुलाल 'आहुती'को नेतृत्वमा छानबीन टोली गठन गर्‍यो।

छानबीन टोलीले दुर्व्यवहार भएको र कारबाहीका लागि पार्टी कार्यालयमा प्रतिवेदन बुझाएको बतायो। तर, न उनीहरुमाथि कारबाही भएको खबर आयो न त आरोपितहरुले सार्वजनिक रुपमा स्पष्टिकरण नै दिए। यो घटना यत्तिकै सामसुम भयो।

+++

हुलाकमा कार्यरत एक कर्मचारीको घरको भोज। उपस्थित अधिकृतदेखि खरिददारसम्म सबै रक्सीमा मस्त। पकाउने खुवाउने काम गरिरहेकी थिइन् ती कर्मचारीकी श्रीमती। रक्सी र पकवानमा रमाइरहेका पुरुष टोलीले भोज ख्वाइरहेका सहकर्मीकी छोरीलाई बोलाएर गीत गाउन लगाए। राम्रो गीत गाएको भनेर तारिफ गर्दै निस्सिमको हात समाउने, सुम्सुम्याउन थाले उनीहरुले।

चेतन र गणेश दुईजनाले गरेको हर्कतजस्तै लाग्ने यो घटना भने शिल्पी नाटकघरमा मन्चन भइरहेको नाटक 'आँधीको मनोरम् नृत्य'को दृश्य हो। जसले बालबालिका वा किशोर किशोरीमाथि हुने दुराचारको कथा भन्छ। 

अनि यी र यस्ता दुर्व्यवहारका घटनाहरु किन र कसरी लुकाइन्छन् भन्नेबारे प्रस्ट्याउँछ अर्को नाटक ‘प्राइभेट इज पोलिटिकल’ले।

यी दुई फरक नाटकलाई यौन दुर्व्यवहारको मुद्दाले एकै ठाउँमा ल्याएको छ।

आफ्नो सन्तानमाथि भइरहेको दुर्व्यवहारबारे अभिभावकलाई थाहा भएन भने के हुन्छ? यो जिज्ञासाको जवाफ खोज्दा नाटक 'प्राइभेट इज पोलिटिकल'को दृश्य याद आउँछ। जहाँ एक पात्रले आफ्नो फूपाजुले गर्ने दुर्व्यवहारबारे पीडादायी कथा सुनाउँछिन्, 'फूपाजुले मलाई बोलाएर काखमा राख्नुहुन्थ्यो, सुम्सुम्याउनु हुन्थ्यो। मलाई उहाँको अगाडि जान पनि अप्ठ्यारो लाग्थ्यो।'  यौन दुर्व्यवहारबारे ज्ञान नै नभएको उमेरमा आफ्ना फूपाजुले गरेको बलात्कारबारे उनको अभिव्यक्तिले जो कसैलाई पनि तर्साउँछ।

यता आँधीको मनोरम नृत्यमा भने निस्सिमकी आमा रुपाले आफ्नी छोरीमाथि भएको दुर्व्यवहार खुट्याउँछिन् र रक्सी पिउन आएका सरकारी कर्मचारीको टोलीलाई घोक्रेठ्याक लगाएर निकाल्छिन्। यसको मतलब सचेत अभिभावक आफ्ना छोराछोरीको हर गतिविधिबारे जानकार रहन्छन् भन्ने चाहिँ होइन। अभिभावकले आफ्ना बच्चाहरुले भोगिरहेको अवस्था र उनीहरुको मनोविज्ञानबारे नजान्दा वा जान्न नखोज्दा निम्तिने अवस्थाहरु माथि केन्द्रित छ आँधीको मनोरम नृत्य।

यो नाटकले विशेषगरी शहरी वातावरण हुर्किरहेका बालबालिकाको मनोवैज्ञानिक अवस्था चित्रण गरेको छ। व्यस्त पारिवारिक संरचना, बढ्दो प्रविधिको प्रयोग, शहरीकरणले निम्त्याएको जटिलताबारे पनि सम्बोधन गर्छ। महङ्गा स्कूल खोक्रा छन्। उनीहरुले बालबालिकाको भविष्यको जिम्मेवारी लिन्छौं त भन्छन् तर यथार्थमा विद्यालयले केही सिकाएको नै हुँदैन। जब उनीहरु कुलतमा फस्छन्, खराब संगतमा पर्छन् तब जिम्मेवारी न स्कूलले उठाउँछ न व्यस्त अभिभावकले। उनीहरुको मनोवैज्ञानिक अवस्थाबारे कसैले बुझ्नै खोज्दैनन्। बरु उल्टै गाली गर्छन् र गल्तीलाई अपराधको रुपमा स्थापित गर्छन्। 

उमेरले परिपक्वहरुको पनि व्यवहार भने परिपक्व भइसकेको नहुनसक्छ। हरेक क्षेत्र र उमेर समूहकालाई लोभ वा बाध्यताले गाँजेको छ। चाहे त्यो अरुको नाममा आएको कुरियर आफ्नो बनाउने हुलाकका कर्मचारी हुन् वा महङ्गो शुल्क लिएर स्कूल सञ्चालन गर्ने अदक्ष समूह। उनीहरुलाई आफूहरुमा व्याप्त बेथिति बोध हुँदैन। आफू संरक्षित परिवेशमा हुर्किएका बालबालिका वा किशोर किशोरीबाट भने परिपक्व बुझाइ अपेक्षा हुन्छ उनीहरुमा।

केही साता अघि नेपाली रङ्गमञ्चभित्र हुने यौनजन्य दुर्व्यवहार र हिंसाबारे सामाग्री प्रकाशित भयो। त्यसयता रङ्गकर्मी स्वयंले यसलाई बोल्न पर्ने मुद्धा बनाएर अगाडि सारेका छन्।यही  विषयलाई नाटकमा समेटेका छन् रङ्गकर्मी युवराज घिमिरेले पनि, नाटक आँधीको मनोरम नृत्यमार्फत्। नाटकबारे लेखक निर्देशक घिमिरे भन्छन्, ‘नाटक बाल्यकालबाट किशोरावस्थासम्मको परिवर्तन र किशोर किशोरीले भोग्न पर्ने मनोवैज्ञानिक, सामाजिक जटिलताहरु बारे छ। जसमा किशोर किशोरी र अभिभावकबीचको पुस्तान्तरणले कस्तो भूमिका खेल्छ भन्ने देखाउन खोजिएको छ।’ 

नाटकको अन्तिम दृश्यले भने शनिबार नियमित मञ्चन सकिएको 'भजाइना मनोलग'को चौथो संस्करण ‘प्राइभेट इज पोलिटिकल’ सम्झाउँछ। त्यसमा यौन र यौनिकतालाई हाउगुजी बनाएर त्यसबारे खुलेर कुरा नगर्ने, खुलेर कुरा नहुँदा निम्तन सक्ने आकस्मिक अवस्था र त्यसले पार्ने मनोसामाजिक असर झल्काइएको छ। 

प्राइभेट इज पोलिटिकलले यौन, यौनिकतालाई समाजको पक्षबाट देखाउने प्रयत्न गरेको छ। यौन दुर्व्यवहारविरुद्धको आवाज उठाएको नाटकले फरक उमेर समूह, लिङ्ग र पेशाका व्यक्तिहरु, विशेषगरी महिलाका भोगाइहरु मनोवाद र कुराकानीको शैलीमा भन्छ। घरदेखि कार्यस्थलसम्म भएका, आफन्तदेखि पराइसम्मले गरेका दुर्व्यवहारले शक्तिको आडमा, पितृसत्ताको प्रभावमा जिवन्तता पायो। यो नाटकले पुरुषले महिलालाई आजसम्म कसरी हेर्दै आएको छ भन्नेमात्र देखाउँदैन, त्यसबाट अगाडि बढेर अब कसरी हेर्न आवश्यक छ पनि भन्छ।

निर्देशक आकांक्षा कार्की यसलाई नाटक मात्र नभएर अभियानको रुपमा व्याख्या गर्छिन्। जसको पहिलो नेपाली संस्करण २०७२ मा मञ्चन भएको थियो। नाटकको देशव्यापी मञ्चनको तयारीमा छिन् उनी। 'नाटकमार्फत् यी कथाहरु भन्दा एक किसिमको मनोवल त सिर्जना भयो,' कार्की भन्छिन्, 'तर, आन्तरिक लडाईं जित्नका लागि अझै धेरै कुरा गर्न बाँकी छ।’ 

अमेरिकी नाटककार इभ एन्सलरले सन् १९९६ मा लेखेको नाटक ‘द भजाइना मोनोलग्स’ले महिलाको यौन अधिकार, समस्या, स्वतन्त्रता, यौन तथा प्रजनन स्वास्थ्य र यौन हिंसा विरुद्धको आवाजलाई बुलन्द पार्‍यो। यो नाटक १४० देशका सयौँ शहरमा मञ्चन भयो। करीब तीस वर्षअघि सामाजिक समस्याको रुपमा बुझिएर लेखिएको यो नाटक हाम्रो समाजमा आज पनि सान्दर्भिक छ।

त्यही सान्दर्भिकतालाई प्रस्तुत गरिसकेपछि अन्त्यमा नाटककी पात्र लुनिभा तुलाधर भन्छिन्, 'म अन्त्यमा के भन्न चाहन्छु भने यो नाटकका सबै घटना सत्य हुन्। तर, तपाईँ विश्वास नगर्न पनि सक्नुहुन्छ। किनकि यो नाटक महिलाले बनाएको हो।'

नाटक 'प्राइवेट ईज पोलिटिकल' मोफसलमा मञ्चनको तयारीमा छ।

‘आँधीको मनोरम् नृत्य’को भने नियमित मञ्चन जारी छ। जेठ ६ गतेसम्म लाग्ने नाटकका सह-निर्देशक अमजद प्रवेज भन्छन्, 'यो नाटक यस्तो सत्य हो जुन बेवास्ता गरिनु हुँदैन।’ 

फोटोहरु: आरके अदिप्त गिरी र कथा घेराको फेसबुकबाट



दुर्व्यवहारलाई टपक्क टिप्दै जोडिएका नाटकहरु, प्रस्तुति फरक कथा उस्तै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट