PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सामुदायिक वनमा आगलागी, आगो निभाउने क्रममा तीन जनाको मृत्यु



सामुदायिक वनमा आगलागी, आगो निभाउने क्रममा तीन जनाको मृत्यु

सल्यान: गर्मीयाम शुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक वनमा भीषण आगलागी भएको छ। सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि आगो निभाउने क्रममा तीनको मृत्यु भएको छ।

जङ्गलको आगो घरमा आउन थालेपछि निभाउने प्रयास गर्दै गर्दा छत्रेश्वरी गाउँपालिका–६ सिमपानीका ५५ वर्षीया पुन्टी बोहरा र शारदा नगरपालिका–९ दुवेरीका ६० वर्षीय गोवर्धन पुनको यही वैशाख २८ गते घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

आगलागीमा गम्भीर घाइते भएका छत्रेश्वरी–६ सिमपानीका ४० वर्षीय खगेन्द्र बोहराको उपचारका क्रममा काठमाडौँमा आज मृत्यु भएको प्रहरीले जनाएको छ। अहिलेसम्म आगलागीमा परेर छत्रेश्वरी–७ मा अन्नपात लत्ता कपडासहित आठ घर, कालीमाटी गाउँपालिका–१ मा चार घर जलेर नष्ट भएका छन्।

जिल्लाका सुरक्षा निकाय तथा स्थानीयले आगो निभाउने प्रयास गरे पनि नियन्त्रणमा आउन सकेको छैन। आगो निभाउन जिल्लामा पर्याप्त साधन उपलब्ध नभएकाले आगो नियन्त्रणमा आउन नसकेको सशस्त्र प्रहरी नायब उपरीक्षक विमल डाँगीले बताए।

आगो लगाउने कार्यमा संलग्न भएको भन्दै एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। शारदा–२ मा रहेको चन्द्रपाला सामुदायिक वनमा आगो लगाउँदै गर्दा सोही ठाउँका रामबहादुर वलीलाई पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ।  

जिल्लाका कपुरकोट, छत्रेश्वरी, कालीमाटी गाउँपालिका र शारदा नगरपालिका भित्रका सामुदायिक वनमा भिषण आगलागी भइरहेको डिभिजन वन कार्यालयका अधिकृत थीरबहादुर कार्कीले जानकारी दिए। “जिल्लाका विभिन्न स्थानमा आगो लागेपछि वन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र स्थानीयले प्रयास गरिरहेका छन्, हावाहुरी र सल्लाका रुख बढी भएकाले आगो नियन्त्रण गर्न गाह्रो भएको छ”, कार्कीले भने। हालसम्म आगोले जिल्लाका ११ सामुदायिक वनको तीन हजार हेक्टर बढी क्षेत्रफल वन सखाप भएको बताइएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell