PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बल्खुमा प्रचण्डको वक्तव्य, ‘हामीलाई लोकतान्त्रिक छैनौ भनेर आरोप लगाइराखिएको छ'



पहिलोपोस्ट

बल्खुमा प्रचण्डको वक्तव्य, ‘हामीलाई लोकतान्त्रिक छैनौ भनेर आरोप लगाइराखिएको छ'

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीहरूलाई एकीकृत हुन नदिने षडयन्त्र अझै पनि भइरहेको बताएका छन्। ने क पा एकीकरण दिवस तथा २६औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले कम्युनिस्टलाई गैर लोकतान्त्रिक शक्तिका रूपमा चित्रण गर्ने काम अहिले पनि भइरहेको बताएका छन्।

उनले षडयन्त्रलाई चिर्दै एकीकरणको कार्य पूरा गरेकोमा कार्यकर्तालाई धन्यवाद समेत दिए। सम्बोधनका क्रममा प्रचण्डले भने ‘हामीलाई नेपालमा हेप्ने र अपमानित गर्ने कार्य भइरहेको छ। ००६ सालदेखि नै कम्युनिस्टलाई विभाजित गर्ने षड्यन्त्र भएको थियो। अहिले पनि यो क्रम जारी छ। हामी लोकतान्त्रिक छैनौँ, तानाशाह हौँ भनेर पुष्टि गराउने कसरत हजारौँ पटक भएका छन्। ती प्रतिक्रियावादीलाई त्याग, निष्ठा र विज्ञानप्रतिको निष्ठाबाट प्रतिकार गरेका छौँ।’

अहिले शान्ति प्रक्रियाको टुंगोमा पुग्न नदिने गरी षडयन्त्र भइरहेको प्रचण्डको दाबी छ।

प्रचण्डले पार्टी एकता हुन नदिन प्रचार युद्ध चलाउने काम भइरहेको टिप्पणी गरे। कार्यकर्ताको त्याग र मेहनतको परिणामले एकीकृत भएको पनि प्रचण्डले बताए।

दुई पार्टी एकीकरणले जनताको जनवाद र समाजवादलाई समेत एकीकृत गरेको प्चण्डले बताए। वर्तमान आवश्यकता अनुसार केन्द्रीय महाधिवेशन र जिल्ला अधिवेशनबाट वैचारिक नीति तय गर्ने प्रचण्डले कार्यकर्तामाझ बताए।

विश्व समुदायमा समेत समाजवादको नयाँ मोडेल दिने आँट वर्तमान ने क पाको नेतृत्वले गर्ने प्रचण्डले बताए। सम्बोधनमा अघि भने ‘यो चुनौतीलाई हामी स्वीकार गर्नेछौँ। यो संकल्पलाई हामी आत्मसाथ गरौँ।’

माक्सवादलाई धर्मशास्त्र नभई विज्ञानका रूपमा ने क पाले स्वीकार गरेको प्रचण्डको भनाई छ। ऐतिहासिक जिम्मेवारीलाई पार्टी नेतृत्वले इमानदारीताका साथ पूरा गर्ने प्रतिबद्धता समेत उनले जनाए।

तीन महिनामा पार्टी एकता गर्ने भनिए पनि एक वर्ष लागेकोतर्फ स्मरण गर्दै प्रचण्डले केही प्राविधिक विषयबाहेक अन्य कुरा टुंगिएको बताए। एकीकरणको भावना लिएर जनताबीच जान प्रचण्डले कार्यकर्तालाई आग्रह गरे।

एकीकरणबारे अझै पनि अप्ठ्यारा आउने भन्दै त्यसमा जुध्न नेतृत्व तयार रहेको प्रचण्डले बताए। जनताप्रति इमानदार भएमा कुनै पनि शक्तिले हराउन नसक्ने प्रचण्डको उद्घोष छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell