PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

सामुदायिक विद्यालयकी हेडमिसको धुन : विद्यालय छोडेर रक्सीमा टुन, चोरिन् साथीको सुन



पहिलोपोस्ट

सामुदायिक विद्यालयकी हेडमिसको धुन : विद्यालय छोडेर रक्सीमा टुन, चोरिन् साथीको सुन

काठमाडौं : विद्यार्थीको उज्वल भविष्य निर्माण गर्ने शिक्षकले नै नैतिकता बिर्सिए भने के होला? ती शिक्षकले पढाउने विद्यार्थीको भविष्य कस्तो होला? अनि कस्तो नैतिक शिक्षा पाउलान्? सिन्धुपाल्चोकको मेलम्चीमा एउटा यस्तै घटना भएको छ।

मेलम्चीको एक विद्यालयकी प्रधानाध्यापक नै चोरी गर्दागर्दै प्रहरीको फन्दामा परेकी छिन्। मेलम्ची नगरपालिका ११ खानीगाँउस्थित भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीलाई प्रहरीले पक्राउ गरेको छ।

‘चोरी गरेको अभियोगमा उहाँलाई नियन्त्रण लिएका हौँ,’ इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले भने, ‘उहाँको साथबाट चोरी गरेको सामान समेत फेला परेको छ।‘

प्रधानाध्यापक जोशीले स्थानीयबासी माया घलेको घरबाट नगद तीन हजार र दुईतोलाभन्दा बढी सुनका गरगहना चोरी गरेको प्रहरीको दाबी छ।

विद्यालय नगई रक्सीको प्यालामा

गत मङ्गलबार सदा झैं विद्यालय नियमित चलिरहेको थियो। तर प्रधानाध्यापक जोशी भने विद्यालय गइनन्। उनी बिहानदेखि नै माया घलेको घरमा मदिरा पिएर बसेकी प्रहरीले बताएको छ। बिहानको करिब ११ बजे मदिराले लट्ठ भएर उनी र माया घले सँगै सुतेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घले रक्सीको नशामा लट्ठ भएर निदाएपछि प्रधानाध्यापक जोशीले घलेको घरमा चोरी गरेर बाहिर निस्केको प्रहरी निरीक्षक दर्नालले बताए। घलेको घरबाट चोरी गरेर निस्किँदै गरेको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले जोशी विरुद्ध चोरीको अभियोगमा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

उता वडा नम्बर ११ का वडाध्यक्ष रुद्र दुलालले पनि जोशीका बारे आफुले पनि छानबीन गर्ने बताएका छन्। ‘प्रधानाध्यापकजस्तो जिम्मेवार व्यक्तिले विद्यालय समयमै यस्तो अनैतिक कार्य गर्नु गलत भयो। यसले विद्यार्थीकै मनोविज्ञानमा असर गर्छ,’ पहिलोपोस्टसँग कुरा गर्दै दुलालले भने, ‘वहाँको बारेमा हामी पनि छानबीन गर्छौं र प्रहरीको अनुसन्धानलाई सघाउँछौं।‘

जोशी २०५२ सालदेखि मेलम्ची आसपासमा रहेका सरकारी विद्यालयमा अस्थायी शिक्षिकाको रूपमा पठनपाठन गर्दै आएकी थिइन्। २०६३ सालमा उनी स्थाई शिक्षिका भएकी हुन्। विद्यालय समयमा उनी पठनपाठनमा भन्दा बाहिरी काममा नै धेरै व्यस्त हुने गरेको अनुसन्धानमा देखिएको प्रहरी निरीक्षक दर्नाल बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell