PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'युद्ध भए इरानको औपचारिक अन्त्य हुनेछ': डोनाल्ड ट्रम्प



'युद्ध भए इरानको औपचारिक अन्त्य हुनेछ': डोनाल्ड ट्रम्प
फोटो : The Atlantic

वासिङटन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका छन्।

ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।

 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको आणविक सम्झौता रद्द गरेपछि दुवै राष्ट्रको सम्बन्धमा तनाव उत्पन्न हुँदै आएको थियो।

आणविक सम्झौता रद्द गरेको अमेरिकाले इरानी सेनाको एक समूह 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प' लाई 'आतंकवादी संगठन' घोषणा गरेपछि दुई देशबीच युद्धको अवस्था सिर्जना भएको हो। 

'इस्लामिक रिभोलुसनरी गार्ड कर्प' लाई 'आतंकवादी संगठन' घोषणा गरेको बदलामा इरानले समेत अमेरिकालाई काउन्टर दिँदै गत चैतमा अमेरिकालाई 'आतंकवादको प्रायोजक' घोषणा गर्दै मध्यपूर्वी क्षेत्रमा रहेका अमेरिकी सैनिकलाई 'आतंकवादी संगठन' घोषणा गरेको थियो।

इरानले अमेरिकी सेनालाई 'आतंकवादी संगठन' घोषणा गरेपछि मध्य पूर्वी क्षेत्रमा सुरक्षा चुनौती बढेको भन्दै अमेरिकाले युद्धपोत र मिसाइल तैनाथ गरेको थियो।

सिरिया, अफगानिस्तान, इराक,यमन र मध्यपूर्वी क्षेत्रहरुमा अमेरिकी सेनाको उपस्थितिले त्यहाँ अझै युद्धको अवस्था सिर्जना भएको इरानले आरोप लगाउँदै आएको छ।

दुई राष्ट्रबीच युद्धको खतरा उत्पन्न हुँदै गर्दा गत हप्ता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आकस्मिक रुपमा इराक पुगेर इराकी राष्ट्रपति ब्रहम सालिह र प्रधानमन्त्री अदिल अब्दुल महदीसँग भेट वार्ता गरेका थिए। उनले इराकमा रहेका अमेरिकी सैनिकमाथि इरानले आक्रमण गरे त्यसको प्रत्यक्ष प्रभाव इराकलाई पनि पर्ने भन्दै सहकार्यका लागि आग्रह गरेका थिए।

यस्तै, मध्यपूर्वी क्षेत्रमा बढिरहेको तनावका बारे छलफल गर्न साउदी अरेबियाले मध्यपूर्वी सहयोग परिषद र अरब लिगको आकस्मिक बैठक आह्वान गरेको छ।

साउदी राजा सलमानले आइतवार मेक्कामा मे ३० का लागि मध्यपूर्वी र अरब लिगका नेताहरुलाई बोलाएका छन्। इरान र अमेरिकाबीच युद्धको अवस्था सिर्जना भइ अमेरिकाले मध्यपूर्व क्षेत्रमा प्रतिरक्षा क्षमताको मिसाइल र युद्धपोत तैनाथ गरेकाले यसबारे छलफल गर्न बैठक आह्वान गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell