PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

युद्धग्रस्त लिबियाबाट २२ नेपालीको उद्दार, सातजना नेपाल आइपुगे, १५ जना आईओएम शिविरमा



विधुर ढकाल

युद्धग्रस्त लिबियाबाट २२ नेपालीको उद्दार, सातजना नेपाल आइपुगे, १५ जना आईओएम शिविरमा

काठमाडौं : अवैध बाटोबाट युद्धग्रस्त देश लिबिया पुर्‍याइएका २२ जना नेपालीको उद्दार गरिएको छ।  रोजगारीका लागि अवैध बाटोबाट लिविया पुर्‍याइएका २२ जना नेपालीलाई इजिप्टस्थित नेपाली दूतावासको पहलमा उद्दार गरिएको हो। मे महिनामा उद्दार गरिएका २२ जना मध्ये सात जना नेपाल आइसकेका राजदूतावासले जनाएको छ।

लिबियासमेत हेर्दै आएको इजिप्टको कायरोस्थित नेपाली दूतावासका अनुसार रोजगारीका लागि भन्दै अवैध बाटोबाट त्यहाँ पुर्‍याइएका १५ जना नेपालीलाई यही साता उद्दार गरी लिबियाको राजधानी त्रिपोलीस्थित आईओएमको शिविरमा राखिएको छ। आईओएमले उनीहरुकोलागि खाने बस्ने प्रबन्ध मिलाएको छ। उनीहरुलाई नेपाल ल्याउनकालागि  हवाई टिकट पनि आईओएमले नै व्यवस्था गरिदिने इजिप्टका लागि नेपाली राजदूत झविन्द्र अर्यालले पहिलोपोस्टलाई बताए।

'उद्दार गरिएका नेपालीहरुलाई उनीहरु कार्यरत कम्पनीले डर त्रास देखाई काममा लगाएको र नेपाल फर्कनकालागि राहदानीसमेत नदिएकोले निजहरुको ट्राभल डकुमेन्ट हामीले (कायरोस्थित नेपाली दूतावास)ले बनाएर पठाइसकेका छौँ,' राजदूत अर्यालले भने, 'उनीहरुको उद्दारका लागि त्रिपोलीमा रहेको संयुक्त राष्ट्र संघीय शान्ति नियोगको नेपाली सेनालेसमेत सहयोग गरेको छ।'

उद्दार गरिएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण तथा एक्जिट पेपर बनाउने कार्य भैरहेको र त्यसपश्चात् उनीहरुलाई नेपाल पठाउने उनले जानकारी दिए। 'उनीहरुलाई कसरी नेपाल फर्काउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ,' राजदूत अर्यालले भने, 'युद्ध रोकिएको समय पारेर सडक मार्गबाट नजिकैको सुरक्षित देश पठाउने र त्यहाँबाट नेपाल फर्काउने विषयमा छलफल भइरहेको छ। त्यो ट्युनिसिया वा अन्य देश पनि हुन सक्छ।'

यसअघि पनि यही मे ७ मा सात जना नेपालीलाई लिबियाबाट उद्दार गरी नेपाल फिर्ता पठाइसकिएको राजदूत अर्यालले जानकारी दिए।

पछिल्लो समय नेपालबाट मानव तस्करहरुले नेपाली युवाहरुलाई युरोपका विभिन्न देश पठाइदिने भन्दै अफ्रिकी मुलुक लिबिया पुराउने गरेको खुलेको छ।

उद्दार गरिएका अधिकांश नेपालीहरुलाई इटाली पठाउने प्रलोभन देखाई नेपाली एजेन्टहरुले लिबिया पुर्‍याएर अलपत्र पारेको राजदूत अर्यालले बताए। 'युरोपका विभिन्न देश लैजाने भन्दै मानव तस्करहरुले उनीहरुलाई लिबिया पुर्‍याएको खुलेको छ,' उनले भने, 'त्यहाँदेखि इटलीसम्म अवैध तरिकाले प्रवेश गराउने गरेका छन्। उनीहरु पनि यिनै मानव तस्करको प्रलोभनमा परेर त्यहाँ पुगेका रहेछन्।'

यसअघि चारजना नेपाली लिबियाबाट नेपाली दूतावास कायरोको सम्पर्कमा आएका भए पनि पछिल्लो समय उनीहरुसँग सम्पर्क हुन नसकेको राजदूत अर्यालले जानकारी दिए। 'यसअघि चार जना नेपाली सम्पर्कमा आउनुभएको थियो। पछिल्लो समय उहाँहरु सम्पर्कमा हुनुहुन्न हामी सम्पर्कको प्रयासमा छौँ,' उनले भने, ' उहाँहरु अवैध बाटोबाट युरोप पुगिसक्नु भयो की के भयो अहिले हाम्रो सम्पर्कमा हुनुहुन्न।'

नेपाली दूतावासले लिबियामा कार्यरत संयुक्त राष्ट्र संघको शान्ति सेनामा रहेका नेपाली सेनालाई नेपालीको उद्दारका लागि सहयोग गर्न आग्रह गरेको छ।

'उहाँहरुको म्यान्डेट त्यो नभए पनि नेपाली भएको नाताले नेपालीहरु कहीँ कतै समस्यामा परेको पाउनु भयो भने उद्दार गर्नुस् भनेर हामीले आग्रह गरेका छौँ,' राजदूत अर्यालले भने, 'राष्ट्र संघको युनाइटेट नेशन सपोर्ट मिसन इन लिबिया (अनसमिल)लाई पनि हामीले आग्रह गरेका छौँ। हाम्रो मिसन लिबियामा नभएकाले उहाँहरुसँग समन्वय गरिरहेका छौँ।'

कायरो स्थित दूतावासले आईओएमको क्षेत्रिय कार्यालय कायरो, आइओएम लिविया, अनसमिल र त्यहाँ कार्यरत नेपाली सेनासँगसमेत नियमित सम्पर्क र समन्वय गरी नेपालीहरुको अवस्था बुझ्ने र उद्दार के कसरी सुरक्षित र शीघ्र तवरले गर्न सकिन्छ भन्ने बारेमा उच्च प्राथमिकताका काम गरिरहेको छ। उद्दार हुन बाँकी रहेका नेपालीहरुको पनि उद्दारका लागि पहल भइरहेको उनले जानकारी दिए।

पछिल्लो समय महिना दिनदेखि लिबियामा विद्रोही सैनिक र राष्ट्र संघ समर्थित अन्तरिम सरकारका सैनिकबीच भिडन्त जारी छ। जनरल खलिफा हफ्तार नेतृत्वको लिबिएन नेसनल आर्मीका (एलएनए)का लडाकुहरुले राजधानी त्रिपोलीलाई घेर्दै नियन्त्रणको प्रयास गरिरहेका छन्।

यो पनि पढ्नुस्

लिबिया संकट: अमेरिकी र भारतीय सैनिक फिर्ता, नेपाली सेनाको जिम्मामा युएन मिसन मुख्यालय

लिबिया संकटभित्रको तेल राजनीति

गत अप्रिलको पहिलो साता लिबियामा शान्ति स्थापनाको संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुर्टेरेस त्यहाँ पुगेका थिए। उनको प्रयास असफल भएसँगै हिंसा भड्किएको छ। त्यहाँको विद्रोही समूह दी लिबियन नेसनल आर्मी (एलएनए)ले सरकारी फौजमाथि आक्रमणलाई बढाउँदै लगेको छ।

विद्रोहीहरुले त्रिपोलीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडानमा रोक लगाउँदै 'नो फ्लाइ जोन' घोषणा गरेका थिए। त्यहाँ रहेका राष्ट्र संघीय सहयोग मिसनका अधिकारीहरुलाई सडक मार्गको बाटो प्रयोग गरी छिमेकी राष्ट्र ट्यूनिसिया पठाइएको छ।

राजधानी त्रिपोलीस्थित मिसन हेडक्वाटरको सुरक्षा त्यहाँस्थित राष्ट्र संघीय शान्ति सेनामा कार्यरत नेपाली सेनाले गरिररहेको छ। मिसनमा कार्यरत २३१ जना नेपाली शान्ति सैनिकहरु सुरक्षित रहेको नेपाली सेनाको मुख्यालयमा जनाएको छ।

लिबियामा सन् २०११ मा लामो समयदेखिका शासक मुअमुर गद्दाफीलाई अपदस्त गरेसँगै युद्ध भड्किँदै आएको छ। गद्दाफी सर्मथक जनरल हफ्तार नेतृत्वको एलएनएका लडाकुले त्रिपोलीमाथि हमला गरिरहेका छन्। मानवीय सहायता पुर्‍याउनका लागि राष्ट्र संघलाईसमेत समस्या पर्दै आएको छ।

सन् १९६९ मा गद्दाफीले सत्ता हत्याएपछि उनलाई साथ दिएका हफ्तारले विद्रोहीको नेतृत्व गरिरहेका छन्। सन् २०१५ मा संयुक्त सरकार बने पनि त्यहाँको राष्ट्रिय संकट रोक्न सकेको छैन।

यी हुन पछिल्लो पटक लिवियामा उद्दार गरिएका नेपाली

पूर्णबहादुर गुरुङ (राहदानी नं. ०५५४९०२),

गणेश थापा मगर (राहदानी नं. ०१५५२२३),

अमृत गुरुङ (राहदानी नं. ०९६१४३६७),

भुवन आचार्य (राहदानी नं. ०९५६९६७२),

सनम विश्वकर्मा (राहदानी नं. १०७३९५९५),

बुद्धिवहादुर अधिकारी क्षेत्री (राहदानी नं. ०६४९००९४),

कृष्ण कोइराला (राहदानी नं. १०३०५६८०),

राजु विश्वकर्मा (राहदानी नं. ०६४५३९२२),

गुप्त वहादुर विक (राहदानी नं. ०७२४४६७७),

राजु विष्ट (राहदानी नं. ०९१८१९६१),

शेखर खरेल (राहदानी नं.०५८८५७९९),

जयराम धामी (राहदानी नं.१०५५१२०२),

अजय कुमार चौधरी (राहदानी नं.०६२६४५६१),

प्रकाश विश्वकर्मा (राहदानी नं. ०९६२४७५९) र

मनोहर कार्की (राहदानी नं. ०७९५४२२७)

७ मेमा उद्दार गरी नेपाल फिर्ता पठाइएका नेपालीहरु

अनुस लामा (राहदानी नं.०९६४२७२),

किरण खडका (राहदानी नं.१०३०२२६०),

सिरज रायमाझी (राहदानी नं.१०५१३३२९),

शुभ प्रसाद पराजुली (राहदानी नं.०९३८८१८३),

रवि गुरुङ (राहदानी नं.०७२१५७५६),

प्रेमसिल थारु (राहदानी नं.१०८५५७७८) र

प्रेम लाल गौतम (राहदानी नं.०६०४९६३८)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell