PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

डोटीका नौ स्थानीय तहले गाडी किन्नमै खर्चे ११ करोड, एउटै गाउँपालिकाको साढे दुई करोडसम्म



डोटीका नौ स्थानीय तहले गाडी किन्नमै खर्चे ११ करोड, एउटै गाउँपालिकाको साढे दुई करोडसम्म

डोटी: जिल्लाका नौ स्थानीय तहले डेढ वर्षको अवधिमा गाडी खरिदमा झण्डै रु ११ करोड खर्च गरेका छन्। स्थानीय तहको निर्वाचन भइसकेपछि विसं २०७४ साउनदेखि विसं २०७५ चैतसम्मको अवधिमा रु १० करोड ९३ लाख ८६ हजार ८२९ गाडी खरिदमा खर्च गरेका छन्।

गाडी खरिदमा सबैभन्दा धेरै खर्च पूर्वीचौकी गाउँपालिकाले गरेको पाइएको छ। नगरपालिकाभन्दा यहाँका गाउँपालिकाले गाडी खरिद बढी गरेका छन्। जिल्लाका अधिकांश स्थानीय तहसँग एक्साभेटर र डोजर छन्। कतिपय किन्ने तयारीमा छन्। तर, डोजर प्रयोगको नीति नियम पालना भएको छैन।

पूर्वीचौकीले हालसम्म रु दुई करोड ६७ लाख ५५ हजार ६५२ विभिन्न सवारी साधन खरिदमा खर्च गरेको छ। दश मोटरसाइकल खरिदमा रु २४ लाख ९७ हजार २०० खर्च भएको छ। त्यस्तै रु ३७ लाख २० हजारमा पिकअप जीप, रु एक करोड २३ लाख ६२ हजार ४५० एक्साभेटर खरिद गरिएको छ। यसैगरी रु ८१ लाख ७६ हजारमा दुईवटा बस पनि सो गाउँपालिकाले किनेको छ।

शिखर नगरपालिकाले रु एक करोड ५४ लाख २९ हजार ३०० खर्च गरेर विभिन्न गाडी किनेको पाइएको छ। दुई नगर बसमा रु ५६ लाख ६० हजार, टिपरमा रु ३८ लाख ६९ हजार, जीपमा रु ३६ लाख ९५ हजार, आठ मोटरसाइकल खरिदमा रु २० लाख २६ हजार ४०० र एउटा स्कुटरमा रु एक लाख ७८ हजार ९०० खर्च गरेको देखिएको छ।

दिपायल सिलगढी नगरपालिकाले रु एक करोड छ लाख ८७ हजार ४८९ मा गाडी खरिद गरेको छ। उक्त नगरपालिकाले रु ३४ लाख आठ हजार ६५० मा १५ मोटरसाइकल खरिद गरेको पाइएको छ। त्यस्तै दुई नगर बसमा रु ५१ लाख ९० हजार, एउटा ट्याक्टरमा रु १६ लाख ३८ हजार ८८४ र सक्सनम ट्याङ्कमा रु चार लाख ५० हजार खर्च गरेको छ।

बडीकेदार गाउँपालिकाले विभिन्न गाडी खरिदमा रु एक करोड ८१ लाख ७९ हजार १०० खर्च गरेको छ। सो गाउँपालिकामा रु एक करोड २० लाखमा एउटा सडक खन्ने एक्साभेटर, रु ३८ लाख ७० हजारमा एउटा पिकअप जीप र रु २३ लाख नौ हजार १०० मा नौ मोटरसाइकल खरिद गरिएको छ।

त्यस्तै सायल गाउँपालिकाले गाडी खरिदमा रु एक करोड ५६ लाख १६ हजार २०० खर्च गरेको पाइएको छ। सो गाउँपालिकाले रु सात लाख ४६ हजार २०० मा तीन वटा मोटरसाइकल खरिद गरेको छ। यस्तै महिन्द्रा बोलेरो जीपमा रु २३ लाख ८५ हजार र एक्साभेटरमा रु एक करोड २४ लाख ८५ हजार खर्च गरेको देखिएको छ।

केआई सिंह गाउँपालिकाले सबैभन्दा धेरै १७ वटा मोटरसाइकल खरिद गरेको छ। मोटरसाइकल खरिदमा रु ३२ लाख ६९ हजार ११५ खर्च भएको छ। यस्तै मिनी टिपरमा रु २० लाख १३ हजार २७४ र जेसिबी खरिदमा रु ४० लाख ९९ हजार ९९९ गरी कूल रु ९३ लाख ८२ हजार ३८८ खर्च भएको छ।

बोगटान गाउँपालिकाले रु ७६ लाख १३ हजार ८०० गाडी खरिदमा खर्च गरेको छ। उक्त गाउँपालिकाले चार मोटरसाइकल खरिदमा रु नौ लाख ७८ हजार ८०० खर्च गरेको छ। यस्तै डोजर खरिदमा रु ४२ लाख ५० हजार र महिन्द्रा बोलेरो जीप खरिदमा रु २३ लाख ८५ हजार खर्च भएको देखिएको छ।

जोरायल गाउँपालिकाको गाडी खरिदमा अन्यको स्थानीय तहभन्दा तुलनात्मक रुपमा खर्च कम भएको देखिएको छ। उक्त गाउँपालिकाले रु ५८ लाख ३८ हजार ९९९ गाडी खरिदमा खर्च गरेको देखिन्छ। जोरायलले १० वटा मोटरसाइकल खरिदमा रु २२ लाख आठ हजार ९९९ खर्च गरेको छ। यसैगरी एउटा महिन्द्रा पिकअप जीपमा रु ३६ लाख ३० हजार खर्च गरेको छ।

आदर्श गाउँपालिकाले रु ५७ लाख २२ हजार ९०० का गाडी खरिद गरेको छ। चौध मोटरसाइकल खरिदमा रु ३३ लाख ३७ हजार ९०० र एउटा महिन्द्रा बोलेरो जीप खरिदमा रु २३ लाख ८५ हजार खर्च देखाइएको छ। स्थानीय तहले खरिद गरेका दुई पाङ्ग्रे सवारी साधनको मूल्यमा एक रुपता देखिएको छैन। एउटै कम्पनीको एउटै मोडलका र एउटै क्षमताका मोटरसाइकल पनि फरक–फरक दरमा खरिद गरिएको पाइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell