PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

पार्टी सभापति देउवा नै १४ औं महाधिवेशन टार्ने चलखेलमा लागेको वरिष्ठ नेता पौडेलको आरोप



पार्टी सभापति देउवा नै १४ औं महाधिवेशन टार्ने चलखेलमा लागेको वरिष्ठ नेता पौडेलको आरोप

कैलाली: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशन टार्ने चलखेल सुरु भएको आरोप लगाएका छन्। नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत कैलालीको कैलाली गाँउपालिकाको हसुरियामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले पार्टी संगठनका सबै काम ढिला ढिला गरेर महाधिवेशनलाई पछाडि धकेल्ने चलखेल अहिल्यैबाट सुरु भएको बताएका हुन्।

‘पार्टीमा विजय गच्छदारको पार्टी मिलेपछि समायोजनाको काम गर्न ढिलाई गरिदै छ। संगठनलाई संविधानको संरचना अनुसार बनाउन ढिला गरिदैछ। यसले गर्दा महाधिवेशन टार्ने चलखेल भएको स्पष्ट भएको छ,’ पौडेलले भने।

पौडेलले पार्टीका भ्रातु संगठनको अधिवेशन आफ्नो पक्ष हार्ने डरले सभापति शेरबहादुर देउवाले रोकेको आरोप लगाए। उनले संवैधानिक परिषदको बैठकमा सहभागी नभएर पार्टी सभापति देउवाले ठूलो गल्ती गरेको स्पष्ट पारे। पौडेलले भने, ‘संवैधानिक परिषदको बैठकमा विपक्षी दलको नेताको हैसियतमा नगएर पार्टी सभापतिले ठुलो गल्ती गर्नुभएको छ। यो विषयमा पार्टीभित्र समीक्षा हुन जरुरी छ। संवैधानिक आयोगमा प्रतिपक्ष दलको प्रतिनीधित्व नहुनु गम्भीर विषय हो। कि स्वतन्त्र मान्छे हुनुपर्‍यो। नभएर सवैको प्रतिनीधित्व हुनुपर्‍यो। सबैको प्रतिनिधित्व भएमात्र निष्पक्ष हुन्छ भनेर संवैधानिक परिषदमा विपक्षी दलको नेतालाई सदस्य हुने प्रावधान समेटिएको हो।’

पौडेलले कांग्रेसले गाँउ गाँउबाट संगठन गरेर नेपाली कांग्रेसलाई ठूलो बनाउनुपर्ने बताए। उनले निमुखालाई न्याय र विपन्नलाई आय भन्ने मुल मन्त्र तय गरेर कांग्रेस अगाडि बढ्न जरुरी भएको उल्लेख गर्दै कांग्रेस हरेक जातजाति मिलेर बनेकाले कांग्रेसले कुनै एउटा वर्ग जाति र समुदायको मात्र हितमा काम गर्न नसक्ने भन्दै सिंगो नेपालको कांग्रेसले प्रतिनीधित्व गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell