PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ऐश्वर्यालाई लोकसभा निर्वाचनको 'एक्जिट पोल' सँग जोडेर गरेको ट्वीट विवेक ओवरायले हटाए



ऐश्वर्यालाई लोकसभा निर्वाचनको 'एक्जिट पोल' सँग जोडेर गरेको ट्वीट विवेक ओवरायले हटाए
फोटो :koimoi

अभिनेता विवेक ओवरायले भारतीय प्रधानमन्त्रीको जीवनीमा आधारित रहेर अभिनय गरेको फिल्म 'पी एम नरेन्द्र मोदी' यही मे २४ मा प्रदर्शन हुँदैछ।

भारतमा लोकसभा निर्वाचन सुरु हुने बेला नै सो फिल्म प्रदर्शन हुने तयारी थियो। तर विपक्षीहरुको विरोधका कारण निर्वाचन आयोगले निर्वाचन सकिएपछि मात्रै फिल्मको प्रदर्शनी गर्न अनुमति दिएको थियो।

अप्रिल ११ बाट सुरु भएको लोकसभा निर्वाचन मे १९ मा सकिएपछि भारतभर एक्जिट पोलको मत सर्वेक्षणहरुको चर्चा रहेको छ। अधिकांश मत सर्वेक्षणहरुले भारतमा पुन: मोदी सरकार बन्ने प्रक्षेपण गरेको छ। विपक्षी दलहरुले भने हालको सर्वेक्षणलाई 'गसिप' को संज्ञा दिँदै वास्तविक मत परिणाम मे २४ मा थाहा हुने प्रतिक्रिया दिएका छन्।

एक्जिट पोलबारे विवाद चल्दै गर्दा र 'पीएम नरेन्द्र मोदी' को प्रदर्शन मिति नजिकिँदै गर्दा विवेक ओवरायले सोमबार एउटा 'मिम' ट्वीट गरे। ट्वीट गरिएको तस्विरमा विवेकसँगै देखिए एश्वर्या राय बच्चन, सलमान खान, अभिषेक बच्चन र छोरी आराध्या।

विवेकले आफनो पूर्व प्रेमिका ऐश्वर्य रायमाथि बनेको एउटा विवादित ट्रोल शेयर गरेपछि उनको सामाजिक संजालमा उनको कडा आलोचना भयो। विवेकलाई बलिउडकर्मी तथा फ्यानहरुको गालीको ओइरो नै लाग्यो।

विवेक र ऐश्वर्य कुनै बेला गहिरो प्रेम सम्बन्धमा थिए। ऐश्वर्या र सलमान नजिकिएसँगै विवेक र ऐश्वर्याको प्रेम लामो समय टिकेन।

पछि ऐश्वर्याले अभिषेक बच्चनसँग विवाह गरिन्। बलिउडमा ऐश्वर्याको नाम आउने बित्तिकै उनका पूर्व प्रेमीहरुको समेत नाम आउने गर्छ।

तर, जब सोमबार विवेकले ट्वीटर मार्फत ऐश्वर्याको मजाक गरिएको ट्रोल शेयर गरे, यसले ठूलै विवाद सिर्जना गर्‍यो।

एक्जिट पोलको विवाद चल्दै गर्दा विवेकले सलमान र ऐश्वर्याको तस्विरमा 'ओपिनियन पोल', ऐश्वर्या र आफ्नो तस्विरमा 'एक्जिट पोल' र अभिषेक बच्चन र छोरी अराध्यासँगको तस्विरमा भने 'रिजल्ट्स' लेखेको तस्विर ट्वीट गरेका थिए।

ट्वीटर प्रयोगकर्ताहरुले विवेकले ठट्टाका रुपमा ट्वीट गरेपनि ऐश्वर्यालाई लिएर गरिएको ट्वीट सही नभएको भन्दै आपत्ति जनाएका छन्। सबैको आ- आफ्नो व्यक्तिगत जीवन हुनेभन्दै विवेकले तस्विर ट्वीट गरेर महिलाको अपमान गरेको धेरैले प्रतिक्रिया दिएका छन्। विवेकलाई सो ट्वीट हटाउन समेत धेरैले आग्रह गरेका थिए।

सो ट्वीटका कारण महिला आयोगले समेत विवेकसँग स्पष्टिकरण सोधेको छ।

विवेकले भने आफूले केही गलत ट्वीट नगरेको भन्दै सो तस्विर नहटाउने बताएका थिए। तर चर्को विरोधपछि विवेकले सो ट्वीट आज हटाएका छन्। उनले आफ्नो ट्वीटका कारण कुनै पनि महिलालाई पीडा पुगेको भए क्षमायाचना समेत गरेका छन्।  

 

 

 

ऐश्वर्या लक्षित ट्वीटमा अभिनेत्री सोनम कपूरले समेत आपति जनाएकी थिइन्। विवेकले भने उल्टै सोनमलाई आफ्नो अभिनयमा ध्यान दिन भन्दै थप विवाद सिर्जना गरे।  उनले आफूले महिलाको लागि १० वर्षदेखि काम गर्दै आएको भन्दै त्यो बेला 'सोनम आफ्नो मेक अप सम्हालिरहेकी थिइन्' भनेर प्रतिक्रिया दिएका थिए।

विवेकले महिलाको सम्मान गरेको भनिरहँदा सोनमको अपमान गरेकोमा विवेकको थप आलोचना भएको थिए। यस सम्बन्धमा विवेकले ट्वीटरमा लेखेका छन् ‘कहिले काहीँ जुन कुराले अरुलाई कुनै नोक्सान पुर्‍याउँदैन् जस्तो लाग्छ  अरुलाई त्यस्तो नलाग्न पनि सक्छ। मैले १० वर्षसम्म दुई हजार महिलाको उज्जवल भविष्यको लागि काम गरें, म कुनै महिलालाई अपमानित गर्ने बारे सोच्न पनि सक्दिन्।’

विवेकले एक्जिट पोलको नतिजा सही नहुने भन्दै आफ्नो र ऐश्वर्याको सम्बन्ध पनि पछि सम्म रहने धेरैले अनुमान गरेको तर अन्त्यमा त्यो अनुमान गलत भएको कुरा व्यक्त गर्न खोजेको जानकार बताउँछन्।

विवेकले आफ्नो ट्वीट हटाएपनि सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले र सलमान खानका फ्यानहरुले उल्टै विवेक ओवरायको ट्रोल बनाएर मजाक उडाइरहेका छन्।

एउटा सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् ‘अब पब्लिकले त माफी दिए, तर बच्चन परिवारले के माफी गर्लान्? ’ अर्को प्रयोगकर्ता लेख्छन् ‘तपाईको नाम कसरी विवेक भयो, यहि सोचिरहेको छु।’

भारतीय जनता पार्टीका कार्यकर्ताहरुले भने विवेकको समर्थन गरेका थिए। धेरैले विवेकले आफ्नो फिल्मको प्रचारप्रसारका लागि प्रोपागान्डा गरेको आरोप लगाएका छन्।  

विवेकको ट्वीटका बारेमा विवाद हुँदै गर्दा ऐश्वर्या, बच्चन परिवार र सलमानबाट भने केही प्रतिक्रिया आएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell