PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गुगलको सेवा कटौतीपछि हुवावे संस्थापकले भने : अमेरिकाले हुवावेको शक्तिलाई हल्का रुपमा लियो



गुगलको सेवा कटौतीपछि हुवावे संस्थापकले भने : अमेरिकाले हुवावेको शक्तिलाई हल्का रुपमा लियो
Image credit: Getty Images

हुवावेका संस्थापक रेन जेन्गफेइले अमेरिकाले विश्वमा महत्वकांक्षी सोच लिएर अघि बढेको आफ्नो कम्पनीलाई हल्का रुपमा लिएको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयपछि गुगलले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेसँगको व्यापारलाई सीमित बनाउँदै केही सेवाहरु कटौती गर्ने निर्णय गरेको भोलिपल्ट जेन्गफेइले पहिलोपटक मिडियामा आएका हुन्।

जेन्गफेइले अमेरिकी नेताहरुको वर्तमान कार्यशैलीले  आफ्नो शक्तिलाई हल्का रुपमा लिएको बताउँदै भने, 'यो निर्णयले हुवावेको फाइभजी प्रविधिलाई प्रभावित गर्नेछैन। आगामी दुई-तीन वर्षसम्ममा हुवावेको फाइभ जी प्रविधिलाई कसैले टक्कर दिने सक्ने छैन।'

हुवावेमाथि लगाइएको प्रतिबन्ध अमेरिकाले ९० दिनका लागि हटाएको सम्बन्धमा उनले त्यसबाट आफूहरुलाई खासै असर नपर्ने प्रतिक्रिया दिए।

गुगलले हुवावेलाई एन्ड्रोइडका केही सेवाहरु कटौती गर्ने भएपछि सो निर्णयबाट अब हुवावेका नयाँ स्मार्टफोनहरुमा गुगलका केही एन्ड्रोइड सेवाहरु उपलब्ध नहुने बताइएको थियो। यसका साथै हाल प्रयोगमा रहेका हुवावे स्मार्टफोनहरुको अपडेटमा समेत असर पर्ने बताइएको थियो।

खासगरी अब आउने नयाँ हुवावे स्मार्टफोनमा जीमेल, युटयुब र गुगल म्याप सेवा कटौती हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएको थियो।

यद्यपि, हुवावेले ओपन सोर्स लाइसेन्सबाट उपलब्ध हुने एन्ड्रोइड अपरेटिङ सिस्टमको प्रयोग भने गर्न सक्ने प्रविधि विशेषज्ञहरुले बताएका छन्।

जेन्गफेइले गुगललाई एक जिम्मेवार कम्पनी रहेको बताउँदै सेवा कटौती बारे छलफल भइरहेको बताएका छन्।

ट्रम्पले दूरसञ्चार उपकरणहरूको प्रयोगका कारण राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न भएको र साइबर आक्रमणको खतरा बढेको भन्दै त्यस्ता उपकरणको प्रयोगमा रोक लगाउँदै संकटकाल घोषणा गरेका थिए।

ट्रम्पको निर्णयपछि अमेरिकी कम्पनीहरूले विदेशी दूरसञ्चार कम्पनीका उत्पादन खरीद गर्न बाटो बन्द भएको थियो। ट्रम्पको सो निर्णय खास गरी चिनियाँ उत्पादन हुवावेलाई नै लक्षित गरी ल्याइएको विश्लेषण गरिएको थियो। चिनियाँ कम्पनी हुवावेले आफ्ना उपकरणहरूको सहयोगले अरू राष्ट्रहरूमा जासुसी गरिरहेको अमेरिकाले आरोप लगाउँदै आएको छ। यद्यपि हुवावेले भने आफ्ना उपकरणहरू सुरक्षित रहेको बताउँदै अमेरिकी आरोप अस्वीकार गर्दै आएको छ।

गुगलको निर्णयपछि हुवावेले भने यसप्रकारको सेवा कटौतीबाट सेवामा असर पर्न नदिन आफूहरुले प्रयास गरिरहेको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell