PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

काकाकुल काठमाडौं: दुई महिनामा तीन पटक धारामा पानी आउँछ, त्यो पनि तीन घण्टा मात्रै



दिनेश खड्का

काकाकुल काठमाडौं: दुई महिनामा तीन पटक धारामा पानी आउँछ, त्यो पनि तीन घण्टा मात्रै

काठमाडौः सुख्खा मौसम सुरु भएसँगै काठमाडौँ उपत्यकामा खानेपानीको हाहाकार सुरु भएको छ। आपूर्ति घटेपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले राजधानीमा २ पानी वितरण थालेको छ। सतही स्रोतहरू सुक्न थालेसँगै उपत्यकामा खानेपानीको हाहाकार सुरु भएको हो।

केयुकेएलले दैनिक १७ करोड लिटर पानी वितरण गर्दै आएकोमा अहिले आपूर्ति दैनिक ५ करोड लिटर घटेको छ। उपत्यकामा दैनिक ४१ करोड लिटरभन्दा बढी माग छ। २ देखि ७ दिनमा वितरण गर्दै आएको केयुकेएलले आपूर्ति घटेसँगै २० दिनमा एक पटक पानी वितरण थालेको हो।

सुख्खा याम लागेसँगै बर्सेनि खानेपानीको समस्या बल्झिने गरेका कारण पानी वितरण गर्न कठिन हुने गरेको केयुकेएलका प्रवक्ता प्रकाश राईले जानकारी दिए। 'दैनिक पानीको माग बढेको बढ्यो छ आपूर्ति छैन बिजोग अवस्था छ' उनले भने। अझै पानीको आपूर्ति घट्ने र पानी वितरणमा थप समस्या हुने उनले बताए। 

जेठदेखि केयुकेएलले नयाँ तालिका सार्वजनिक गरेर खानेपानी वितरण गरिरहेको छ। नयाँ संशोधित तालिका अनुसार २० दिनमा एक पटक तीन घण्टा पानी वितरण गर्ने गरेको पाइएको छ।

केयुकेएलको महाराजगञ्ज शाखाबाट २० दिनमा एक पटक वितरण गर्ने गरेको पाइएको छ। ठाउँ अनुसार शाखाबाट ८ देखि २० दिनसम्म तीन घण्टा वितरण गरिरहेको केयुकेएलले जनाएको छ। तल्लो ल्होसार पूर्व वसुन्धरा क्षेत्रमा २० दिनमा एक पटक पानी वितरण गर्ने गरेको पाइएको छ।

केयुकेएलका अनुसार नयाँ तालिका अनुसार क्षेत्रपाटी शाखा कार्यालय, महाकालचौर वितरण प्रणालीबाट ८ दिन बिराएर खानेपानी वितरण गरिरहेको छ। बाँसबारी वितरण प्रणालीबाट नौ दिन बिराएर वितरण भइरहेको छ। बालाजु वितरण प्रणालीबाट ८ दिनमा वितरण हुने गरेको छ। उक्त शाखाबाट १ देखि ३ घण्टासम्म वितरण गरिरहेको केयुकेएलले जनाएको छ।

किर्तीपुर शाखाबाट हरेक ७ दिनमा वितरण भइरहेको छ। केही स्थानमा दैनिक रूपमा पनि वितरण भइरहेको छ भने केही स्थानमा साताको दुई पटक ठाउँ अनुसार वितरण भइरहेको छ। यो क्षेत्रमा पुरानै तालिका अनुसार पानी वितरण भइरहेको छ। महाकालचौर शाखा (ख) (कपन एरिया)  बाट ९ दिनमा एक पटक  वितरण गरेको पाइन्छ। महाकालचौर शाखा (क) बाट तीन देखि १० दिनसम्म एक पटक वितरण हुने गरेको छ। भक्तपुर शाखाबाट प्रत्येक चार दिन बिराएर वितरण हुने गरेको छ। ललितपुर शाखाबाट ६ दिन बिराएर वितरण हुने गरेको छ। त्रिपुरेश्वर शाखाले साताको तीन दिन वितरण गर्ने गरेको छ। बानेश्वर शाखाले आठ दिन बिराएर एक पटक वितरण गर्ने गरेको छ। 

उपत्यका खानेपानी स्रोत तथा ट्याङकर व्यवसायी सङ्घका अध्यक्ष सुमन पाठकका अनुसार गत वर्षमा जस्तो  हाहाकार हुने अवस्था नआई सकेको भए पनि विगत केही दिनदेखि ह्वात्तै चाप बढेको छ। उनले भर्खरै सुख्खा सिजन सुरु भएकाले माग बढ्ने जानकारी दिए। करिब ६ सय ट्याङकर मार्फत दैनिक रूपमा १० लाख लिटर पानी वितरण भइरहेको सङ्घले जनाएको छ।

काठमाडौँभित्र ४० प्रतिशत पानीको चुहावट रहेको छ। खानेपानी पाइपहरू राणाकालीन समय देखिएका छन्। ती पाइप मर्मत गरेपछि खानेपानीको समस्या धेरै घट्न सक्ने खानेपानी सम्वद्ध अधिकारीहरूको भनाई छ। चुहावट रोक्नका लागि योजना बनाएर काम गर्न सकिएको छैन तर केयुकेएलका अधिकारीहरू भने काम भइरहेको बताउँछन्।

बहुचर्चित मेलम्ची खानेपानी आयोजनाले समयमा सम्पन्न हुन नसक्नुले पनि काठमाडौँ पानी आपूर्तिलाई प्रभावित पारिरहेको छ। आयोजना सुरु भएको दुई दशकमा पनि पानी आउने निश्चित हुन सकेको छैन।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको भए पनि ५ महिनादेखि ठप्प छ। पुस २ गते आयोजनाको मुख्य ठेकेदार कम्पनी सिएमसी दि रिभेन्नाले ठेक्का तोडेर हिँडेपछि साइटमा केही काम हुन सकेको छैन। अस्वाभाविक रूपमा सम्बन्धित आयोजना, मन्त्रालय र सरकार महिनौँ मौन बस्दा आयोजना अनिर्णयको बन्दी बन्न पुगेको हो।

सम्बन्धित समाचार: तिर्खाएका ढुंगेधारा ब्युताउँने प्रयास, आउला त पानी?

गुइ टोलमा चन्द्रलोक धाराको यस्तो हालत! एक गाग्री पानीको ६ रुपैयाँ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell