PahiloPost

Sep 21, 2019 | ४ असोज २०७६


भारतलाई विद्युत बेच्ने कुलमानको फर्मुला यस्तो, 'यही बर्खादेखि २०० मेगावाट विद्युत निर्यात गर्छौ'


अमर बडुवाल

भारतलाई विद्युत बेच्ने कुलमानको फर्मुला यस्तो, 'यही बर्खादेखि २०० मेगावाट विद्युत निर्यात गर्छौ'
फाइल फोटो

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले यही वर्षदेखि २०० मेगावाट विद्युत भारत निर्यात गर्ने भएको छ। अहिले रातको समयमा ९०० मेगावाट मात्रै विद्युत माग रहेको र असारभित्र नेपालले एक हजार एक सय मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने हुँदा रातको समयमा बढी हुने करिब २०० मेगावाट विद्युत निर्यात गर्ने अवस्थामा पुगेको हो।

प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए र १४ मेगावाटको कुलेखानी ३ बाट ७४ मेगावाट विद्युत थपिदै छ। त्यसैगरी निजी क्षेत्रका आयोजनाबाट ४० मेगावाट विद्युत थपिइसकेको छ। 

वर्षातमा सबै आयोजना पूर्ण क्षमतामा चलेमा एक हजार एक सय मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने र रातको सयमा ९०० मेगावाट हाराहारी मात्रै विद्युत खपत हुने हुँदा २०० मेगावाट विद्युत निर्यात गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिलोपोस्टलाई बताए।

अहिले पिक समयमा एक हजार एक सय ९५ मेगावाट विद्युत माग छ। नेपालले भारतबाट अहिले पिक समयमा ४७२ मेगावाटसम्म विद्युत आयात गरिरहेको छ। 

रातको समयमा ९०० मेगावाट मात्रै विद्युत माग हुँदा पनि २०० मेगावाट विद्युत भारतबाटै आयात भइरहेको छ। तर वर्षा सुरु भएसँगै विद्युत उत्पादन बढ्ने र रातको समयमा तत्कालै निर्यात गर्नुपर्ने भएको हो।

जडित क्षमता धेरै भएपनि जलाशययुक्त आयोजना रातमा सञ्चालन हुँदैनन्। अर्ध जलाशययुक्त आयोजना पनि रातमा सञ्चालनमा आउँदैनन्। त्यसैले तत्काल वर्षायममा उत्पादन हुने विद्युत एक हजार मेगावाट हारहारी मात्रै हो। 

रातको समयमा विद्युत माग नौ सय मेगावाट हारहारी छ। १०० मेगावाट जति माग तलमाथि भइरहन्छ। भदौ भन्दापछि आयोजनाले शतप्रतिशत विद्युत उत्पादन गर्ने र त्यतीबेला सम्म थप केहि आयोजना पनि सञ्चालनमा आइसक्ने हुँदा नेपालले २०० मेगावाट जति विद्युत भारत निर्यात गर्ने घिसिङले बताए।

सुख्खा यामसम्म थप विद्युत आयोजना सञ्चालनमा आउने र आगामी वर्ष भारतबाट आउने विद्युतको ठूलो हिस्सा कटौती हुने पनि घिसिङले बताए।

अहिले नेपालले भारतबाट औसत ३०० मेगावाट विद्युत आयात गरिरहेको छ। साँझको एक घण्टा मात्रै साढे पाँच सय मेगावाट विद्युत आयात गरिरहेको छ। अन्य समयमा २०० मेगावाट मात्रै विद्युत आयात भइरहेको प्राधिकरणको दावी छ। 


 
अर्को वर्ष हिउँदमा आयात गर्नु नपर्ने

विद्युत प्राधिकरणले आगामी वर्ष ५० बढी आयोजनाबाट करिब एक हजार तीन सय मेगावाट विद्युत उत्पादन हुने प्रक्षेपण गरेको छ। 

४५६ मेगावाटको माथिल्लो तामाकोशी, १११ मेगावाटको रसुवागढी, ८२ मेगावाटको तल्लो सोलु, ४२.५ मेगावाटको साञ्जेन लगायतका आयोजना र यो वर्ष विद्युत उत्पादन गर्न नसकेका १२० मेगावाटका ९ आयोजना समेत गरी एक हजार दुई सय ७० मेगावाट विद्युत उत्पादन हुने प्राधिकरणको प्रक्षेपण छ।

प्राधिकरणले चालु आर्थिक वर्षमा निजीक्षेत्रका १४ वटा आयोजनाबाट १५८.६५ मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेको थियो। १५८ मेगावाटमध्ये ५ आयोजनाबाट ३९ मेगावाट मात्रै विद्युत उत्पादन भएको छ।

प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत उत्पादन हुने प्रक्षेपण गरेका आयोजनाहरुमा २५ मेगावाटको काबेली बी १, २३.५ मेगावाटको सोलुखोला, २२ मेगावाटको बागमती खोला, २१.६ मेगावाटको तल्लो हेवाखोला, २० मेगावाटको तल्लो मोदी लगायतका जलविद्युत आयोजना रहेका थिए।

तर अहिलेसम्म ८.८० मेगावाटको रुडी खोला ए, २२ मेगावाटको बागमती खोला, ७.८ मेगावाटको सुपर माइ, ०.०९ मेगावाटको सोवुवाखोला २ साना जलविद्युत र ०.९६ मेगावाटको विष्णु प्रिया सोला गरी ५ आयोजनाबाट ३९.६५ मेगावाट मात्रै विद्युत उत्पादन भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए।

अर्को वर्ष एक हजार दुई सय ७० मेगावाट विद्युत थपिएमा कुल जडित क्षमता  दुई हजार तीन सय मेगावाट पुग्ने र हिउँदमा ४० प्रतिशत मात्र विद्युत उत्पादन हुँदापनि ९०० मेगावाट बढी विद्युत उत्पादन हुने भएकाले अर्को सुख्खायाममा धेरै विद्युत आयात गर्नु नपर्ने प्राधिकरणको विश्वास छ।



भारतलाई विद्युत बेच्ने कुलमानको फर्मुला यस्तो, 'यही बर्खादेखि २०० मेगावाट विद्युत निर्यात गर्छौ' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट