PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एक रहस्यमय घरकी निर्दयी आमा, जसले छोरालाई सिकाए 'ड्रग्स' खान



सविन ढकाल

एक रहस्यमय घरकी निर्दयी आमा, जसले छोरालाई सिकाए 'ड्रग्स' खान

काठमाडौं: सावित्री कोठाबाट नै घर कम्पाउन्डको निगरानी गर्छिन्।

घरभित्र कसलाई पस्न दिने र कसलाई पस्न नदिने रिमोट कन्ट्रोल उनकै हातमा छ। सिसी क्यामराबाट हेरेर आफूले चिनेको र जानेको मान्छेलाई मात्र घर प्रवेशको अनुमति दिन्छिन् उनी।

अपरिचित व्यक्ति आए गेटबाट नै फर्कनुपर्छ। घरबाहिर चारैतिर सिसी क्यामराको निगरानी। बन्द घरभित्र के भइरहेको भन्ने कुरा पत्तै हुँदैन। निकै रहस्यमय सावित्रीको घर!

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा रहेको सावित्री श्रेष्ठको घरमा मानिसको आउजाउ भने बाक्लै हुन्छ। ५० वर्षीया सावित्रीको घरमा मानिसहरुको आउजाउ किन बाक्लियो त?

शंकास्पद घरको रहस्य प्रहरीले मंगलबार सावित्रीलाई पक्राउ गरेपछि मात्र खुल्यो।

लागू औषध नियन्त्रक ब्युरोको टोलीले १७ सय ९१ एम्पूल लागू औषधसहित नियन्त्रणमा लिएपछि उनको कर्तुत खुलेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा सावित्री विगत केही वर्षदेखि नै घरैमा लागू औषध कारोबार धन्दामा लागेको देखिएको छ। ‘ भारतबाट लागू औषध ल्याउने र घरबाट नै सेल गर्ने गरेको देखियो,'  ब्युरोका एसएसपी वसन्त लामाले भने।

सावित्रीले एक हप्ताअघि मात्र भारतबाट ३ हजार एम्पुल लागू औषध ल्याएको खुलेको छ। बिक्री भएर बाँकी रहेको लागू औषध प्रहरीले मंगलबार बरामद गरेको हो। ‘ मानिसको निगरानी गर्न घरमा सिसी क्यामरा जोडिएको छ। आफ्नो सर्कलभन्दा बाहिरको मानिस आए सिसी क्यामराबाट हेरेर फर्काउने गर्छिन्,' घटनाको अनुसन्धानमा गएका एक प्रहरी अधिकृतले भने।

पैसाको लोभमा छोराहरूलाई नै दुर्व्यसनीमा, श्रीमान छुटै फ्ल्याटमा

सावित्री दुई छोरा, दुई बुहारी र श्रीमानसँगै एउटै घरमा बस्दै आएकी छिन्। तर उनका श्रीमान भने एकै घरमा बसे पनि सँगै बस्दैनन्। घरको अर्कै फ्लाटमा बस्छन्। छुटै खान्छन्। श्रीमतीको कारोबारबारे समेत जानकार छन्। तर चुपचाप। ‘ श्रीमतीको बानी र कारोबार श्रीमानलाई मन परेको देखिँदैन। त्यसैले एउटै घर भए पनि सँगै बसेको देखिएन,'  एसएसपी लामाले भने।

सावित्रीका दुई छोरा पनि आमाको अवैध कारोबारसँग परिचित छन्। यतिसम्म कि आमाको कारोबारमासमेत हात बढाएका छन्। सावित्री आफ्ना छोरालाई समेत ‌लागूऔषधी बेच्न र ग्राहक खोज्न लगाउँछिन्।

अन्दाजी २५ र ३० वर्षका दुवै छोरा लागू औषध प्रयोगकर्ता हुन्। शरीरमा सुई प्रयोग गरेकाले उनीहरूको अवस्था एकदमै नाजुक रहेको प्रहरीको भनाई छ। आमाले कारोबार गर्न सुरु गरेपछि उनीहरू पनि लागू औषध प्रयोगकर्ता भए। ‘निर्दयी आमा हुन् उनी। पैसा कमाउनको लागि आफ्नै छोरालाई लागू औषध प्रयोगकर्ता बनाइन्। उनीहरूको स्वास्थ्य अवस्था एकदमै नाजुक छ,' एसएसपी लामाले भने।

प्रहरीले सावित्रीको साथबाट लागू औषध बिक्रीबाट आएको १ लाख ४१ हजार रुपैयाँसमेत बरामद गरेको छ। सावित्रीको लागू औषध कारोबारीमा को को संलग्न छन् भन्नेबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell