PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फाइनलमा सावित्राको दुई गोल, सेथु एफसी च्याम्पियन



पहिलोपोस्ट

फाइनलमा सावित्राको दुई गोल, सेथु एफसी च्याम्पियन

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले दुई गोल गरेपछि सेथु एफसीले तेस्रो संस्करणको हिरो इन्डियन वुमन्स लिग (आइडब्लुएल) फुटबलको उपाधि जितेको छ।

पञ्जावको लुधियानास्थित गुरु नानक स्टेडियममा बुधवार भएको फाइनल खेलमा सेथुले मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई पराजित गरेको हो।

पहिलो हाफमा एक गोलले पछि परेपनि सेथुले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेल जितेको हो। सेथुलाई च्याम्पियन बनाउन सावित्राले दोस्रो हाफमा दुई गोल गरिन्।

यससँगै सावित्राले प्रतियोगितामा कूल १५ गोल गरिन्।

समूह चरणमा सावित्राले ह्याट्रिक गर्दा सेथुले मणिपुर पुलिसलाई ६-४ ले पराजित गरेको थियो।

फाइनलमा पनि सेथुले मणिपुरलाई सुरुवातदेखि नै दबाबमा राखेपनि गोल गर्न सकेको थिएन। ४४औँ मिनेटमा राधारानी देवीले गोल गर्दै मणिपुर पुलिसलाई अग्रता दिलाएकी थिइन्।

तर दोस्रो हाफमा मणिपुरले अग्रता कायम राख्न सकेन भने सेथुले पुनरागमन गर्‍यो। ५६औँ मिनेटमा मणिपुरकी उमापति देवीले आत्मघाती गोल गरेपछि सेथुले खेल बराबरी गर्‍यो।

६१औँ मिनेटमा सावित्राले व्यक्तिगत पहिलो गोल गरेपछि सेथुले २-१ को अग्रता बनायो। ७०औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरेपछि सेथुले ३-१ को अग्रता बनाएको हो।

त्यसपछि खेलमा गोल हुन सकेन र फाइनल ३-१ ले जित्दै सेथु च्याम्पियन बन्यो।

सावित्रासँगै सेथुबाट अर्की नेपाली खेलाडी अनिता बस्नेतले पनि खेलेकी थिइन्। तर उनले दुई खेल मात्र खेल्ने अवसर पाइन्। सेथुले प्रतियोगितामा खेलेको सबै खेल जित्दै उपाधि कब्जा गरेको हो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell