PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

इन्डोनेसियामा राष्ट्रपति विडोडो विरुद्ध प्रदर्शन चर्किँदै, सामाजिक सञ्जालमा प्रतिबन्ध



इन्डोनेसियामा राष्ट्रपति विडोडो विरुद्ध प्रदर्शन चर्किँदै, सामाजिक सञ्जालमा प्रतिबन्ध
फोटो: AP

जकार्ता: इन्डोनेसियामा जोको विडोडो पुनः राष्ट्रपति पदमा निर्वाचित भएको घोषणा भएसँगै राजधानी जकार्ता लगायत अन्य शहरमा दोस्रो दिनपनि प्रदर्शन भइरहेको छ।

बुधवार प्रहरीसँग भएको झडपमा ६ जना प्रदर्शनकारीको मृत्यु भएपछि प्रदर्शन उग्र हुँदै गएको थियो।

दश हजारभन्दा बढी प्रदर्शनकारीहरुले जकार्ता शहरमा प्रदर्शनमा सहभागी भइरहेको बताइएको छ।

प्रहरीसँगको झडपमा ३०० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्। हिंसा फैलाएको आरोपमा प्रहरीले २५० भन्दा बढीलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ।

प्रदर्शनकारीहरुले सार्वजनिक सम्पत्तीमा क्षति पुर्‍याइरहेको अधिकारीहरुले बताएका छन्। अवस्था थप बिग्रिन नदिन जकार्तामा मात्रै ४० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

हिंसा बढ्दै गएपछि इन्डोनेसियामा सामाजिक  सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइएको छ। सामाजिक  सञ्जालबाट सूचना आदान प्रदान हुँदा प्रदर्शन चर्किएको निष्कर्ष सरकारले निकालेको बताइएको छ।

विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश मानिएको इन्डोनेसियामा कडा सुरक्षाबीच मंगलवार निर्वाचन परिणाम घोषणा गरिएको थियो। त्यस लगत्तै विपक्षीहरुले आन्दोलन सुरु गरेका थिए।

वर्तमान राष्ट्रपति विडोडो ५५.५ प्रतिशत मत प्राप्त गरी पुनः राष्ट्रपति पदमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोले ४४.५ प्रतिशत मत प्राप्त गरेका थिए।

निर्वाचन आयोगले विडोडोलाई राष्ट्रपति घोषणा गरेपनि प्राबोवोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न मानेको थिएनन्। सुविआन्तोले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका छन्। उनले ५ वटा प्रान्तमा धाँधली भन्दै पुन: निर्वाचनको माग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell