PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

टहरामा पढिरहेका दरबार हाई स्कुलका विद्यार्थीले जब देखे चीनले बनाउँदै गरेको आफ्नो स्कुल...

टहरामा पढिरहेका दरबार हाई स्कुलका विद्यार्थीले जब देखे चीनले बनाउँदै गरेको आफ्नो स्कुल...

सहयोग रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आठ वर्षको हुँदा सचिन गुरुङ काठमाडौंको दरबार हाई स्कूलमा कक्षा ५ मा भर्ना भए। त्यसबेला अरु स्कूलको भन्दा दरबार हाई स्कूलको पढाइ फरक थियो।

पुरानो भवन, साना कक्षा कोठा, विद्यार्थीको चाप पनि बढी। अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएकाले पढ्न, लेख्न उनलाई गाह्रै थियो। पछि विस्तारै त्यहाँको वातावरणमा ढाल्दै गए उनले। नेपालमा आधुनिक शिक्षाको सुरुवात गर्न बनाइएको दरबार हाई स्कूलमा पढ्न पाउँदा उनी खुशी नै थिए।

तर, २०७२ सालको भूकम्पले दरबार हाई स्कूल भत्कियो। क्षतिग्रस्त विद्यालयमा पठनपाठन नहुने भएपछि महिनौंसम्म बन्द हुनपुग्यो। विद्यार्थीहरु त्यही स्कूल प्राङ्गणमै बनाइएको टहरमा पढ्न बाध्य भए। धेरै विवादपछि २०१८ अगस्टबाट स्कूलको पुनर्निर्माणको काम सुरु भयो। विद्यार्थीहरुलाई पढ्न बाल्मिकी विद्यापिठमा जग्गा दिइयो। त्यसयता सचिन कहिल्यै दरबार हाई स्कुल पुगेका थिएनन्।

चीनले भूकम्पपछिको पुनर्निर्माणका लागि प्रदान गरेको आर्थिक र प्राविधिक सहयोग अन्तर्गत सांघाई कन्स्ट्रसन ग्रुपले स्कूलको पुनर्निर्माण कार्य गरिरहेको छ यतिखेर।

नौ महिनामा नेपालको पहिलो स्कूलको मुख्य संरचना बनिसकेको र केही प्राविधिक कार्य बाँकी रहँदा आज १० कक्षामा अध्ययनरत गुरुङ करीब दुई वर्षपछि पुन: दरबार हाई स्कूल फर्के।

कच्ची भवनबाट टहरा हुँदै फेरि आफ्नो स्कूलको भवनमा प्रवेश गरेका उनमा अब स्कूल भवन बन्ने भन्ने आशा जागेको छ। भवनमा उक्लिँदै गर्दा उनी उत्साही देखिए। साथीहरुसँग फोटो लिँदै पहिलाको अवस्थाबारे उनी गफ गरिरहेका थिए। उनीसँगै यहाँ पुगेका अरु विद्यार्थीहरु पनि हर्षित देखिए।

पहिलाभन्दा ठूला र अत्याधुनिक कक्षाकोठा। भवनको शैलीले नै उनीहरुलाई आकर्षित गर्‍यो। हाल कक्षा १० मा अध्ययनरत उनी अब भवन बनिसकेपछि भने कक्षा १२ सम्म यही स्कूलमा पढ्ने बताउँछन्। 'यहाँ पढ्न पाइन्छ जस्तो लागेको थिएन। स्कूल बन्यो भने यही नै १२ सम्म पढ्नुपर्ला,' कक्षा ११ लेखिएको कोठा देखाउँदै उनले भने।

भवन बनाइ विद्यार्थीहरुलाई पढ्ने वातावरण बनाइदिएकोमा उनले चीन सरकारलाई धन्यवाद दिँदै अब भने नेपाल सरकार, विद्यालय प्रशासन र विद्यार्थीहरुले नै स्कूलको रेखदेख गर्नुपर्ने बताए।

***

चीनले भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा नेपालभर पुनर्निर्माणको काम गरिरहेको छ। करीब २५ वटा ठूला पुनर्निर्माण आयोजनामा चीनले सहयोग गरिहरेको छ। दरबार हाई स्कूल पनि चीनको आर्थिक र प्राविधिक सहयोगमा बन्दै गरेको महत्वपूर्ण योजना हो।

पुनर्निर्माण सुरु गरेको छोटो समयमा नै निर्माण कार्य लगभग सम्पन्न गर्न सफल भएकोबारे जानकारी दिन आज चिनियाँ दूतावासले दरबार हाई स्कूलमा एक कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूतू होउ यान्छीले दरबार हाई स्कूलको पुनर्निर्माणमा चीनले सहयोग गर्न पाउँदा खुशी लागेको भन्दै नयाँ बन्ने स्कूल भवनले नेपाल र चीनको सम्बन्ध थप बलियो हुनेमा विश्वास व्यक्त गरिन्। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी यही दरबार हाई स्कूलमा पढेको उल्लेख गर्दै उनले स्कूललाई पहिलाकै ऐतिहासिक स्वरुपमा निर्माण गरेको उनले जानकारी दिइन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चीन सरकारलाई स्कूल पुनर्निर्माणका लागि सहयोग गरेकोमा धन्यवाद दिँदै अब भने नेपाल सरकार र स्कूल व्यवस्थापनले गुणस्तरीय शिक्षा दिन अठोट गर्नुपर्ने बताए। भने, 'भौतिक संरचना बन्यो भनेर मात्रै हुँदैन। यो स्कूलको इतिहासलाई जगेर्ना गर्न अब यहाँ पहिला झै गुणस्तरीय शिक्षाको व्यवस्था गर्नुपर्छ। त्यसका लागि हामी सबैले आफ्नो स्थानबाट काम गर्नुपर्छ।'

राजदूत यान्छीले पनि भवन हस्तानतरणपछि नेपालकै पहिलो स्कूलबाट राम्रो शिक्षाको व्यवस्था हुनेमा आशा रहेको भन्दै त्यसमा पनि चीनले सहयोग गर्ने बताइन्।

***

जंगबहादुर राणाले बेलायतबाट फर्केपछि नेपालमा पनि औपचारिक शिक्षाको सुरुवात गर्नुपर्ने महसुस गरी १९१० सालमा स्कूल संचालन गरेका थिए। राणाले अंग्रेजी भाषा सिकाउनकै लागि भनेर बेलायतबाट अंग्रेजी शिक्षक समेत झिकाएका थिए। स्कुलको प्रारम्भमा कक्षाहरु छुट्याइएको थिएन। थापाथलीबाट सुरु भएको स्कूलमा पढ्ने विद्यार्थीहरुमा जङ्गबहादुरका छोरा र भतिजाहरु थिए। पछि १९४८ सालमा मात्रै रानीपोखरी अगाडि दरबार हाई स्कूलका लागि छुट्टै भवन बनाइएको थियो।

दरबार हाई स्कूलमा सर्वसाधरण जनताको पहुँच भने १९५७ मा भएको थियो। देवशम्शेरले जनताका लागि स्कूल खुल्ला गरे, जुद्ध शमशेरले विद्यालयको व्यवस्थापन खर्च सरकारले बेहोर्ने निर्णय लिए।

धेरैलाई थाहा नहोला, दरबार हाई स्कूलका रुपमा चिनिए पनि त्यस भवनमा दुई स्कुल थिए। १९९० मा अंग्रेजी माध्यम सहितको औपचारिक शिक्षा सुरुवात भएको दरबार हाई स्कूललाई २०२४ मा भानुभक्त माध्यमिक विद्यालय नामाकरण गरिएको थियो। १९३४ मा नै दरबार हाई स्कूलमा संस्कृत पाठशाला स्थापना गरिएको थियो। त्यसलाई अहिले संस्कृत माध्यामिक विद्यालयमा रुपमा चिनिन्छ।

भुँइतलामा संस्कृति माध्यमिक विद्यालयको पढाइ हुन्थ्यो भने माथिल्ला तलामा भानुभक्त माध्यमिक विद्यालयको पढाइ हुने गर्थ्यो। भूकम्पपछि भने दुवै स्कुलको पढाई केही समय त्यही अस्थायी टहरा बनाइ गरिएको थियो।

पछि, भवनको पुनर्निमाण गर्ने भएपछि भने चीनले नै प्रदर्शनी मार्गस्थित वाल्मिकी विद्यापीठमा अस्थायी शिक्षा केन्द्र बनाइदियो। त्यसयता दुवै स्कुलको पढाई त्यहीँ हुँदै आएको छ।

भूकम्पपछि टहरामा पढ्दै आएका विद्यार्थीहरु चीन सरकारले बनाइदिएको अस्थायी शिक्षा केन्द्र पनि उत्तिकै व्यवस्थित रहेको बताउँछन्।

भूकम्पपछि हाई स्कूलमै टहरामा पढेका मनिष नेपालले भने, 'यही टहरामा पढ्दा धुलोधुँवा, पानीले पढ्न गाह्रो हुन्थ्यो। चीनले बनाइदिएको टहरामा भने त्यस्तो हुँदैन। अलि गाह्रो त हुन्छ। तर पहिला भन्दा राम्रै छ।'

नयाँ बन्दै गरेको दरबार हाई स्कुलको भवन घुम्दै उनले चिनियाँ प्रविधिको तारिफ गरे। अब दरबार हाई स्कूल पुन: पुरानो स्वरुपमा फर्कन आशा व्यक्त गरे उनले।

दरबार हाई स्कूलकै संस्कृत माविको १० कक्षा अध्यनरत मनिष आउने विद्यार्थीहरुका लागि शैक्षिक गुणस्तर पनि सुधार गर्दै भवनको रेखदेख गर्नुपर्ने बताउँछन्। भन्छन, 'चीनले बनायो, हामी खुशी छौं। अब यसको हेरचाह गर्ने जिम्मेवारी हाम्रो हो। अहिले पनि हामी टहरामै छौं। भोलि यहाँ पढ्न आउनेका लागि भने सबै राम्रो होस्।'

बाल्मिकी परिसरको स्कुल


ट्रेन्डिङ पोस्ट

Ncell