PahiloPost

Jun 26, 2019 | ११ असार २०७६


मन्त्रीको साइरनदेखि किताब लेखनका 'कैरन'सम्म


अनन्त कोइराला

मन्त्रीको साइरनदेखि किताब लेखनका 'कैरन'सम्म

भत्केको पुलबाट कालोपुलतिर जाने खोलाको किनारको बाटो। बाटोसँगै जोडिएको तीनतले घर। गेटको छेउमै सँगै जोडिएका दुईवटा सटर। गेट खोलेर भित्र छिर्दा मुलढोका अगाडि एउटा गाडी पार्क गरिराखिएको छ। त्यहाँ कतै सुरक्षाकर्मी सेन्ट्री बसेका छैनन्।

भुइँतलाको मुल ढोकामा ठूलो चाबी झुण्ड्याएको छ। पहिलोपटक जाने हरकोहीलाई लाग्न सक्छ, घरमा कोही पनि छैनन्। घरको देब्रेपट्टि टिन लगाइएको एकतले टहरो छ। सुरक्षाकर्मी बस्नका लागि बनाइएको हुँदो हो, सायद। मुलढोकाको छेउमै अर्को सहायक ढोका छ, त्यही ढोकाबाट छिरेर पुगिन्छ माथिल्लो तल्ला। त्यही सिँढी चढेर तेस्रो तल्ला पुगेपछि जाली लगाएको ढोकाबाट छिरेर देब्रेतिर छ उनको बैठक कोठा। बैठक कोठामा बस्दा धोबी खोलाको गन्ध ह्वास्स आउँछ नाकमा।

शनिबारको दिउँसो। कालोपुलस्थित नेपाली कांग्रेसका एकताकाका प्रभावशाली नेता तथा मन्त्री चिरञ्जिवी वाग्लेको निवास पुग्दा उनको निवास सुनसान थियो। न कोही कार्यकर्ता, न कुनै तामझाम। २०६७ सालको चैत महिनामा भ्रष्टाचारको मुद्दामा जेल जानु अघिको उनको ‘शान र सौकत’ र लगभग ९ वर्षपछिको उनको निवासको यो शून्यताबीच आकाश पातालको फरक थियो। बैठकमा एकसेट पुरानो र सामान्य सोफा छ। सोफामा चकटी ओछ्याइएको छ। सोफाको अगाडि एउटा उस्तै पुरानो साधारण टि-टेबल छ। बैठक कोठाको ढोकामै जोडिएको सिंगल बेड लो-बेड छ र देब्रेपट्टि अर्को बेड छ।

२०४८ सालदेखि २०५८ सालसम्मको दश वर्षमा ७ पटक मन्त्री। स्थानीय विकास, सूचना तथा सञ्चार, आपूर्ति, भौतिक योजना तथा निर्माण, भूमिसुधारजस्ता मन्त्रालयको जिम्मेवारीदेखि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीसम्म। यो हो चिरञ्जिवी वाग्लेको परिचय। सरकारमा मात्र हैन उनी नेपाली कांग्रेसका पनि प्रभावशाली नेता थिए। झन् नेपाली कांग्रेसबाट छुट्टिएर बनेको नेपाली कांग्रेस (प्रजातान्त्रिक)मा उनको प्रभाव छुट्टै थियो।

मन्त्रीको साइरनवाला गाडी, अगाडि पछाडि सुरक्षाकर्मीको स्कर्टिङ्, गाडीमै पनि प्राय: सँगै हुने सहयोगीहरु। आजकाल उनका लागि त्यो केही छैन। उनी घरमै बस्छन्, पत्रिका र पुस्तक पढ्दै र लेख्दै। यो शुन्यता उनको लागि आनन्ददायक छ।

‘आजकाल त मलाई कोही मान्छे भेट्न आउँदा पनि मेरो समय नष्ट भयो कि जस्तो लाग्छ,‘ उनले यस्तै भने। मान्छे आएपछि गफ गर्नुपर्‍यो, समय दिनुपर्‍यो। त्यो समयमा मैले केही पढ्थेँ भन्ने लाग्छ उनलाई आजकाल। त्यसैले उनलाई मान्छे आएनन् भनेर दु:ख पनि लाग्दैन। ‘भेट्नै नआउने त होइनन्, आउँछन् कहिलेकाहीँ। तर पहिलेजस्तो छैन।‘ उनले यसो भनिरहँदा उनकी अर्धाङ्गिनी देब्रेपट्टिको बेडबाट उनलाई हेरिरहेकी थिइन्।

आजकाल मान्छे भेट्न नआउनु उनका लागि राम्रै भएको छ। समयको बचत। मन्त्री हुँदा र अहिलेको अवस्थालाई तुलना गर्दा उनको मुहारमा कुनै परिवर्तन देखिँदैन। ‘कार्यकर्ता भेट्न आउने भन्ने चैं मेरो कारणले भन्दा पनि म मन्त्री भएकोले मेरो कारणबाट उनीहरुलाई केही लाभ हुन्छ कि, केही काम हुन्छ कि भनेर आउनेहरुकै संख्या बढ्ता हुन्थ्यो,’ निवासमा भिडभाड हुने सन्दर्भबारे उनी भन्छन्, ‘त्योबेला आफ्ना निजी समस्याहरु लिएर आउने वा व्यक्तिगत स्वार्थभन्दा नराम्रो सुनिएला तर त्यस्तै समस्या लिएर आउने धेरै हुन्थे। आजकाल त्यसरी कोही आउँदैनन्।‘

उनको घरको सिढींमा रङ्गरोगनको काम भइरहेको थियो। पौने दुई बजेदेखि सवा चार बजेसम्म हामी बस्दा रङ् लगाउने मान्छे र उनकी जीवनसंगिनीबाहेक अरु कोही पनि घरमा आउने जाने गरेको देखिएन। यो कुनै नेताको घर हो जस्तो लाग्ने कुनै संकेतसम्म थिएन।

भ्रष्टाचारको अभियोगमा डेढ वर्ष जेलजीवन बिताएर फर्किएपछि राजनीतिक वृत्तमा नदेखिएका वाग्ले भन्दै थिए, ‘जेल त पहिले पनि परेकै हो तर पछिल्लोपटक फरक मुद्दामा जेल परेको थिएँ। म जेल पर्नुको नेपालको राजनीति बिग्रिएको कारण थियो। राज्य नै विरुद्ध लागेको हो।‘ उनले आफूलाई किन र कसरी फसाइयो, राजा कसरी उनका विरुद्ध लागे भनेर लामो वृत्तान्त सुनाए। तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले ‘तपाइँलाई मुद्दा लाग्ने त देखिएन तर लगाउनै पर्नेछ’ भनेकोदेखि तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुरसम्मको लाचारीका कथा पनि सुनाए।

अख्तियारको मुद्दामा सर्वोच्च अदालतले डेढ वर्ष जेल र २ करोड ३ लाख जरिवाना र त्यति नै बिगोको फैसला सुनाएको थियो उनलाई २०६७ को चैत्र महिनामा। अदालतको आदेशपछि उनलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको थियो। जेल पुगेको साँझ उनले आफुमा के कमजोरी भयो? आफुले के गल्ती गरेंँ र जेल आइपुगेँ भन्ने सोचेर बसे। ‘राजनीति बिग्रेको’ निष्कर्षसहित उनी निदाए। ‘मलाई कुनै चिन्ता, निद्रा नलाग्ने भएन। बिहान उठेपछि ध्यान, जप सकेर शुरु गरे लेखन। उनले जेलमै बस्दा ‘बन्धनशालामा खीर’ भन्ने उपन्यास लेखेका छन्।

२०४७/४८ राजनीतिक परिवर्तनका विषय रहेको किताब बजारमा रहेको उल्लेख गर्दै उनले यसमा थप परिमार्जनसमेत हुने तयारी रहेको बताए। पुस्तकमा उल्लेखित विषयमा त्यसका पात्रहरुको नाम नै उल्लेख गर्न उनलाई सुझाव आइरहेका छन्। उनले दोस्रो संस्करणमा पात्रहरुको नाम नै उल्लेख गर्ने सोच बनाएका छन्।

‘राजनीति बिग्रेर’ जेल पुगेको ठहर गरेका वाग्लेलाई लाग्छ, २०४८ पछि कांग्रेस र एमालेले केही मुद्दाहरुलाई साझा एजेण्डा नबनाउनु नै राजनीति बिग्रिनुको कारण हो। उसो त उनले त्यो समयको राजनीति ‘सुरासुन्दरी’मा भुलेको पनि स्विकार्छन्। सुरासुन्दरीको प्रसंगबाट उनले सांसदलाई रातारात बैंकक पुर्‍याएको घट्नाबारे संकेत गरेका थिए। ‘कहिलेकाहींँ ल खराब हुन थाल्यो है भन्ने त थाहा हुन्छ तर त्यसलाई परिस्थितिले भनौं वा चाहेर पनि रोक्न सकिँदैन,’ संसदीय राजनीतिले बाटो बिराएकोप्रति उनको टिप्पणि थियो। आफू पनि त्यसको हिस्सेदार रहेकोमा पनि उनी स्पष्ट छन्।

लेखन उनको रुचीको बिषय त हुँदै हो, तर अलिअलि त वाध्यता पनि। ‘म केही नगरी बस्न सक्दिनँ। तास खेलेर बस्न सक्दिनँ, टिभी हेरेर पनि लामो समय बस्न सक्दिनँ,’ उनले सुनाए, ‘मैले कि त लेखपढ नै गरेर बस्नुपर्‍यो, कि त साथीहरुसँग गफ गरेर बस्नुपर्‍यो।‘ दोस्रो विकल्प उनका लागि त्यति सहज छैन। उनीसँग आक्कलझुक्कल कुरा गर्ने फरक कुरा होला तर पार्टीका कोही पनि मान्छे छैनन् जो नियमित सम्पर्क वा गफगाफका लागि आउन्।

बिहानको तीन चार बजेतिरबाट शुरु हुन्छ उनको दैनिकी। ध्यान, जप त नियमित प्रक्रिया भइहाले। प्राणायम, शारिरीक व्यायामको दैनिकीमा अहिले थपिएको छ घुँडाको फिजियोथेरापी। नत्र त मन्त्री हुनुअघि, मन्त्री हुँदा र जेलमा बस्दा वा जेलबाट निस्किएपछि, बिहानको ध्यान, जपमा कुनै फरक आएको छैन भन्छन् वाग्ले। तर फेरिएको त ध्यान जपपछिको समय हो। पहिला ७ नबज्दै उनको निवासमा कार्यकर्ता र शुभचिन्तकहरुको भिड हुन्थ्यो। अहिले चैं उनी ७ बजेपछि लेखपढमा लाग्छन्।

उनको बैठक कोठाको एउटा कुनामा सानो सानो किताबको र्‍याग थियो। किताबहरु यताउता पल्टिरहेका थिए। भित्तामा मोनालिसा, भानुभक्त आचार्य र बुद्धका फोटा देखिन्छन्, अनि तिनै फोटाका बीचमा उनको एउटा फोटो। यतिबेला उनी बहादुर शाहलाई नायक बनाएर इतिहासको किताब लेख्दैछन्। पाण्डुलिपी लगभग तयार भैसकेको छ र उनी भूमिका लेखिदिने मान्छेको खोजीमा छन्। उनी कांग्रेसको इतिहास पनि लेख्ने तयारीमा छन्। ‘लेख्नको लागि त पढ्नुपरो, त्यसैले म अहिले धेरै समय पढ्नमै बिताइरहेको छु।‘ उनले यसअघि नै रणबहादुर शाहलाई नायक बनाएर बलिदानले बनेको देश प्रकाशित गरिसकेका छन्।

कांग्रेसका तीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवा सरकार प्रमुख भएका बेला उनी प्राय: हरेकपटक मन्त्री हुन्थे। कांग्रेसमा गिरिजाप्रसादको बोलबाला थियो। कांग्रेसमा छत्तिसे र बहत्तरे खेमा हुँदा उनी छत्तिसे समुहमा थिए। पार्टीमा गिरिजाप्रसादको ‘एकछत्र’ शासनको विरुद्ध थिए उनी। नेपाली कांग्रेस फुट्दा उनी शेरबहादुरसँगै नेपाली कांग्रेस (प्रजातान्त्रिक)तिर लागे। ‘मलाई त स्पोर्टसम्यान जस्तै बनाए नि्,’ उनले कांग्रेस पार्टी फुट्दाको समय सम्झिए। शेरबहादुरका विश्वासपात्रको रुपमा हेरिन्थ्यो उनलाई। अहिले तिनै शेरबहादुर पार्टी सभापति छन्। वाग्ले चाहिँ राजनीतिबाट टाढा।

कस्तो छ त उनको देउवासँग सम्बन्ध? ‘त्योबेला म देउवासँग हैन, देउवा मसँग नजिक थिए,’ वाग्ले निर्धक्क भन्छन्, ‘उनको मसँग काम हुन्थ्यो, उनको स्वार्थपूर्ति हुन्थ्यो, अहिले मसँग उनको काम नै छैन।‘ यति भनिरहँदा उनले सम्बन्ध नराम्रै भएको भने मानेनन्। काम नभएपछि सम्बन्ध यसै तटस्थ हुँदारहेछन्, विशेषगरी राजनीतिमा भन्ने उनले बुझेका छन्। वाग्लेजस्तै भ्रष्टाचारको मुद्दामा जेल बसेर फर्किएपछि पनि खुमबहादुर खड्का लगभग पुरानै शानमा पार्टी फर्किए। पार्टीमा उनको शक्ति कम भएन। उनका अर्का सहयात्री जेपी गुप्ताले आफ्नै पार्टी खोले। तर वाग्लेको पुरानो शान फर्किएन।

राज्यकोषको दुरुपयोग गरेको वा कुनै पदमा बसेर अनैतिक तवरबाट अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा जेल बस्नु पनि राज्यद्रोहभन्दा फरक जेल बसाइ हो। ‘भ्रष्टाचारी ठहर’ भएर जेल जानुसँग सामाजिक प्रतिष्ठा पनि जोडिन्छ। तर वाग्ले भन्छन्, ‘यो सामाजिक प्रतिष्ठा केलाई भन्ने? यसलाई फसाइयो, अन्याय गरियो भनेर धेरैले भन्छन्। अनि अर्काथरी हुन्छन् गाली गर्ने। गाली गर्नेसँग मुखमुखै लाग्न नि सकिन्नँ। ईश्वरलाई त गाली गर्छन्, हामी त झन् सामान्य मान्छे।‘

उनलाई आफ्नो जीवनको उतारचढावले पनि खास्सै असर गरेको छैन। ‘मेरी आमाले हद्द भए यो ठूलो पण्डित हुन्थ्यो भनेर सोचेकी थिइन् होला, मन्त्री नै बन्ला भन्ने त सोचेकी पनि थिइनन् पक्कै पनि,’ आफुले हासिल गरेको उचाइबारे उनले थपे, ‘यहाँसम्मको यात्रामा मैले दु:ख मान्नुपर्ने केही छैन।‘ सामाजिक इज्जत, प्रतिष्ठा, मान, सम्मान पनि शक्ति हुन्जेलका क्षणिक वस्तु रहेछन्। वाग्लेको अहिलेको जीवनशैलीले यही देखाउँछ।

उनीसँगैका सहकर्मीहरु राजनीतिको मैदानमा लुछाचुँडी र झिनाझम्टीमा भुलिरहेकाबेला उनी चाहिँ योसबैबाट टाढा छन्। राजनीति चटक्कै छोडेर बस्न सकिन्छ त? समय प्रतिकुल नहुन्जेल त सकिन्छ। कुनैबेला समय अनुकूल भयो भने वाग्लेलाई फेरि क्रियाशील राजनीतिमा देख्न सकिन्छ। त्यही पुरानै पार्टीमा। ‘जहाँ जन्मिइयो, त्यहीं नै हो मर्ने’, राजनीतिमा आउँदा कुन पार्टीमा जाने त भन्ने प्रश्नमा उनको जवाफ थियो।

‘सबैभन्दा ठूलो कुरा आत्मसन्तुष्टि नै हो। अहिले मलाई लेखपढमा आत्मसन्तुष्टि मिल्छ, लेख्ने पढ्ने काममा लागेमा एक वर्ष बढ्तै बाँचिएला,’ आफ्नो जीवनशैलीबारे उनको धारणा यस्तै छ। आफू पटकपटक मन्त्री भैसकेको र कार्यबाहक प्रधानमन्त्री (राजा ज्ञानेन्द्रको शासनकालमा प्रधानमन्त्री देउवा विदेश जाँदा वाग्ले काबा प्रम भएका थिए) भइसकेकोले आफ्नो त्योभन्दा माथि पुग्ने ठाउँ नभएकोले पनि उनलाई आत्मसन्तुष्टि मिलेको उनको बुझाइ छ। आफूले जानेको कि त राजनीति हो या त लेखपढ, त्योभन्दा अरु काम गर्न सकिन्नँ भन्नेमा पनि उनी ढुक्क छन्। ‘अहिलेलाई लेखपढमै आनन्द छ,’ उनले भने।

त्यसो त उनले राजनीतिमा फर्किने कोसिसै नगरेका होइनन्। नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा उनी गोरखाबाट सबैभन्दा बढी मत पाएर महाधिवेशन प्रतिनिधि चुनिएका थिए। पार्टीको केन्द्रीय सदस्यमा खुल्लातर्फबाट चुनावमा उठेका पनि थिए तर जित्न चाहिँ सकेनन्। उनी २०६४ को संविधानसभाको निर्वाचनमा गोरखाबाट एमाओवादी उमेदवार पार्वती थापासँग पराजित भएका थिए।

१३ औं महाधिवेशनमा खुमबहादुर खड्का वाग्लेको घर पुगेका थिए, कसलाई सघाउने भन्नेबारेको छलफल गर्न। वाग्लेले उक्त दिनको स्मरण गर्दै भने, ‘खुमबहादुरजी त्यहाँ बस्नुभएको थियो (हामीबसेको सोफा देखाउँदै)। म यहीं बसेको थिएँ। मैले वहाँलाई भनेँ, शेरबहादुरले पद पाउने लोभमा जहाँसुकै हस्ताक्षर गर्छन् तर सुशीलले त्यसो गर्दैनन्।‘ महाधिवेशन सुरु नहुँदै सुशील कोइरालाको मृत्यु भयो। खुमबहादुरले शेरबहादुरलाई सघाए र उनी केन्द्रीय सदस्य पनि भए। तर वाग्लेलाई सघाउने कोही भएनन्।

गोरखा जिल्लामा रहेको बुढी गण्डकी जलविद्युत आयोजनाले आयोजना प्रभावित स्थानका जग्गावालालाई मुआब्जा दिएको थियो। त्यसमा उनको पुर्ख्यौली ६ रोपनी जग्गा पनि परेको थियो। त्यसबापत पाएको २२ लाख बढी पैसा वाग्लेले कोटकाली भुमे मन्दिरलाई दिए। हामीले सोध्यौं, ‘के यो प्रायश्चित थियो?’

उनले सहजै जवाफ दिए, ‘कसैले यसलाई प्रायश्चित नै ठान्छन् भने नि केही फरक पर्दैन। तर वास्तिवकता के हो भने यो जग्गा पहिला नै मन्दिरलाई दिइएको हो, मुआब्जाको पैसा चाहिँ पछि पाएको हो।‘



मन्त्रीको साइरनदेखि किताब लेखनका 'कैरन'सम्म को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट