PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

लालबन्दीबाट सुरु भयो बक्स अफिस, प्रदेश २ का १० हल प्रणालीमा आवद्ध



पहिलोपोस्ट

लालबन्दीबाट सुरु भयो बक्स अफिस, प्रदेश २ का १० हल प्रणालीमा आवद्ध

सर्लाहीः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बक्स अफिस प्रणालीले पारदर्शी समाज र व्यावसायिक शुद्धता कायममा सहयोग पुग्ने बताएका छन्।

सर्लाहीको लालबन्दी नगरपालिकास्थित  वीणा चलचित्र मन्दिरमा शनिबार सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम (बक्स अफिस) शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

“व्यावसायिक शुद्धता आएपछि राज्य आर्थिक रुपमा बलियो हुन्छ”, मन्त्री बाँस्कोटाले भने, “बक्स अफिस प्रणालीले निर्माता र कलाकारलाई पनि सबल र सफल बनाउँछ।”

टिकट काटेर कागजको खोस्टा रेकर्ड राखेर आर्थिक अनियमितता गर्ने प्रणालीको अब अन्त्य हुने मन्त्री बाँस्कोटाले बताए। बक्स अफिस प्रणालीबाट नागरिकले तिरेको कर नागरिकतिर नै फर्किने उनले उल्लेख गरे।

मन्त्री बाँस्कोटाले नेपालमा प्रसारण गरिने विदेशी विज्ञापनमा विदेशी कलाकारको ठाउँमा नेपाली कलाकारले अभिनय गरेको विज्ञापन प्रसारण गर्नुपर्ने र हलहरु अनिवार्यरूपमा १८० दिन चलाउनुपर्ने कुरामा जोड दिए।

काठमाडौँ उपत्यकामा एक वर्ष अगाडिदेखि नै बक्स अफिस सिस्टम लागू भए पनि उपत्यका बाहिर मोफसलमा लागू हुन सकेको थिएन। राज्यलाई आर्थिकरूपमा बलियो बनाउन, निर्मातालाई सबल बनाउन र कलाकारलाई उचित पारिश्रमिक दिलाउनका लागि बक्स अफिस सिस्टम लागू गरिएको चलचित्र विकास बोर्डले जनाएको छ। उपत्यकामा गत वर्षको साउन १ गतेदेखि नै बक्स अफिस लागू गरिएको छ।

लालबन्दीमा गरिएको उद्घाटनसँगै प्रदेश नं २ का १० हलले बक्स अफिस प्रणालीबाट टिकट काट्न सुरु गरेको बक्स अफिस संयोजक नरेन्द्र महर्जनले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell