PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

बजेटमा सम्बोधन लगत्तै एनआरएनएको सीपको अभिलेख राख्दै सरकार, 'ब्रेन गेन सेन्टर' स्थापना



बजेटमा सम्बोधन लगत्तै एनआरएनएको सीपको अभिलेख राख्दै सरकार, 'ब्रेन गेन सेन्टर' स्थापना

काठमाडौं: सरकारले गैरआवासीय नेपाली तथा विदेशमा रहेका नेपालीहरुको क्षमता र ज्ञानको अभिलेख राख्न सुरु गरेको छ। परराष्ट्र मन्त्रालयले 'ब्रेन गेन सेन्टर' स्थापना गरी उनीहरुको ज्ञान सीप र क्षमताको अभिलेख गर्न सुरु गरेको हो।

यही जेठ १९ गते अनलाइन डाटाबेसको सुरुवात गर्दै मन्त्रालयले विदेशमा रहेका गैरआवासीय नेपाली, विदेशमा अध्ययन तथा काम गरिरहेका नेपालीहरुको क्षमताको पहिचान गर्न अभिलेख राख्न थालेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

१९ गतेदेखि सुरु गरिएको डाटाबेसमा हालसम्म विभिन्न ४१ देशमा रहेका ५०० बढी नेपालीहरु समावेश भइसकेको मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए।

ब्रेन गैन सेन्टरले नेपाली डायस्पोराका विज्ञहरुको पहिचान तथा उनीहरुको क्षमताको पहिचान गर्दै देश निर्माणमा योगदान पुर्‍याउने लक्ष्य लिइएको छ। त्यस्तै उनीहरुले गरेका कामहरुको प्रवर्द्धन गर्दै उनीहरुको सम्मान पनि यसको उद्देश्य रहेको छ।

सेन्टरले उनीहरुको ज्ञान सीपलाई नेपाल सरकारका मन्त्रालय तथा अन्य सरकारी निकाय सामाजिक संस्थाहरुसँग जोड्ने कामसमेत गर्ने प्रवक्ता पौडेलले जानकारी दिए। त्यस्तै उनीहरुलाई एक अर्कासँग जोडिँदै आफ्ना नेपालमा काम गर्न सहयोग गर्ने छ। उनीहरुलाई आधिकारिक मान्यता प्रदान गर्दै उनीहरुको कामलाई नैतिक समर्थन तथा सम्मान दिलाउन यसले सहयोग गर्ने बताइएको छ।

यसको मुख्य उद्देश्य मुलुकको विकासमा उनीहरुको सीप र ज्ञानको परिचालन गर्नु भएको प्रवक्ता पौडेलले जानकारी दिए।

यसको सञ्चालन, संयोजन र सहजीकरण परराष्ट्र मन्त्रालयको नीति, योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपाली सम्बन्धी महाशाखाबाट हुनेछ।

बजेटमा सम्बोधन

आगामी वर्षको बजेटमा समेत एनआरएनको सीपलाई सम्बोधन गरिएको छ। एनआरएनएको सीपलाई विशेष प्राथमिकतामा राख्दै ज्ञान, पूँजी र प्रविधिलाई नेपालको विकासमा उपयोग गर्न आकर्षित गर्ने अर्थमन्त्री डा युवराज खतिवडाले घोषणा गरे। बजेटको पाठमा भनिएको छ, ‘गैरआवासीय नेपालीहरूको अन्तर्रा्ष्ट्रिय संजाल, ज्ञान, सीप, पूँजी र प्रविधिलाई नेपालको आर्थिक सामाजिक विकासमा उपयोग गर्न आकर्षित गरिनेछ।’

परराष्ट्र नीतिबारे राष्ट्रिय संवाद आयोजना गरिने

यसैबीच मन्त्रालयले नेपालको परराष्ट्र नीतिका विषयमा 'नेसनल डायलग'को आयोजना गर्ने भएको छ। असार १४ गते आयोजना हुने संवाद कार्यक्रमले नेपालले अवलम्वन गर्नुपर्ने परराष्ट्र नीतिको साझा दृष्टिकोण तय गर्ने बताइएको छ।

संविधान जारी भएपछि मुलुक नयाँ युगमा प्रवेश गरेको छ। यस्तो अवस्थामा नेपालका राजनैतिक दलहरू, परराष्ट्र मामिलाका क्षेत्रमा अध्ययन अनुसंधानरत संस्थाहरू एवं परराष्ट्र मामिला विज्ञहरू सहितका सरोकारवालाहरूको सहभागितामा डायलगको आयोजना गर्न लागिएको हो।

कार्यक्रमले संविधानको मर्म एवं भावना अनुरूप वर्तमान विश्व परिवेशलाई सुहाउँदो परराष्ट्र नीति निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्री ज्ञवालीले विस्वास लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell