PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'नाक काटेको' विषयमा सेन्सर बोर्डले रोकेको ऐतिहासिक चलचित्र 'कीर्तिपुर’को प्रदर्शन मिति तय



'नाक काटेको' विषयमा सेन्सर बोर्डले रोकेको ऐतिहासिक चलचित्र 'कीर्तिपुर’को प्रदर्शन मिति तय

काठमाडौं : तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान कीर्तिपुरमा गरेको आक्रमणलाई मुख्य विषय वस्तु बनाएर निर्माण भएको ऐतिहासिक चलचित्र ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ को प्रदर्शन मिति तय भएको छ।

प्रदीप खड्गीद्वारा निर्देशित उक्त चलचित्र असार १३ गते देखि प्रदर्शनमा आउने भएको हो। फोकस पिक्चर्सको ब्यानरमा बनेको यस चलचित्रको निर्माणका लागि २०६८ सालदेखि नै अनुसन्धान सुरु भएको थियो। २०७० सालदेखि निर्माण सुरु भएको यो फिल्म करबि एक वर्षअघि नै प्रदर्शन गर्ने तयारी थियो। तर फिल्मको विषयवस्तुका कारण सेन्सर बोर्डले फिल्म पास नगरी धेरै समय अल्झाउँदा भने निर्धारित मितिमा फिल्म प्रदर्शन हुन सकेन।

फिल्मका कला निर्देशक केके मानन्धरले भने, 'सेन्सर बोर्ड खास गरी गृह मन्त्रालयका एक अधिकारीका कारण फिल्मलाई सेन्सरले पास गर्न मानेको थिएन। पृथ्वीनारायण शाहले एकीकरण गरेको विषय, नाक- कान काटेको विषय, युद्धबन्धी, नाकाबन्दी सम्बन्धी विषयमा धेरै मतभिन्नता रह्यो। तर अन्तिममा यो फिल्मको प्रदर्शन मिति जुरेको छ।'

फिल्म कीर्तिपुरकी योद्धा कीर्तिलक्ष्मीको वीरगाथा प्रस्तुत गरिनेछ।

१८२२ मा भने पृथ्वीनारायणले काठमाडौँ, भक्तपुर र ललितपुरलाई कूटनीतिक रूपमा नियन्त्रण गरी कीर्तिपुरमाथि नाकाबन्दी लगाए। सयौँ कीर्तिपुरबासी योद्धाहरूले ज्यान जोगाए। युद्धका क्रममा कीर्तिपुरबाट लडिरहेका पुरुषहरूको मृत्यु भइसकेको थियो। १८२२ चैत्र २६ गते  कीर्तिपुरले आत्मसमर्पण गर्‍यो।

तेस्रोपटक आक्रमण गर्दासम्म गोर्खाली फौजलाई अन्तिमसम्म रोक्ने योद्धा थिइन् कीर्तिलक्ष्मी।

महिला भए पनि उनी धेरै समय पुरुषको भेषमा देखिन्थिन्। उनको अनुहार कपडाले छोपिएको हुन्थ्यो। राजपरिवारसँग नजिक कीर्तिलक्ष्मीको युद्ध कौशलको गाथा ललितपुरमा रहेका शिलालेखहरूमा रहेको स्थानीय शुद्धरत्न महर्जनको दाबी छ। पृथ्वीनारायणले विजय हासिल गरेपछि चैत्र २७ गते ८६५ जनाको नाक, कान र ओठ काटेको र कीर्तिपुरका घर, दरबार नष्ट गरेका थिए। त्यही बेला कीर्तिपुरको इतिहास सबै ध्वस्त बनाएको महर्जन दाबी गर्छन्।

फिल्म निर्देशक खड्गी भन्छन् ‘ऐतिहासिक चलचित्र बनाउने वर्षौंको सपना अब साकार भयो। आफु कीर्तिपुरबासी भएकै नाताले पनि रहस्यको गर्भमा रहेको कीर्तिपुर आक्रमण घटनालाई चलचित्रमा उतार्न सफल भएकोमा उत्साही छु।’ पृथ्वीनारायण शाहको नेपाल एकिकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढंगले चित्रण गरिएको यो चलचित्रलाई अहिले आएर प्रदर्शनको अनुमति दिएको निर्देशक खड्गीले बताए। सेन्सर बोर्डले यो चलचित्रलाई यूनिभर्सल सर्टि्फिकेट दिएको छ।

चलचित्रमा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित लगायतका कलाकारहरुले अभिनय रहेको छ। शंकर महर्जन र नविन जोशीको छायांकन रहेको यस चलचित्रलाई प्रेम खड्गी र अनन्त श्रेष्ठले निर्माण गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell