PahiloPost

Sep 22, 2019 | ५ असोज २०७६


मछिन्द्रनाथको झल्को दिने जगन्नाथ रथयात्रा: देवता सवार हुने 'गरुडध्वज' बनाउँदै ओडिशाका 'महाराणा'हरू


स्वेच्छा राउत

मछिन्द्रनाथको झल्को दिने जगन्नाथ रथयात्रा: देवता सवार हुने 'गरुडध्वज' बनाउँदै ओडिशाका 'महाराणा'हरू

काठमाडौँ: दुई मानिस एक-अर्कातर्फ फर्किएर थ्याच्च भुईँमा बसेका छन्। बिचमा एउटा काठको गोलिया, त्यसलाई आकार दिएर चिर्नु छ। दुबै जना दुईतिरबाट पालै पालो आरा आफै तिर तान्दै छन्। मेसिनको प्रयोग वर्जित छ। किनकि काठ थोरै पनि यताको उता काटिनु हुँदैन। आराले ठाउँ नछोडोस् भन्ने धेयले छिनछिनमा कोही जान्छ र गोलियामाथि थपक्क बस्छ।

सडकको एक छेउमा पंडाल बनाइएको छ। त्यही भित्र काठ चिर्ने, खुर्काउने र विभिन्न आकार दिने काम भइरहेको छ। काम गरिरहेका सबै सेन्डो र पातलो धोतीमा देखिन्छन्। अचाक्ली गर्मी छ। कपालदेखि आङ्सम्म पसिना। पिउने पानी ल्याएर दिन खटिएकाहरुलाई समेत थकाइ मार्ने फुर्सद छैन।

पंडालभित्र काठको रथ बनाउने काम भइरहेको छ। तीन वटा फरक रथहरू।

पंडालको छेउछाउमा कोही सामान बेच्नमा व्यस्त छन्। कोही ती सामान छान्न र किन्नमा मस्त। केही भने रुख काटेर, खुर्केर, एउटा टुक्रामा अर्को जोडेर बनाइएको पाङ्ग्रा हेर्न। कति फोटो खिच्नमै रमाएका देखिन्छन्। बजारमा भिड बढेको छ।

यो चहलपहल र रौनक हो जगन्नाथ रथ यात्राको। आउँदो असार शुक्ल पक्ष द्वितीयाको दिन सुरु हुने रथ यात्राको तयारी भइरहेको छ यहाँ। जसका लागि काठका तीन फरक रथ र ती रथलाई तान्ने घोडाको प्रतिमा बनाइँदै छ।

प्रतिमा निर्माणमा सक्रिय छन् ओडिशाका महाराणा समुदायका कारिगढहरु। उनीहरू काठको काम गर्ने समुदायको रूपमा चिनिन्छन्। तर, रथ बनाइरहेका यी सबै शिल्पकार वा सिकर्मी भने होइनन्। कोही व्यापारी हुन्, कोही अध्यापक अनि कोही वकिल पनि।

तीनै मध्य एक रञ्जित महाराणा; जो रथ बनाउने पारिवारिक जिम्मेवारी सम्हाल्ने काममा लागि परेका छन्।

उमेरले चार वर्ष पुगे पछिको रथ यात्रा सम्झन्छन् उनी। मेलामा मान्छे धेरै हुन्थे। त्यसैले भिडमा जान पाउँदैन थिए। बरु मेला सुरु हुनुभन्दा अघिको त्यो क्षण मजाले याद छ उनलाई, जब बुबाले डोहोर्यारउँदै जगन्नाथ मन्दिर छेउ लान्थे। दिनभर आफू काठ चिर्ने देखि ओसार पसारको काम गर्थे। र भन्थे, ‘हेर्दै गर। सिक्नुपर्छ भोलि-पर्सी तैँले पनि यो सब गर्नुपर्छ।’ बुबाको कुरा सुनेर दङ्ग पर्दै काठका साना टुक्राहरू यताबाट उता पुर्‍याउथे, भुसहरू फाल्न सघाउँथे उनी।

चालिस वर्षका भए अहिले। बुबाले भने जस्तै रथ बनाउने काम थालेको पनि १५ वर्ष भइसक्यो। हरेक महाराणा परिवारबाट एकजना रथ बनाउन सामेल हुने परम्परा छ। जसलाई उनले नकार्न सकेनन्। त्यसैले घरमा रहेको खुद्रा पसल बन्द गरेरै सहभागी हुन्छन्। त्यो पनि दुई महिनाको लागि। किनकि रथ बनाइ सक्न दुई महिना लाग्छ।

रथ निर्माणको काम वसन्त पञ्चमीका दिनबाट सुरु हुन्छ। यो कामको सुरुवात काठका लागि रुख छनोटसँगै सुरु हुन्छ। पर्याप्त रुख सङ्कलन पश्चात् अक्षय तृतीयाबाट रथ निर्माणको कामले तीव्रता पाउँछ। परम्पराप्रतिको सम्मान र जिम्मेवारीवोधले महाराणा परिवारलाई जगन्नाथ मन्दिरको परिसरसम्म तान्छ। जहाँ रथ बनाउने काम हुन्छ।

करिब ३०० जना महाराणहरु दैनिक रथहरू बनाउन आफ्ना सबै काम थाती राखेर जुट्छन्। मिस्त्री, शिल्पकार, सिकर्मीदेखि खाजा, पानी ओसार्नेसम्म। सबैलाई जिम्मेवारी अनुसार दैनिक एक सय ९१ देखि पाँच सय रुपैयाँसम्म ज्याला दिन्छ जगन्नाथ मन्दिर व्यवस्थापन समितिले। सोही ज्याला उनीहरूको बस्ने, खाने, ओहोर दोहोर गर्ने खर्च हो। जुन ज्यालाको लागि काम गरेका भने होइनन् उनीहरूले।

‘रथ बनिसकेपछिको खुसी कुनै क्यामरामा पनि कैद हुन सक्दैनन्। त्यही सन्तुष्टिको लागि काम गर्छौँ हामी’, रञ्जित बोल्छन्, ’हामी सबैको पसिना मिलेको छ यसमा भन्ने भाव जाग्छ। एकअर्कासँग झनै नजिक हुन्छौँ।‘

एलएलबी गरेका उनका लागि थुप्रै जागिरहरूको अवसर आए। तर, हरेक वर्ष दुई महिना वा त्योभन्दा बढी बिदा रथ निर्माणदेखि यात्रासम्मको लागि लिनु पर्ने भयो। जुन बिदा स्वीकार हुनु सम्भव नै थिएन। त्यसैले पढाई सकेको केही समयमै सम्बन्धित काम छोडे र पसल खोलेर बसे उनले।

रथ बनाउनुको सन्तुष्टिबाट पर रहेका यी तितो यथार्थलाई खुसी-खुसी आत्मसात् गर्न भने सकेका छैनन् उनले। किनकि कानुनी पेसामा राम्रो कमाइ हुने, इज्जत हुने आशा लिएर पढेका थिए। पहिलो पटक ओडिशाकै अधिवक्ता विवेकानन्द मिश्रको ल फार्ममा उनीसँगै बसेर काम गर्दाको क्षण सम्झँदा आज पनि दङ्ग पर्छन्।

‘त्यही पेसालाई निरन्तरता दिन पाएको भए पसलमा भन्दा राम्रो आम्दानी हुन्थ्यो। मानिसले इज्जत गर्थे। यहाँ त हामी सिर्फ कामदार हौँ। जसलाई न्यून पारिश्रमिक मात्र मिल्छ। धन्न हामी परम्परा र सन्तुष्टिका लागि काम गर्छौँ’, उनी गुनासो पनि खुलेर गर्दैनन्।

उनीजस्तै जागिर छाडेर काठ चिर्ने काममा लागेका छन् शङ्कर महाराणा। बिदा अवधिभरको तलब काटिएर आउँदा महिना दिन घर चलाउन मुस्किल पर्छ उनलाई। तर, रथ बनाउने कामलाई नकार्न सक्दैनन्। यो कामलाई आफ्नो धर्म मान्छन् उनी। भन्छन्,’यो बाध्यता होइन जिम्मेवारी हो। जिम्मेवारीबाट भाग्नु धर्मबाट भाग्नु सरह हुन्छ।'

उनले बयान गरेको धर्ममा तीन रथ अटाउँछन्। तीन रथमा जगन्नाथ मन्दिरमा भएका तीन देव-देवीहरू जगन्नाथ;  विष्णु, विष्णुसँगै उनका भाइ बलराम र बहिनी सुभद्राको मूर्ती फरक फरक रथमा राखेर नगर परिक्रमा गराइन्छ।

रथ बनाइरहेका शिल्पकारहरूका अनुसार करिब ४५ फिट ६ इन्च अग्लो हुन्छ जगन्नाथको रथ। सोह्र पाङ्ग्रासहितको उक्त रथलाई रातो र पहेँलो कपडा साथै अन्य बहुमूल्य सामाग्रीहरूले सजाइन्छ। यो रथलाई गरुडध्वज पनि भनिन्छ।

त्यस्तै ४५ फिट अग्लो हुन्छ दोस्रो रथ। रातो र हरियो कपडा बेरिएको चौध पाङ्ग्रे यो रथ बलरामको हो, जसलाई ताल ध्वज नाम दिइन्छ। र, तेस्रो रथ हो सुभद्राको। दर्पदनल पनि भनिने यो रथ सबैभन्दा होचो हुन्छ, ४४ फिट ६ इन्चको।  १२ पाङ्ग्रासहितको रातो, कालो र निलो रङ्गको यो रथ लामको अन्तिममा हुन्छ।

दुई महिना लामो मिहेनत पछि तयार हुने रथसँगै घोडाको प्रतिमाहरू देखिन्छन्। सडकको बिच भागमा राखिन्छन् रथ। बजारसँगै तीस फिट चौडा सडक खाली गरिन्छ। रथहरूसँगै जोडिएका काठका घोडाभन्दा अघिल्तिर हुने डोरीको सहायतामा रथ तानिन्छ। जसलाई छुनको लागि हजारौँ हिन्दु धर्मावलम्बीहरूको घुइँचो लाग्छ। किनकि रथ छुन पाउनु अहोभाग्य हो भन्ने विश्वास स्थापित छ।

अरू दिन हिन्दु बाहेक अन्य धर्मावलम्बीलाई प्रवेश निषेध हुने जगन्नाथ मन्दिरमा त्यस दिन के हिन्दु के मुस्लिम के इसाई सबैको उपस्थिति हुन्छ। सबै धर्मावलम्बीका लागि यो दिन मन्दिर खुला हुन्छ। ‘यही नै यो रथ यात्राको विशेषता हो। कसैको पहिचानका वा धर्म वा जातको खोजी हुँदैन। महिला पुरुष एक समान रथ तान्न, धकेल्न लाग्छौँ’, स्थानीय देवाशिष साहु भन्छन्,'यो रथ यात्रा एकता र समानताको सन्देश हो। किनकि हजारौँको बल मिसिएपछि बल्ल रथ गुड्छ। त्यहाँ बस् रथको पाङ्ग्राले ठाउँ छोड्यो कि छोडेन हेरिन्छ। जात, धर्म, लिङ्गको मतलब हुन्न।'

'रथ तयार हुन्छ। विधिवत् अनुष्ठान र पूजापछि मूर्तीहरू मन्दिरबाट निकालिन्छन्। रथमा राखिन्छ,' असार शुक्ल पक्ष द्वितीयाको दिन सुरु हुने रथयात्राको स्मरण गर्दै स्थानीय लव साहुले भने, 'नगडा, ढोल, शंखलगायतको आवाज गुञ्जायमान हुन्छ। मान्छेहरू गाउँदै, बजाउँदै, नाच्दै रथको अघि पछि लाग्छन्।'

मूर्तीलाई जगन्नाथ मन्दिरबाट तीन किलोमिटर टाढा गुण्डिचा मन्दिरमा लगेर राखिन्छ। 'यो मन्दिर जगन्नाथको सानीमाको घर हो,' उनले भने। पौराणिक मान्यताका अनुसार गुण्डिचा मन्दिरमा देव शिल्प विश्वकर्माले जगन्नाथ, बलराम र सुभद्राको मूर्ती बनाएका थिए। पछि त्यहाँ देखि ती मूर्ती जगन्नाथ मन्दिरमा स्थापना गरियो। यही विश्वासका साथ जगन्नाथबाट निकालिएका मूर्तीहरूलाई गुण्डिचा मन्दिरमा सात दिन राखिन्छ। 'देवताहरूलाई सात दिन आराम गराइन्छ। भजन किर्तन हुन्छ। १० दिन पछि पुन जगन्नाथ मन्दिरमै फर्काइन्छ,' साहुले भने। 

मूर्ती निकाले देखिको दसौँ दिनमा रथ फर्काइन्छ। तर, सोही दिन मूर्ती पुनर्स्थापना भने गरिँदैन। त्यसको भोलिपल्ट अर्थात् एकादशीको दिन मूर्तीहरूलाई विधिवत स्नान गरापछि बल्ल यथास्थानमा राखिन्छ।

रथ बनाइरहेका सिकर्मी बटुक कृष्ण महाराणालाई रथयात्रा भर रथमा खराबी आएन भने अधिक खुसी मिल्छ। भन्छन्, ‘भगवान् सबैको पहुँचमा हुन्छन्। सबैले देख्छन्। दर्शन गर्छन् हामी मख्ख पर्छौँ। अझ बढी खुसी त रथहरूमा केही समस्या नआउँदा हुन्छौँ।'

समुद्र किनारमा रहेको पुरीमा हुने यो रथ यात्रामा हरेक वर्ष दश लाखभन्दा बढी तिर्थालुको सहभागिता रहने रथ निर्माणमा लागिरहेका रञ्जित महाराणाको भनाइ छ।

जसको केन्द्रमा रहन्छ महाराणा समुदायको शिल्प। एउटा पुस्ताबाट अर्कोमा हस्तान्तरण हुँदै यो शिल्पीको पुस्तान्तरण हुन अत्यावश्यक छ। र त, आफ्ना  छोराहरूलाई तयार गर्दै छन् रञ्जित, शङ्कर, बटुककृष्णहरू।

रञ्जित महाराणा आफ्ना १२ वर्षीय छोरा जितमन्युलाई पनि रथ निर्माणमा लागेको हेर्न चाहन्छन्। तर, उनी चाहँदैनन् छोराले पनि आफूले जस्तै पढाई, व्यवसाय सबै त्यागेर रथ बनाउन लागि परोस्। ‘आफ्नो अनुकूल र इच्छा अनुसार सहभागी हुने वातावरण चाहिँ मिल्नुपर्छ। यो कुरा व्यवस्थापन गर्ने निकायले बुझ्नुपर्छ’, उनी भन्छन्, ’हृदयदेखि नै परम्पराप्रति सम्मान भएकाहरूले जसरी पनि समय निकाल्छौँ नि। दुई महिना नै नहोला तर कम्तीमा बिस, तीस वा त्योभन्दा बढी वा केही दिन घटी पनि।'

आर्थिक पाटो बाहेक कामदारलाई गरिने व्यवहार र दिइने इज्जतमा पनि चित्त बुझाइ छैन उनीहरूको। भन्छन्, ’मानिसको भिड र उनीहरूले गर्ने फोहोर व्यवस्थापनको जिम्मा त विभिन्न निकायले लिन्छन्। हाम्रो लगन, इमान्दारिता र भावनामा लाग्ने चोटको चाहिँ हिसाब हुँदैन। तर, पनि ठिकै छ। हामी भगवानको लागि काम गर्छौँ।'

यहाँ महाराणाको रथ निर्माण प्रतिको लगनशीलताले नेपालमा चलिरहेको रातो मछिन्द्रनाथको रथ यात्राको झल्को दिलाउँछ। रातो मछिन्द्रनाथको रथ निर्माणका लागि पाटनका बाराही समुदायका वृद्ध तथा युवाहरू हरेक वर्ष खटिन्छन्। वर्षौँ देखि यस समुदायका मानिसहरू वर्षको एक पटक एक महिना रथ बनाउनकै लागि समय दिँदै आएका छन्। त्यस्तै ञँवा समुदायकाहरुले पनि बेतको डोरी बाट्नका लागि समय दिन्छन्।

ललितपुरको पुलचोकमा निर्माण भएको रथ नगरको विभिन्न भेग परिक्रमापछि बिहीबार जावलाखेल पुर्‍याइँदैछ। जगन्नाथको रथमाजस्तै मछिन्द्रनाथको रथ निर्माणमा पनि कुनै आधुनिक औजारको प्रयोग बन्देज छ। दुई फरक देशका फरक समुदायले तान्दै आएको दुवै रथको बनाउने तरिका सयौँ वर्षदेखि उस्तै छन्।

जगन्नाथको रथ यात्रा यो पटक जुलाई ४ का दिन सुरु हुँदैछ। नेपालबाट पनि सयौँको सङ्ख्यामा तिर्थालुहरु ओडिशा राज्यको पुरी पुग्ने गरेका छन्।

-ओडिशाबाट फर्केर



मछिन्द्रनाथको झल्को दिने जगन्नाथ रथयात्रा: देवता सवार हुने 'गरुडध्वज' बनाउँदै ओडिशाका 'महाराणा'हरू को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट