PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कलाकार संघमा चुनावी रौनकः सरिता लामिछाने र रवीन्द्र खड्काको प्रतिस्पर्धा, कसको पक्षमा को? 



कलाकार संघमा चुनावी रौनकः सरिता लामिछाने र रवीन्द्र खड्काको प्रतिस्पर्धा, कसको पक्षमा को? 

  • मन्दिरा खत्री-

काठमाडौँ: अहिले नेपाली चलचित्रका कलाकारहरूलाई चुनावले छोएको छ। कलाकार सङ्घको चुनाव भोलि शनिवार हुँदै छ। सङ्घको चुनावमा यस पटक दुई वटा प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। 

कलाकार सरिता लामिछाने र नायक रवीन्द्र खड्काको पक्षमा यति वेला कलाकारहरू बाँडिएका छन्। यसअघि सङ्घको महासचिव भएर काम गरेकी लामिछानेले यसअघि पनि अध्यक्ष रहिसकेका खड्कालाई अध्यक्ष पदमा चुनौती दिँदै छिन्। 

यसअघि गत चैत २३ गते तोकिएको सङ्घको निर्वाचन अध्यक्ष पदमा उम्मेदवारी दिएकी लामिछाने विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि स्थगित भएको थियो।

जिल्ला प्रशासन कार्यालयबाट लामिछानेले क्लिन चिट पाइसकेकी छन्। उनले प्रशासनबाट सफाइ पाइसके पनि आफू विरुद्ध ह्यारेसमेन्टको प्रयास भएको आरोप लगाउँदै आएकी छिन्। मङ्गलवार पत्रकार सम्मेलन गर्दै उनले ज्यान असुरक्षित भएको बताएकी थिइन्। 

चुनावको दिन नजिकिँदै जाँदा दुवै पक्षहरू मत आकर्षित गर्न लागि परेका छन्। 

सङ्घको अध्यक्ष पदमा रवीन्द्र खड्काले बिहीबार कार्यक्रम गर्दै आफ्नो प्यानल तथा प्रतिबद्धताहरू सार्वजनिक गरे। २१ बुँदे प्रतिबद्धता पत्रमा कलाकार सङ्घको भवन निर्माणदेखि कलाकारलाई पेन्सन दिने सम्मको आकर्षक नारासहित उनले आफ्नो प्यानलसमेत घोषणा गरेका थिए। 
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को समर्थन आफूलाई रहेको बताउने खड्काले सरकारले बजेटमा घोषणामा उल्लेख गरेको सामाजिक सुरक्षा कार्यक्रमको घेरामा कलाकारहरूलाई पनि ल्याउने प्रतिबद्धता जाहेर गरेका छन्। 

उनको प्यानलबाट उपाध्यक्ष पदका उम्मेदवार विनोदकुमार भट्टराई र रोजिना उप्रेती, महासचिवमा चेतबहादुर सिंह राजा, सचिवमा पनाह अधिकारी, सह–कोषाध्यक्षमा पवित्रा आचार्य रहेका छन्। 

आफ्ना प्रतिस्पर्धी खड्का प्रतिवद्धापत्रसहित चुनावमा उत्रिँदा लामिछानेले आफू विरुद्ध भएका षड्यन्त्र चिर्दै हिँड्नुपरेको बताएकी छन्। तर पनि उनको पक्षमा कलाकारहरूले सामाजिक सञ्जालमा मत मागिरहेका छन्। 

चुनावी दिन नजिकिएसँगै नेपाली कलाकारहरूले आफ्नो—आफ्नो उमेद्धारी चुन्न थालेका छन् । यसै क्रममा सामाजिक सञ्जाल फेसबुक मार्फत केही कलाकारहरूले सरिता र रविन्द्रको तस्बिर र क्याप्सनहरू सार्वजनिक गर्दै उनीहरूलाई समर्थन गरेका छन्।

नायिका करिस्मा मानन्धरले यस पटक कलाकार सङ्घमा महिला नेतृत्व आउनुपर्ने भन्दै सामाजिक सञ्जालमा आफ्नो विचार राखेकी छन्।  

नायिका दीपिका पर्साइले सामाजिक सञ्जाल फेसबुकमा सरिता लामिछानेको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन् ‘नेपाल चलचित्र कलाकार सङ्घको यही जेष्ठ २५ गते हुने निर्वाचनमा अध्यक्षको उम्मेदवार सम्पूर्ण नेपाली कलाकारहरूको हक हित, न्याय खोज्न सदैव आवाज उठाउने, हाम्रो भरोसाको केन्द्र आदरणीय दिदी सरिता लामिछानेलाई मेरो समर्थन छ। साथै सम्पूर्ण कलाकारहरूलाई पनि मतदान गर्नुहुन हार्दिक अनुरोध गर्दछु।’ 

त्यस्तै अर्की नायिका ऋचा शर्माले पनि यो पटक सङ्घको चुनावमा सरिता लामिछानेलाई नै भोट दिने र अन्य कलाकारलाई पनि सरितालाई नै भोट दिन आग्रह गरेकी छन्। 

कलाकार निर्मल शर्माले भने यो पटकको चुनावमा रवीन्द्र खड्कालाई भोट हाल्ने बताएका छन्। 

उनले फेसबुकमा खड्का र लामिछानेको फोटो हाल्दै खड्कालाई मत दिने बताएका हुन्। त्यस्तै कलाकार राधा श्रेष्ठले लामिछानेको पक्षमा फेसबुकबाटै मत मागेकी छन्।

‘भोट माग्ने जति सबैलाई हुन्छ, होस भनेर चल्तीको दही चिउरे बन्न सक्दिन, परिणाम जे सुकै आए पनि मेरो लागि कौवालाई बेल पाक्यो हर्ष न बिस्मात नै हो,’ उनले अगाडि लेखेका छन्, ‘जित्ने पनि नमात्तिनु होला, हार्ने पनि नआत्तिनु होला, वर्षौँदेखि सङ्घको क्रियाकलाप त सबैको देखिरहेकै हो, म चाहिँ यसपालि मेरो भोट लिजेण्ड कलाकार रवीन्द्र खड्का सरलाई हाल्छु, सरिता लामिछाने ज्युलाई पनि शुभकामना छ, आदरणीय कलाकार ज्युहरू, कसैको बहकाउमा नपरी इच्छा लागेकोलाई भोट हाल्न यहाँहरू स्वतन्त्र हुनुहुन्छ है।’ 

त्यस्तै कलाकार विजय विस्फोट ठकुरीले पनि फेसबुक मार्फत खड्काको पक्षमा मत मागेका छन्। 

त्यस्तै लामिछानेको पक्षमा नायिका रेखा थापा र गौरी मल्ल पनि खुलेर लागेकी छन्। 

सङ्घको अध्यक्ष पदका लागि कलाकार तथा निर्देशक लय संग्रौला, कलाकार रविन्द्र खड्का, अभिनेत्री सरिता लामिछाने तथा नायक विशाल विष्टले उम्मेदवारी घोषणा गरेका थिए। तर चैतमा चुनाव स्थगित भएपछि संग्रौला र विष्टले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। अब भने रविन्द्र खड्का र सरिता लामिछानेबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुँदै छ। 

त्यस्तै उपाध्यक्ष पदमा मनोज केसी, सानुकुमार ताम्राकार, विनोद कुमार भट्टराई र रोजिना उप्रेती प्रतिस्पर्धीमा छन्। महासचिव पदका लागि चेतबहादुर सिंह र सञ्जय खतिवडाले प्रतिस्पर्धा गर्दा सचिवमा कविता गेलाल, राजकुमार शाह र पनाह अधिकारी तीन जनाको उम्मेदवारी परेको छ।

यस्तै कोषाध्यक्ष पदमा कलाकार सुनिल कटुवाल निर्विरोध चयन भएका छन्। सहकोषाध्यक्षमा अभिनेत्री पवित्रा आचार्य र डिबी बम्जन भिड्दै छन्। यसका साथै सदस्य पदका लागि १२ जना कलाकारले उम्मेदवारी दर्ता गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell